प्रहरी जवानले कार्यकक्षमै आफैमाथि चलाए गोली
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवानले आफैमाथि गोली चलाएका छन्।
प्रहरी जवान २१ वर्षीय चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ। टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था स्थिर रहेको बताए। “प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,” डीएसपी जोशीले भने, “चक्रको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए।”
डीएसपी जोशीका अनुसार घाइते भएको जानकारी पाइएपछि प्रहरी जवान न्यौपानेलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी लगिएको थियो। धनगढीमा पनि उपचार हुन नसकेपछि बाँकेको कोहलपुर पुर्याइएको छ।
गोली चलाउनुको कारण खुलेको छैन। उनले के कति कारणले गोली चलाए भन्नेबारे अनुसन्धान भइरहेको डीएसपी जोशीको भनाइ छ।