दक्षिण कोरियामा विमान दुर्घटना, ८५ यात्रुको मृत्यु
दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ८५ यात्रुको मृत्यु भएको छ।
चालक दलका ६ जना सदस्य र १७५ यात्रु बोकेको जेजु एअरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो। थाइल्यान्डको राजधानी ब्यांककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो।
धावनमार्गमा चिप्लिएको विमान पर्खालमा ठोक्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको सीएनएनले उल्लेख गरेको छ। मृत्यु हुनेमा ४६ महिला र ३९ पुरुष छन्।
उद्धारमा खटिएको टोलीका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ। दुवै चालक दलका सदस्य रहेको जनाइएको छ। जसमध्ये एक महिला र एक पुरुष छन्।
मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ। घाइतेको अवस्था गम्भीर छ। दुर्घटनाको अनुसन्धान थालिएको दक्षिण कोरियाको यातायात मन्त्रालयले जनाएको छ।
विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको भिडिओ सामाजिक सञ्जालमा आएको छ। पर्खालमा ठोक्किने बित्तिकै आगलागी भएको देखिन्छ।