जोगवनीबाट ‘बडी फिटिङ’ लागुऔषध तस्करी
लागुऔषध तस्करले नयाँ नयाँ उपाय निकालेर भारतबाट नेपाल तस्करी गरेको पाइएको छ । पछिल्लो समय विराटनगरसँग जोडिएको भारतको सीमावर्ती बजार जोगवनीबाट शरीरमा टेपले टाँसेर, खाने तेलमा हालेर, चिसो पेयको बोतलमा लुकाएर लागुऔषध नेपाल ल्याउने गरेको पाइने गरेको छ।
सबैभन्दा बढी शरीरमा लागुऔषध टाँसेर (बडी फिटिङ) तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरीको लागुऔषध ब्यूरो विराटनगरले जोगवनी नाकाबाट बुधबार एक युवकलाई कम्मरमा पेटी लगाए जसरी लागुऔषध टाँसेर नेपाल भित्र्याउने क्रममा पक्राउ गरेको छ ।
राप्ती नगरपालिका चितवन घर भई विराटनगर १ मा बस्दै आएका सुशील योन्जनलाई १ सय ४० एम्पुल लागुऔषध सहित पक्राउ गरेको छ ।
पक्राउ परेका योन्जनले एभिल ३५, लुपिजेसिक ३५, फेनारगन ३५ र याइजेल्याप ३५ एम्पुल टेपले बेरेर कम्मरमा टाँसेका थिए । पछिल्लो समय शरीरका विभिन्न भागमा टाँसेर यसरी नै लागुऔषध तस्करी गर्ने व्यक्तिहरू पक्राउ पर्ने क्रम बढेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार, ६ महीनाको अवधिमा मलद्वारमा लागुऔषध लिएर आउने २ जना पक्राउ परिसकेका छन् ।
“सीसाको एम्पुल मलद्वारमा हालेर ल्याइन्छ, फुट्यो भने संवेदनशील आन्द्रामा क्षति हुन्छ”, उनले भने । जोगवनीबाट ५ लिटर खाने तेलमा लागुऔषध डुबाएर ल्याउने दुई महिला गत महीना सीमा क्षेत्रमा पक्राउ परेका थिए ।
लागुऔषधको प्रयोग र ओसार पसारले समाजमा विभिन्न खाले अपराध निम्त्याएकाले न्यूनीकरण गर्दै लैजान प्रहरीले अभियान चालेको जनाएको छ ।
अभियानका संयोजक समेत रहेका प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार जेठदेखि गत साउनसम्मको ३ महीनामा १ हजार ३ सय ७६ जना लागुऔषध प्रयोगकर्तालाई परामर्श दिई सकिएको छ ।
प्रहरीले अभियान मार्फत जोगवनीबाट लागुऔषध सेवन गरेर आउने युवाहरूलाई जम्मा गरेर दैनिक रूपमा परामर्श दिई अभिभावकको जिम्मा लगाउने गरेको छ । परामर्श पाएका युवाहरूको सूचनाका आधारमा लागुऔषधका ठूला कारोबारीहरूलाई पनि कारबाही गर्न सफल भएको प्रहरीले जनाएको छ ।