सर्वोच्चले नपाएको स्थायी न्यायाधीश
राजनीतिक खिचातानीले सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्ने बाटो रोके पनि प्रकाश वस्तीले आफूलाई ‘न्यायिक मनका इमानदार न्यायमूर्ति’ बनेर देखाइदिए।
नेपालका पहिलो प्रधानन्यायाधीश को हुन्? सर्वोच्च अदालतको अभिलेख भन्छ, हरिप्रसाद प्रधान। हो, २००८ साउन ७ गतेदेखि २०१३ जेठ ७ गतेसम्म सर्वोच्चको नेतृत्व गरेका प्रधान नै पहिलो प्रधानन्यायाधीश भएकामा धेरैको मत मिल्छ पनि।
“तर यो म मान्दिनँ। किनभने उनीभन्दा पहिला दुई जना प्रधानन्यायाधीश बनिसकेका थिए। १९९७ सालमा बहादुरशमशेर र २००२ सालमा वसन्तशमशेर प्रधानन्याधीश बनेका थिए।”
साढे दुई वर्षअघि पंक्तिकारसँगको संवादमा व्यक्त यो धारणाले सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीको व्यक्तित्वको एउटा पक्ष उजागर गर्छ।
हालको सर्वोच्च अदालतको ‘लिगेसी’ १९९७ साउन १ गते जुद्धशमशेरको पहलमा स्थापना भएको प्रधान न्यायालयसँगै जोडिने भएकाले हरिप्रसाद प्रधानभन्दा पहिलाका बहादुरशमशेर र वसन्तशमशेरलाई प्रधानन्यायाधीश मान्नुपर्ने वस्तीको जोड थियो। २००७ सालको परिवर्तनपछि राजनीतिक पूर्वाग्रहका कारण राणा परिवारका प्रधानन्यायाधीशहरूलाई मान्यता नदिइएको वस्तीको बुझाइ थियो।
माथिको दृष्टान्तले उनी राजनीतिलाई राजनीतिक र कानूनलाई कानूनी चश्माले हेर्ने गर्थे भन्ने देखाउँछ। प्राज्ञिक कर्मलाई राजनीतिमा मिसमास गर्नु हुँदैन भन्नेमा उनी स्पष्ट थिए। प्रथम प्रधानन्यायाधीशको सन्दर्भमा मात्रै होइन, न्याय क्षेत्रका दर्जनौं अन्य विषयमा पनि उनको फरक मत थियो। जसलाई वस्तीले आफ्नो हाम्रो कानूनी इतिहासको नालीबेलीः किरातकालदेखि २०७८ सम्म पुस्तकमा ‘हाम्रो कानूनी इतिहासका पच्चीस मिथकहरू’ भनेर राखेका छन्।
पुस १२ गते राति हृदयाघातका कारण निधन भएका वस्तीलाई उनका सहकर्मीहरू ‘न्यायिक मनका इमानदार न्यायमूर्ति’ का रूपमा स्मरण गर्छन्। २०१० असार ८ गते जन्मिएका उनले २०३३ सालमा कानून व्यवसाय शुरू गरेका थिए। २०३७ सालमा मोतीकाजी स्थापित सर्वोच्च बार एशोसिएशनको अध्यक्ष हुँदा वस्ती सचिव थिए।
त्यसपछि वासुदेवप्रसाद ढुंगाना नेतृत्वको सर्वोच्च बारमा पनि सचिव रहेका उनी राधेश्याम अधिकारी नेपाल बार एशोसिएशनको अध्यक्ष हुँदा महासचिव बने। त्यही ताका हो रामशाह पथमा बार एशोसिएशनको भवन बनेको। बार एशोसिएशनको भवन निर्माणमा वस्तीले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
२०४१ सालमा स्थापना भएको कानून व्यवसायी क्लबमा उनी २०६५ माघसम्म सक्रिय रहे। त्यही क्रममा वस्तीले नेपाल कानून पत्रिका प्रकाशनमा अग्रणी भूमिका निर्वाह गरे। २०५३ फागुनमा प्रकाशित पहिलो अंकदेखि २०६५ पुसमा निस्किएको ७२औं अंकसम्म वस्ती कहिले संयोजक, कहिले सम्पादक र कहिले प्रधानसम्पादकको भूमिकामा रहे।
प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा २१ वर्ष अध्यापन गरेका वस्तीलाई उनका विद्यार्थीहरू प्रस्ट बुझाएर पढाउने योग्य शिक्षकका रूपमा स्मरण गर्न रुचाउँछन्। सर्वोच्चका न्यायाधीश हरि फुयालका शब्दमा उनी गुरु, उदाहरणीय न्यायाधीश, कानूनी इतिहासकार तथा असल मानिस थिए।
जसले न्याय क्षेत्रका बिचौलिया चिनाए
बहालवाला प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सर्वोच्च बार एशोसिएशनको अध्यक्ष भएका वेलामा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको संयोजकत्वमा ‘न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि अध्ययन समिति’ गठन भयो। त्यति वेला सदस्यहरू आफैंले छान्न पाउने शर्तमा संयोजक बनेका अर्यालले समितिमा प्रकाश वस्ती र भरतराज उप्रेती सहितको टीम बनाए।
बार एशोसिएशनको एक पैसा खर्च नगराई अध्ययन समितिले २०६४ चैत अध्ययन प्रतिवेदन बुझायो। समितिले प्रतिवेदनमा २९ प्रकारका बिचौलियाको पहिचान गर्यो। “हामी तीन जना भएर तयार पारेको प्रतिवेदन अहिले पनि चर्चामा छ,” वरिष्ठ अधिवक्ता अर्याल भन्छन्, “संयोजक भएको हुनाले नाम मेरो आउँछ, तर प्रतिवेदनमा वस्तीजीले अत्यन्त प्रशंसनीय काम गर्नुभएको छ।”
२०६५ सालमा वरिष्ठ अधिवक्ता बनेका वस्ती २०६६ सालमा गठित विकृतिविहीन न्यायपालिका विकास अध्ययन कार्यदलमा पनि सदस्य थिए। अर्याल भन्छन्, “न्यायपालिकामा विकृति बढ्यो भन्ने कुराले उहाँ साह्रै चिन्तित हुनुहन्थ्यो।”
देवानी मुद्दाका विज्ञ वस्तीले भ्रष्टाचार नियन्त्रणमा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। सूर्यनाथ उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुँदा वस्ती कानूनी सल्लाहकार थिए।
राज्यले नचिनेको प्रतिभा
२०६५ चैतमा सर्वोच्च अदालतक न्यायाधीश बनेका वस्तीको कार्यकाल २०७० चैतमा सकियो। उनी ‘दूधको दूध, पानीको पानी’ छुट्याउने न्यायाधीश थिए। उनी औंलामा गन्न सकिने राम्रा न्यायाधीशका रूपमा चिनिए।
तर दलहरूको दबाबमा स्थायी न्यायाधीश बन्ने बाटो रोकिएपछि सर्वोच्चमा उनको कार्यकाल ६ वर्षभन्दा अगाडि जान सकेन। वस्तीको बहिर्गमनलाई कतिपयले न्यायालयमा वृषवृक्षको बीजारोपण भएको दिन भनेर समेत टिप्पणी गर्दै आएका छन्। “सर्वोच्चको इमानदार र सक्षम न्यायाधीश हुनुभयो। नेताहरूले आफ्ना मान्छेलाई न्यायाधीश बनाउन उहाँलाई हटाए,” वरिष्ठ अधिवक्ता अर्याल भन्छन्, “वस्तीजी जस्ता न्यायिक मनका न्यायमूर्तिलाई सर्वोच्चको स्थायी न्यायाधीश नबनाएकामा राज्यलाई पश्चात्ताप हुनुपर्छ।”
वस्ती बार एशोसिएशनमा महासचिव हुँदा अध्यक्ष रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी उनलाई इमानदारी र मिहिनेतको पर्याय भन्न रुचाउँछन्। राम्रो काम गर्दागर्दै पनि वस्तीलाई स्थायी न्यायाधीश बन्नबाट वञ्चित गरिएको अधिकारी बताउँछन्। उनी भन्छन्, “वस्तीजी स्थायी हुन नसक्नु न्याय क्षेत्र मात्र होइन, देशकै लागि दुर्भाग्य थियो। उहाँलाई त्यसले चोट पुर्याएको थियो।”
२०७१ सालदेखि २०७७ सालसम्म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य रहेका उनी जीवन पर्यन्त सक्रिय रहे। कानूनी इतिहास लेखनमा उनको विशेष रुचि थियो। हृदयाघात हुनुअघिसम्म पनि उनी कानून सम्बन्धी पुस्तककै काममा सक्रिय थिए।
आफूले सम्पादन गरेको पुस्तक कानूनी नेपाली भाषा र साहित्य पुस्तकमा उनले ‘सक्रियता नै जीवन हो र निष्क्रियता नै मृत्यु’ लाई जीवन दर्शन मान्ने गरेको उल्लेख गरेका छन्। त्यही पुस्तकमा लेखिएको वस्तीको शब्दबाटै बिट मारौं- ‘आयो, खायो, लियो, गयो’ सार्थक जीवन होइन, ‘आयो, खायो, दियो, गयो’ सार्थक जीवन हो।