सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीको निधन
सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ।
पूर्व न्यायाधीश वस्तीलाई हृदयाघात भएपछि गए राति थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा राति नै उनको निधन भएको नर्भिक अस्पतालले जनाएको छ।
वस्ती २०६५ भदौ २२ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। उनले २०७० चैत २९ गते सर्वोच्च अदालतबाट अवकाश पाएका थिए।
सर्वोच्चबाट अवकाश पाएपछि राष्ट्रिय मानव अधिकार आयोगको सदस्य बनेका थिए। उनले ६ वर्ष आयोगको सदस्य भएका काम गरेका थिए। त्यसअघि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेका थिए।
पछिल्लो समयमा उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन र अनुसन्धानमा तल्लीन थिए। उनले न्याय र कानून क्षेत्रसँग सम्बन्धित पुस्तक पनि लेखेका छन्। पछिल्लो पटक उनको सम्पादनमा कानूनी नेपाली भाषा र साहित्य पुस्तक प्रकाशित छ।
पूर्व न्यायाधीश वस्तीका छोरा अमेरिकामा रहेकाले उनी स्वदेश फर्केपछि दाहसंस्कार गरिने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए। कुइँकेलका अनुसार अहिले वस्तीको पार्थिव शरीर नर्भिक अस्पतालमै राखिएको छ। उनका छोरा अमेरिकाबाट आइतबारसम्म पुग्ने र त्यसपछि दाहसंस्कार गरिने कुइँकेलले जानकारी दिए।
यो पनि पढ्नुहोस् :