नेपालको वनले कति बाघ थेग्न सक्छ?
डेढ दशकअघि १२१ वटा बाघ रहेको नेपालमा अहिले ३५५ पुगेका छन्। नेपालको वनजंगलमा कति बाघ पाल्न सकिन्छ?
पुस ११ मा वन तथा वातावरण मन्त्रालयमा आयोजित जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन (कोप)मा नेपालको सहभागिताको समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाघबारे बोलेका थिए। बाघबारे प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई लिएर हाल चर्चा-परिचर्चा भइरहेको छ।
प्रधानमन्त्री ओलीले भनेका थिए, “हामीसँग बाघ थिए। सन् २००९ मा एक सय १० जति थिए। १० वर्षमा दोब्बर बनाउँदा पनि २०१९ तिर हुन्थ्यो। तर सन् २०१८ मै अढाइ सयभन्दा बढी बाघ भइसके। अहिले साढे तीन सयभन्दा बढी बाघ छन्।”
उनी यतिमै रोकिएनन्। “जंगलमा मात्रै होइन, गाउँमा हिंड्दा पनि बाघ छ कि भनेर हेर्नुपर्छ। यत्रो सानो देशमा साढे तीन सयभन्दा बढी बाघ!” ओलीले थपे, “हामीले पनि चाहिने खालका काम गर्नुपर्छ, बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ। डेढ सय बाघ भए पुग्छ।”
१५० भन्दा बढी बाघ मित्रराष्ट्रहरूलाई उपहार दिनुपर्ने उनको भनाइ थियो। नेपाललाई कति बाघ आवश्यक छ भन्ने यकीन गर्नुपर्ने उनले बताए। प्रधानमन्त्री ओलीले भने, “कति ‘लिमिट’ हो? हाम्रो वनको क्षमता (कति हो)? मान्छे खुवाएर बाघ पाल्न सकिंदैन। त्यो गल्ती गर्नु हुँदैन।”
प्रधानमन्त्रीको यही भनाइलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा र आलोचना भइरहेको छ। यसमा संरक्षणकर्मीले पनि चासो देखाएका छन्। बाघ संरक्षण र संख्याका विषयमा पनि छलफल भइरहेको छ।
नेपाललाई कति बाघ आवश्यक छ? नेपालको वनजंगलले कति बाघ पाल्न सक्छ? के बाघ उपहार दिन सकिन्छ? यसबारे बुझ्नुअघि बाघको अवस्थाबारे चर्चा गरौं।
उष्ण पारिस्थितिक प्रणालीको उच्च तहमा पाइने मांसाहारी प्रजाति भएकाले बाघलाई छाता प्रजाति पनि भनिन्छ। बाघलाई मात्रै बचाउन सके अरू धेरै प्रजाति स्वतः बच्ने संरक्षणकर्मी बताउँछन्।
विश्व संरक्षण संघ (आईयूसीएन)ले बाघलाई रातो किताबको दुर्लभ सूचीमा राखेको छ। त्यस्तै, संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि (साइटिस)ले अनुसूची १ मा राखेर यसको अन्तर्राष्ट्रिय व्यापारमा पूर्ण प्रतिबन्ध लगाएको छ।
बाघ संसारका सबै ठाउँमा पनि पाइँदैन। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)का अनुसार संसारभर पाँच हजार ५७४ बाघ छन्। विशेष गरेर भारत, नेपाल, भूटान, रूस र चीनमा बाघ पाइन्छन्। दुई वर्षअघिको गणना अनुसार नेपालमा ३५५ बाघ छन्। दक्षिण-पूर्वी एशियामा त बाघको संख्या घटिरहेकाले संरक्षणमा जोड दिनुपर्ने डब्लूडब्लूएफको भनाइ छ।
संरक्षित क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण गरेको विषयलाई लिएर प्रधानमन्त्री ओलीले संख्या घटाउनुपर्ने तर्क गरेका थिए। गाउँघरमा हिंड्दा पनि बाघ आउँछ कि भनेर हेर्नुपर्ने अवस्था आएको ओलीको भनाइ थियो। के नेपालका जंगलले बाघ पाल्न सकिराखेका छैनन्?
कुनै पनि प्राणी खान र बस्न पाइने ठाउँमा रहन्छ। खान नपाउँदा र बसोबासमा समस्या देखिंदा अन्यत्र सर्छ। बाघको सन्दर्भमा त्यस्तै भएको संरक्षणकर्मी बताउँछन्। आहारा र वासस्थान सुधारका लागि प्रभावकारी काम हुँदा बाघको संख्या बढेको उनीहरूको भनाइ छ।
सरकारी, गैरसरकारी तथा समुदायिक संघसंस्थाको प्रयासमा गरिएका वासस्थान सुधार, घाँसे मैदान र पानीका स्रोतको व्यवस्थापन, निकुञ्ज क्षेत्रमा मानवीय चाप नियन्त्रण र आहारा प्रजातिको घनत्व वृद्धि हुँदा बाघको संख्या बढेको हो। “कुनै कृत्रिम तरीका अपनाएर बाघको संख्या बढाइएको होइन,” संरक्षणकर्मी बाबुराम लामिछाने भन्छन्।
बाघ आफ्नो क्षेत्र बनाएर बस्छ। बाघ त्यहाँ बस्ने कि यताउता जाने भन्ने त्यो क्षेत्रको आकार र त्यहाँ रहेका आहारा प्रजातिको घनत्वमा भर पर्छ। पछिल्लो समय बाघको वासस्थान टुक्रिंदै जाँदा तथा आहारा प्रजाति र बाघको घनत्व पनि बढ्दै जाँदा एउटै क्षेत्रमा एकभन्दा बढी बाघ रहेको पाइएको छ। चितवन राष्ट्रिय निकुञ्जमा लामो समय काम गरेका लामिछाने अप्राकृतिक कारणबाट नमारिने हो भने बाघ जस्ता मांसाहारी प्रजातिको संख्या मुख्यतः आहारा प्रजातिको घनत्वमा निर्भर हुने बताउँछन्।
तर बाघको वासस्थान रहेको वन क्षेत्र आसपासका बासिन्दा आक्रमणमा परेका घटना पनि आएका छन्। घाँस, दाउरा, न्युरो लगायत वनपैदावर संकलनका लागि बाघको वासस्थान भएको क्षेत्रमा जाँदा जम्काभेट हुन सक्ने र आक्रमणमा पर्न सक्ने खतरा रहेको संरक्षणकर्मीको भनाइ छ। “मान्छे बाघको प्राकृतिक आहारा होइन,” संरक्षणमा सक्रिय प्राध्यापक करण शाह भन्छन्, “बाघ त लजालु प्रकृतिको जनावर पो हो।”
प्रायः घटना घाँस काट्ने, न्युरो टिप्ने जस्ता निहुरेर गरिने काम गर्दा भएका देखिन्छन्। “सचेतना कार्यक्रम प्रभावकारी हुँदै जाँदा र संरक्षण अभियानमा स्थानीय समुदायको सहभागिता बढ्दै जाँदा पछिल्लो समय त्यस्ता घटना न्यून हुँदै गएका छन्,” लामिछाने भन्छन्।
जीविकोपार्जनका लागि वनमा आश्रित सीमान्तीकृत समुदाय नै बाघबाट बढी प्रभावित हुँदै आएका छन्। त्यसैले वनमा आश्रित परिवारका लागि वैकल्पिक आम्दानीको स्रोतको व्यवस्था गर्नुपर्छ। अहिले बाघको संख्या धेरै भएको भन्दा पनि उसको वासस्थानमा मान्छे पुग्दा आक्रमण भएको संरक्षणकर्मीको भनाइ छ।
अहिले बाघको संख्या धेरै भएको हो त भन्ने प्रश्नमा संरक्षणकर्मी लामिछाने चितवन राष्ट्रिय निकुञ्जमा गैंडाबारे गरिएको अध्ययनलाई उदाहरणका रूपमा पेश गर्छन्। ४० वर्षअघि संरक्षणकर्मी हेमन्त मिश्र लगायतको टोलीको अध्ययनमा चितवनमा ३०० गैंडा रहन सक्ने आकलन गरिएको थियो। वासस्थान राम्रो हुँदै जाँदा अहिले चितवनमा ७०० भन्दा बढी गैंडा छन्।
त्यसैले बाघको पनि उच्चतम संख्या कति हो भन्ने यकीन नहुने संरक्षणकर्मी लामिछानेको भनाइ छ। त्यो बाघको वासस्थान र आहारामा निर्भर हुन्छ। “कुनै वासस्थानले थेग्न सक्ने प्राणीको संख्या ‘क्यारिङ क्यापासिटी’ को अनुमान गर्ने वैज्ञानिक आधार आहारा प्रजातिको घनत्व तथा आहाराको तौल अर्थात् ‘बायोमास’ हो,” लामिछाने भन्छन्।
त्यस्तै, सन् २०१९ मा चितवन र पर्सा राष्ट्रिय निकुञ्जभित्र बाघको आहारा प्रजातिको अध्ययन गरिएको थियो। त्यति वेला आहारा प्रजातिको आधारमा दुवै निकुञ्जमा १७५ बाघ रहन सक्ने देखिएको थियो। आहारा प्रजातिको घनत्व बढेसँगै बाघको संख्या पनि बढ्यो। उनी भन्छन्, “आहारा प्रजातिको वृद्धिसँगै चितवन र पर्साले थेग्न सक्ने बाघको संख्या समेत बढ्ने देखिएको थियो।”
यो संख्या निकुञ्जको मध्यवर्ती क्षेत्र र बाहिरका वन क्षेत्र बाहेकको हो। यी क्षेत्र समेत समेट्दा बाघको ‘क्यारिङ क्यापासिटी’ अझ धेरै हुने देखिन्छ। दुई वर्षअघि गरिएको गणनामा चितवनमा १२८ र पर्सामा ४१ बाघ भेटिएका थिए। त्यस्तै, बर्दियामा १२५, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन्। पछिल्लो समय भएका अध्ययनबाट बाघको संख्या अझै बढ्ने देखिएको छ।
फेरि बाघ बढी भयो, बाघले दुःख दियो भनेर संरक्षित क्षेत्रका बासिन्दाले गुनासो गरेका पनि छैनन्। कतिपय ठाउँमा त बाघका कारण पर्यटकीय गन्तव्य बन्दा स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहयोग पुगेको छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा एक दशकदेखि ‘नेचर गाइड’ का रूपमा कार्यरत सुशीला महतरा बाघको वासस्थान नजीक पुग्दा आक्रमण गर्ने भए पनि पछिल्लो समय भने त्यो कम भएको बताउँछिन्। “दुर्घटना त जहाँ पनि जहिले पनि हुन सक्छ, तर बाघ मान्छे खोज्दै आएर आक्रमण गर्दैन,” दैनिक निकुञ्ज चहार्दै आएकी महतरा भन्छिन्, “अहिले त बाघले दुःख दिएको अवस्था पनि होइन।”
त्यस्तै, संरक्षणकर्मीले पनि बाघ व्यवस्थापन गर्न गाह्रो भयो भनेर गुनासो गरेका छैनन्। “नेपालको वन्यजन्तुबारे धेरैमा पुरानै ज्ञान र पुरानै बुझाइ रहेको देखिन्छ। प्रधानमन्त्रीमा पनि पुरानै बुझाइ रहेको देखियो,” प्राध्यापक शाह भन्छन्, “वन्यजन्तुका विषयमा उहाँ ‘अपडेट’ हुँनुहँदो रहेनछ।”
फेरि बाघ उपहार दिन पनि सजिलो नभएको उनको भनाइ छ। साइटिस कानून अनुसार वन्यजन्तु विदेशी मुलुकलाई दिन नसकिने उनी जानकारी दिन्छन्। “विगतमा चीनलाई चार वटा गैंडा दिंदा एकै पटक दिन नमिलेर दुई आर्थिक वर्षमा दिइएको थियो। त्यसका लागि अन्तर्राष्ट्रिय निकायमा कागजात मिलाउन पनि निकै कसरत गर्नुपरेको थियो,” शाह भन्छन्, “विदेशीलाई दिन पनि भने जस्तो सजिलो हुँदैन। लिनले पनि त लिन्छु भन्नुपर्यो नि!”
वन्यजन्तु दिंदा पनि प्राकृतिक वासस्थान र संरक्षणको ‘ग्यारेन्टी’ हेर्ने गरिन्छ। बाघ विदेशी मुलुकलाई दिने हो भने बाघ हुर्कन सक्ने नेपालको जस्तो हावापानी भएको हुनुपर्छ। लिने राष्ट्रले पनि संरक्षणको ‘ग्यारेन्टी’ गर्नुपर्ने प्रावधान छ।
फेरि वातावरणमा सबै प्राणीको उत्तिकै महत्त्व रहने संरक्षणकर्मी बताउँछन्। दुई दशकदेखि पन्छी संरक्षणमा सक्रिय संरक्षणकर्मी राजु आचार्य कुनै पनि वन्यजन्तुको संख्या घटाउने भन्ने अभिव्यक्ति उचित नभएको बताउँछन्। गत वर्ष बेलायतको विख्यात ह्वीट्ली पुरस्कार प्राप्त आचार्य भन्छन्, “समग्र पर्यावरणमा सबै प्राणीको उत्तिकै महत्त्व र भूमिका हुन्छ। कुनै आहा र कुनै जाबो भन्ने हुँदैन।”
बाघको संख्या घट्दै गएपछि संरक्षणमा जोड दिइएको थियो। पाटे बाघ पाइने विश्वका १३ मुलुकका सरकार तथा राष्ट्रप्रमुखको सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको सम्मेलनले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो। त्यति वेला नेपालमा १२१ बाघ थिए। त्यसको आठ वर्षमै सन् २०२० मा नेपालले बाघको संख्या २३५ पुर्याएको थियो।
त्यति वेला पनि प्रधानमन्त्री रहेका ओलीले बाघको संख्या बढाउन सकेकामा खुशी व्यक्त गरेका थिए। चार वर्षअघि २०७७ साउन १४ मा अन्तर्राष्ट्रिय बाघ दिवसका दिन भिडिओ सन्देश जारी गर्दै ओलीले भनेका थिए, “बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र नेपालीको शान झल्कनेमा म पूर्ण विश्वस्त छु। मानव जातिको अस्तित्वका लागि पनि बाघ जोगाउनुको अर्को विकल्प हामीसँग छैन। बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै हो।”
त्यति वेला प्रधानमन्त्री ओलीले बाघलाई किन संरक्षण गर्नुपर्छ भनेर पनि चर्चा गरेका थिए। उनले भनेका थिए, “बाघ प्रकृतिको निःशुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरूमध्ये सबैभन्दा सुन्दर प्रजाति पनि हो। यो प्रजाति उष्ण हावापानी, सफा र स्वस्थ ‘इकोसिस्टम’ मा मात्र पाइन्छ।”