कोही किन बन्छ भ्रष्टाचारी?
निजामती क्षेत्रमा हुने भ्रष्टाचारमा केन्द्रित ‘९६ गड्डी’ उपन्यासमा समाधानका उपाय समेत सुझाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अभिलेख हेर्दा भ्रष्टाचारको मुद्दा लाग्नेहरूको संख्या बर्सेनि बढ्दै गएको देखिन्छ। आयोगले आर्थिक वर्ष २०८०/८१ मा मात्रै एक हजार ५४५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्यो। आयोगले घूस रिसवत, राजस्व चुहावट, गैरकानूनी लाभ वा हानि, गैरकानूनी सम्पत्ति आर्जन आदिमा प्रतिवादी बनाएको हो।
सार्वजनिक निकायमा कहाँ कहाँ भ्रष्टाचार छ भन्नुभन्दा पनि कहाँ चाहिं छैन भनेर खोज्नुपर्ने अवस्था छ। त्यसो भए कोही किन यसरी भ्रष्टाचारी बन्न उद्यत हुन्छ त? मान्छेको आचरण जन्मजातै भ्रष्ट हुन्छ कि समयक्रमले भ्रष्ट बनाउँदै लैजान्छ? यही प्रश्नको सेरोफेरोमा रहेर लेखिएको उपन्यास हो, ९६ गड्डी। लेखक प्रकाश तिवारीले उपन्यासमा एक निजामती कर्मचारीको मनोदशा केलाएका छन्।
उपन्यास विज्ञान नामक पात्रको वरिपरि घुमेको छ। २०४५/४६ साल ताका कीर्तिपुर बसेर पढेका उनी पञ्चायती व्यवस्था विरोधी मात्रै होइन, भ्रष्टाचार विरुद्धको आन्दोलनमा पनि सरिक हुन्छन्। जीवनभरि सँगै बाँच्ने–मर्ने कसम खाएकी, विद्यार्थी राजनीतिमा लागेकी कुमुदालाई उनले आन्दोलनकै क्रममा गुमाउन पुग्छन्।
विद्यार्थी जीवनमा कुमुदासँगै विद्रोहको आगो ओकल्ने तिनै विज्ञान कालान्तरमा निजामती सेवामा प्रवेश गर्न पुग्छन्। जागीरे हुँदा उनले भोगेका आरोह-अवरोहको वृत्तान्त छ, पुस्तकमा। भ्रष्ट सहकर्मीहरूका विभिन्न तिकडमका बीच उनी इमानबाट डगमगाउँदैनन्। बरु आफू विरुद्धका चक्रव्यूह तोड्न संघर्षको बाटो रोज्छन्। तर विज्ञानले निष्ठावान् कर्मचारीको परिचय जोगाइराख्न सक्दैनन्। उनी मौका पाएपछि सहजै भ्रष्टको दलदलमा डुबुल्की मार्न पुग्छन्। अवसर नपाउँदासम्म मात्र सज्जन बन्नेहरूको भीडबाट आफूलाई अलग राख्न सक्दैनन्।
परिवार र समाजलाई जतिसुकै दोष लगाए पनि भ्रष्टाचारी बन्नुमा विज्ञान आफैं जिम्मेवार छन्। उपन्यास बाहिरको संसारमा पनि व्यक्ति भ्रष्ट हुनुको सबैभन्दा पहिलो कारण आफू नै हो। सिस्टम, समाज, परिवार वा संगतलाई बाह्य कारणका रूपमा लिन नसकिने होइन। महाकवि कालिदासले भनेका छन्, ‘विद्वान्को संगतले मूर्ख पनि विद्वान् बन्दछ।’ विज्ञान आफैंमा सज्जन हुँदा हुन् त उनी बाह्य प्रभावमा परेर ९६ गड्डी थुपार्न लाग्ने अवश्य थिएनन्।
कुमुदाको आदर्शलाई आत्मसात् गर्न नसकेका विज्ञानको जीवनमा सामनाको प्रवेश हुन्छ। तर सामनाको साथले उनको जीवन सार्थक बन्दैन। सामनाको हकी र जुझारु स्वभाव अस्थायी हुन्छ। गैरकानूनी तरीकाले धन आर्जन गरेर भौतिक सुखसयलमा रम्ने आकांक्षामा सामना र विज्ञानको मतैक्य हुन्छ। ९६ गड्डी मोहले विज्ञानलाई कहाँ पुर्याउँछ भन्ने थाहा पाउन उपन्यास पढ्नै पर्ने हुन्छ।
निजामती सेवाबाट आएका लेखक तिवारीको यसअघि तीन कृति प्रकाशित छन्– परित्यक्त, निलोफर र निहारिका। उनको चौथो कृतिको सबैभन्दा कमजोर पक्ष नयाँपनको अभाव हो। लगभग सबै नेपालीलाई हैरान पारिरहेको निजामती प्रशासनभित्रको भ्रष्टाचारको दार्शनिक पक्षमा ‘डिल’ गर्न सकेको भए ‘सुनमा सुगन्ध’ हुन्थ्यो।
उपन्यासका कतिपय सन्दर्भ र घटनाक्रमले पाठकलाई ‘सी ग्रेड’ को हिन्दी चलचित्रको झल्को दिलाउँछन्। उपन्यासमा सुशीलाको हत्यारा पत्ता लगाउने उद्देश्यले सामना रात्रिक्लबमा काम गर्छिन्। रात्रिक्लबमा चमनलाललाई जालमा पार्न बुनिएका कतिपय सन्दर्भ पाठकलाई पत्याउन मुश्किल पर्छ। दाङ पुर्याएर चमनलालको घिच्रो सुशीलाको आमाबाबुबाट छिनालेको प्रसंग पनि फिल्मी लाग्छ।
एउटा प्रसंगमा उर्दु र फारसी भाषाका शायर मिर्जा गालिबको प्रसिद्ध शायरी राखिएको छ। तर ‘उम्र भर गालिब यही भूल करता रहा, धूल चेहरे पर थी और आईना साफ करता रहा’ को उद्धरण सही छैन।
पढ्न शुरू गरेपछि पाठकलाई बाँधेर राख्नु ९६ गड्डीको सबल पक्ष हो। उपन्यासमा भ्रष्टाचारले थिलथिलो अवस्थाको चित्रण मात्र गरिएको छैन, समाधानका सूत्र पनि राखिएको छ। कुनै वेला भ्रष्टाचारले जर्जर जर्जियाको उदाहरण दिंदै ‘हायर एन्ड फायर’ गर्नुपर्ने उपन्यासकारको सुझाव छ। जसरी भर्याङ माथिबाटै सफा गर्नुपर्छ, भ्रष्टाचार न्यूनीकरणको शुरूआत पनि माथिल्लो निकायबाटै गर्नुपर्ने पुस्तकको निष्कर्ष छ।
विडम्बना, सार्वजनिक पदमा बसेका व्यक्तिले भ्रष्टाचार गरेर अख्तियार दुरुपयोग गरेको विषयमा अनुसन्धान गरी नियन्त्रण गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर मुद्दाका अधिकांश प्रतिवादी सहायकस्तरका कर्मचारी छन्। गत आर्थिक वर्षमा मुद्दा दायर भएका डेढ हजार अभियुक्तमध्ये मन्त्री दुई र विशिष्ट श्रेणीका कर्मचारी ६ जना छन्। यस्तो आँकडाको अर्थ हो, भ्रष्टाचार निवारण गर्नुपर्ने निकायले अझै पनि ठूला माछा समात्ने आँट गर्न सकेको छैन।
पुस्तकः ९६ गड्डी लेखकः प्रकाश तिवारी प्रकाशकः पैरवी बूक पृष्ठः २८३ मूल्यः रु.५९५