सामसङ इनोभेशन क्याम्पसमा ६० विद्यार्थी
सामसङ इनोभेशन क्याम्पस (एसआईसी)को तेस्रो ब्याचमा ६० विद्यार्थी सहभागी छन्।
सामसङको विश्वव्यापी सीएसआर पहल अन्तर्गत नेपालमा सामसङ नेपालले त्रिभुवन विश्वविद्यालयसँग मिलेर इनोभेशन क्याम्पस चलाइरहेको छ। त्रिविको इन्स्टिच्यूट अफ इन्जिनीयरिङ अन्तर्गत पुल्चोक क्याम्पसमा उनीहरूलाई प्रशिक्षण दिने गरिएको छ।
यसै अन्तर्गत आयोजित समारोहबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्स पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ। त्यस्तै, कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गरेका ६० विद्यार्थीलाई स्वागत गरिएको छ।
सामसङले सन् २०२२ देखि यो अभ्यास गरिरहेको छ। यस अन्तर्गत पाँच महीनाको अवधिमा विद्यार्थीलाई एआई पाठ्यक्रम, उन्नत एआई अवधारणा र व्यावहारिक अनुप्रयोगमा केन्द्रित रहेर प्रशिक्षण दिने गरिएको छ।
कार्यक्रममा बोल्दै सामसङ नेपालका प्रमुख इन सु किमले नवप्रवर्तन र शिक्षा मार्फत युवालाई सशक्तीकरण गर्न प्रेरित गर्ने गरिएको बताए। “यी विद्यार्थीको समर्पण र उनीहरूले प्राप्त गरेका उपलब्धि देखेर हामीलाई गर्व लाग्छ। उनीहरूले भविष्यमा सिर्जना गर्ने प्रभाव देखेर उत्साहित छौं,” उनले भने।
त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्यूट अफ इन्जिनीयरिङका डीन प्रा.डा. सुशील बी बज्राचार्यले यो कार्यक्रमले विद्यार्थीमा परिवर्तन ल्याएको बताए। “नेपाली युवामा नवप्रवर्तनलाई बढावा दिने सामसङको प्रयासको सराहना गर्दछु। यसमा निरन्तर सहयोगका लागि हामी तत्पर छौं,” बज्राचार्यले भने।
नयाँ ब्याचका लागि डिजाइन गरिएको कोडिङ र प्रोग्रामिङ पाठ्यक्रमले विद्यार्थीलाई एल्गोरिदम, डेटा संरचना र वास्तविक संसारको प्रोग्रामिङमा आधारभूत र उन्नत ज्ञान प्रदान गर्ने जनाइएको छ।