कोरिया विमान दुर्घटनामा १२२ यात्रुको मृत्यु
दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२२ पुगेको छ भने दुई जनाको मात्रै जीवित उद्धार गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानमा सवार १२२ जनाको शव भेटिएको छ। जीवितै उद्धार गरिएका दुई जना बाहेक अन्यको खोजी जारी छ।
सीएनएनका अनुसार मृत्यु भएका यात्रुमध्ये ५७ महिला र ५४ पुरुष छन्। त्यस्तै, ११ जनाको पहिचान हुन सकेको छैन।
जीवितै उद्धार गरिएका दुई जनाको भने उपचार भइरहेको छ। उनीहरूको अवस्था स्थिर रहेको कोरियाली समाचार संस्था योनहापले जनाएको छ। जीवितै उद्धार गरिएका दुई जना चालक दलका सदस्य रहेको सीएनएनले उल्लेख गरेको छ।
थाइल्यान्डको ब्यांककबाट आएको जेजु एअरको बोइङ-७३७ विमान आज बिहान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो। विमानमा ६ जना चालक दलका सदस्य सहित १८१ जना सवार थिए।
धावनमार्गबाट चिप्लिएको विमान पर्खालमा ठोक्किएको थियो। पर्खालमा ठोक्किने बित्तिकै आगलागी भएको भिडिओमा देखिन्छ।
यो दक्षिण कोरियामा भएका ठूला दुर्घटनामध्ये एक हो। यसअघि एअर चाइनाको विमान दुर्घटना हुँदा १२९ जनाको ज्यान गएको थियो।पछिल्लो पटक सन् २०१३ मा एशियना एअरलाइन्सको विमान दुर्घटनामा परेको थियो।