अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको सय वर्षको उमेरमा निधन भएको छ।
उनी अमेरिकाको ३९औं राष्ट्रपति बनेका थिए। कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीका रूपमा काम गरेका थिए।
अमेरिकी राष्ट्रपतिमध्ये सबैभन्दा लामो समय बाँचेका कार्टरको गए राति जर्जियाको प्लेन्समा निधन भएको हो। प्लेन्सस्थित आफ्नो घर होस्पिस केयरमा प्रवेश गरेको लगभग २२ महीनापछि उनले अन्तिम सास लिए। उनी र उनकी पत्नी रोजालिनले जीवनको अधिकांश समय यही घरमा बिताएका थिए। रोजालिनको नोभेम्बर २०२३ मा ९६ वर्षको उमेरमा निधन भएको थियो।
“हाम्रा संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो,” कार्टर सेन्टरले सामाजिक सञ्जाल मार्फत भनेको छ।
राष्ट्रपति जो बाइडेनले कार्टरको निधनमा शोक व्यक्त गर्दै विश्वले एक ‘असाधारण नेता, राजनीतिकर्मी र मानवतावादी’ गुमाएको र आफूले एक प्रिय मित्र गुमाएको बताएका छन्। कार्टर रोग उन्मूलन, शान्ति स्थापना, नागरिक र मानव अधिकारलाई अगाडि बढाउन, स्वतन्त्र र निष्पक्ष चुनावलाई बढावा दिन र घरबारविहीनलाई घरको व्यवस्था गर्ने लगायत काम गरेर अरूका लागि उदाहरण बनेको वाइडेनले बताए।
“यस देशका सबै युवाका लागि उद्देश्य र अर्थको जीवन बिताउनुको अर्थ के हो भनेर खोज्ने जोकोहीले राम्रो जीवन, सिद्धान्त, विश्वास र नम्रताका मानिस जिमी कार्टरलाई अध्ययन गर्नुहोस्,” बाइडेनले भनेका छन्। वाशिङ्टनमा कार्टरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।
व्यापारी, नौसेना अधिकारी, राजनीतिकर्मी, वार्ताकार, लेखक, काष्ठकर्मी, विश्वका नागरिक कार्टरले एउटा यस्तो बाटो बनाए, जसले अझै राजनीतिक धारणालाई चुनौती दिन्छ। कार्टरले आफ्नो महत्त्वाकांक्षालाई गहिरो बुद्धि, गहिरो धार्मिक विश्वास र विलक्षण कार्य नैतिकताका साथ प्रयोग गरेका थिए।
कार्टर सेन्टर मार्फत पूर्व राष्ट्रपति कार्टरले नेपाललाई पनि सहयोग गर्दै आएका थिए। कार्टरले नेपालको संविधानसभा निर्वाचनको पर्यवेक्षण समेत गरेका थिए। उनी पटक पटक नेपाल आएका थिए।