ओरिएन्टेशन क्याम्पमा छात्राको मृत्यु, समयमै उपचार नपाएको परिवारको गुनासो
ओरिएन्टेशन क्याम्पमा एकाएक बेहोश भएकी छात्राको मृत्यु भएपछि परिवारजनले भने समयमै उपचार नपाउँदा ज्यान गएको गुनासो गरेका छन्।
काठमाडौंको बौद्धस्थित जेभियर इन्टरन्याशनल कलेजले स्नातक तह पहिलो वर्षका विद्यार्थीलाई पुस ८ मा ओरिएन्टेशनका लागि ककनी लगेको थियो। ककनीस्थित नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालीम केन्द्र परिसरमा ‘क्याम्पिङ’ थियो।
क्याम्पिङमा सहभागी नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-६, महांकाल पानीट्यांकी बस्ने १९ वर्षीया गुनगुन तामाङ पनि थिइन्। क्याम्पिङमा रमाइलो गरिरहेकै वेला पुस ८ गते राति ८ः३० बजे गुनगुन बेहोश भइन्। “सामान्य थिइन्, नाचगान चलिरहेकै थियो। बिस्तारै लल्याकलुलुक हुँदै ढलिन्,” क्याम्पिङमा सहभागी एक विद्यार्थीले भनिन्।
उनका अनुसार गुनगुनलाई केही बेरमा कोठाभित्र लगियो। अचेत अवस्थामा रहेकी उनलाई आधा घन्टा जति कोठामै राखिएको थियो। “शिक्षकले पनि सामान्य जस्तो ठाने। होशमा नआएपछि अस्पताल लग्न खोजियो,” उनी भन्छिन्।
गुनगुनलाई अस्पताल लैजान गाडी थिएन। विद्यार्थीलाई ककनी पुर्याएका गाडी फर्किइसकेका थिए। मोटरसाइकलमा अस्पताल लग्ने प्रयास गरिए पनि उनी बेहोश भएकीले नसकिएको उनी बताउँछिन्।
त्यसपछि नजीकै रहेको सशस्त्र प्रहरी बेस क्याम्पमा फोन गरिएको थियो। सशस्त्र प्रहरीको गाडीमा राखेर सशस्त्र प्रहरीको बेस क्याम्पमा प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ।
प्रहरी रिपोर्ट।
त्यसपछि सशस्त्र प्रहरीकै गाडीमा सामाखुशीस्थित ग्रीनसिटी अस्पताल पुर्याइएको थियो। उनलाई राति १०ः४० बजे अस्पताल पुर्याइएको अस्पतालको रेकर्ड छ। त्यसको ४० मिनेटपछि डा. अनिश अधिकारीले राति ११ः२० बजे गुनगुनलाई मृत घोषणा गरेका थिए।
अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको ग्रीनसिटीका व्यवस्थापक मनीष दवाडी बताउँछन्। “अस्पताल ल्याउँदा नै ‘ब्रोट डेथ’ भइसकेको थियो। त्यही भएर यो केस हामीले हेरेनौं,” दवाडी भन्छन्, “पोस्टमार्टम रिपोर्टमा पनि ‘नेचुरल डेथ’ नै छ।”
चिकित्सकले पनि ‘ब्रोट डेथ’ उल्लेख गरेका छन्। चिकित्सकीय भाषामा ‘ब्रोट इन डेथ (बीआईडी)’ भन्नाले उपचार गर्नुअघि नै मृत्यु भइसकेको बुझिन्छ।
गुनगुनको परिवारले यसमै गुनासो गरेको हो। ककनीबाट एक घन्टामै अस्पताल पुर्याउन सकिने भए पनि कलेजले वास्ता नगरेको परिवारजनको भनाइ छ।
समयमै उनको उपचारमा ध्यान नदिइएको फुपू विना थिङ गुनासो गर्छिन्। “यति ठूलो कलेजले आपत्कालीन अवस्थाका लागि केही पनि नसोचेको देखियो। दुई घन्टासम्म पनि कलेजले कुनै ‘एक्सन’ नलिएको हुनाले गुनगुनको ज्यान गयो,” थिङ भन्छिन्।
विद्यार्थीलाई ओरिएन्टेशन क्याम्पमा लगेको कलेजले सामान्य हेरचाह पनि नगरेको उनको भनाइ छ। विद्यार्थीलाई ककनी लगेकै गाडीमा अस्पताल ल्याउन सकिने भए पनि समयमै गाडीको व्यवस्था नगरिएको थिङको आरोप छ। “कलेजले समयमै अस्पताल पुर्याएको भए हाम्रो बच्चा बाँच्थ्यो,” उनी भन्छिन्।
जेभियर इन्टरन्याशनल कलेजका संयोजक राजेश नेपाल भने कलेजबाट लापरवाही नगरिएको दाबी गर्छन्। गुनगुनको ज्यान जोगाउन सक्दो प्रयास गरिएको नेपालको भनाइ छ। “हामीले सक्दो प्रयास गरेका हौं। हामीबाट कुनै लापरवाही भएको छैन,” उनी भन्छन्, “राति नै अस्पताल पुर्याएका थियौं, तर बचाउन सकेनौं।”
विद्यार्थी र शिक्षकलाई लगेको गाडी ककनीको गेटसम्म छोडेर फर्किएको उनको भनाइ छ। हरेक वर्ष यसरी नै क्याम्प लग्ने गरेको उनी बताउँछन्। “विद्यार्थीलाई क्याम्पमा लग्न थालेको १६ वर्ष जति भयो। जहिल्यै यसरी नै गाडी छोड्न आउँछ। दुर्भाग्य, यो पटक दुःखद घटना भयो,” नेपाल भन्छन्।
गुनगुनका परिवारजनले भने कलेज प्रशासन विरुद्ध उजुरी दिने बताएका छन्। कलेजको लापरवाहीले ज्यान गएको उनीहरूको आरोप छ। कलेज प्रशासनलाई जवाफदेह बनाउन पनि कानूनी कारबाहीमा जाने परिवारजनको भनाइ छ।
गुनगुनलाई गुमाउनुपर्दा परिवारजन शोकमा डुबेका छन्। उनका एक कान्छा भाइ छन्। आमाबुबा र बाजेबज्यैसँगै बस्दै आएका छन्। परिवारकी जेठी छोरीको अकस्मात् ज्यान गएपछि परिवारजनलाई सम्हालिन मुश्किल भएको छ।