बराह सहकारीका सञ्चालक नभेटिएपछि आफन्त र कर्मचारी पक्राउ
धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकलाई पक्राउ गर्न नसकेपछि प्रहरीले उनीहरूका आफन्त र कर्मचारीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मालाई नभेटेपछि उनकी पत्नी संगीता विकलाई पक्राउ गरेको हो। त्यस्तै, ऋण उपसमिति संयोजक गंगा कालीकोटेलाई नभेटेपछि उनकी पत्नी सुधा कालीकोटेलाई पक्राउ गरेको छ।
यसैगरी, सञ्चालक समितिका सदस्य विष्णु ताम्राकार, ऋण उपसमिति सदस्य अस्मिता भण्डारी, लेखापाल अपना श्रेष्ठ, लेखा सुपरिवेक्षण समिति संयोजक सुदिन ल्वागुन, समिति सदस्य शेरबहादुर महत लगायत नौ जनालाई पक्राउ गरिएको छ।
पक्राउ परेकाहरूलाई आइतबार इनरुवास्थित जिल्ला प्रहरी कार्यालय लगिएको छ भने धरान ८ मा रहेको सहकारी संस्थाका कम्प्युटर र खातापाता प्रहरीले अनुसन्धानका लागि लगेको छ। प्रहरीले सहकारी संस्थाको कार्यालयमा ताला लगाएर धरान उपमहानगरपालिकालाई चाबी बुझाएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बराह बचत तथा सहकारी संस्था लिमिटेडका बचतकर्ता र शेयरधनीलाई आफैं उपस्थित भई उजुरी दिन आग्रह गरेको छ।
बराहका सञ्चालक मानबहादुर विश्वकर्मा लगायत विरुद्ध परेको जाहेरीका आधारमा सहकारी ठगी सम्बन्धी कसूरमा अनुसन्धान जारी छ। त्यसमा रकम फिर्ता नपाएकाहरूलाई थप उजुरीका लागि सूचना जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिम्सिनाले जनाएका छन्।
बराह सहकारीपीडित शंकर थापा क्षेत्री लगायत २६ जनाले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धानका लागि कर्मचारी र आफन्तलाई पक्राउ गरेको जनाएको छ।
बराह ग्रूप अफ कम्पनीका अध्यक्ष शिव लामिछाने, सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा, ऋण समिति संयोजक गंगा कालीकोटे, सञ्चालक सदस्य अमरबहादुर विक लगायत फरार छन्। पीडितहरूका अनुसार बराह ग्रूप अफ कम्पनी र बराह सहकारीमा सर्वसाधारणको १४ अर्ब रुपैयाँभन्दा बढी रकम डुबेको छ।