नयाँ पार्टी खोल्न पूर्वी नेपालमा मोर्चा घोषणा
नयाँ राजनीतिक दल खोल्ने तयारीस्वरूप पूर्वी नेपालमा संयुक्त पहिचानवादी मोर्चा घोषणा गरिएको छ।
धरानमा शुक्रबार पत्रकार सम्मेलन गरेर घोषणा गरिएको मोर्चामा प्रा.डा. महेन्द्र लावती संयोजक रहेको पहिचानवादी मोर्चा, केपी पालुङ्वा अध्यक्ष रहेको नेपाल जनमुक्ति पार्टी, डकेन्द्र सिंह थेगिम संयोजक रहेको प्रदेश नं. १ पुनः नामांकन अभियान समिति र ज्ञानबहादुर गुरुङ संघीय अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश समिति आबद्ध छन्।
मोर्चालाई दल बनाएर आगामी २०८४ सालको निर्वाचनमा भाग लिने उनीहरूको योजना छ। मोर्चालाई वैकल्पिक राजनीतिक शक्ति बनाउने नेताहरूले बताएका छन्। नयाँ दल निर्माण नभएसम्म चक्रीय प्रणालीका आधारमा डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा मोर्चाको चार सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ।
संयुक्त पहिचानवादी मोर्चा बनाउन सात महीनायता निरन्तर छलफल चलिरहेको थियो। आज डकेन्द्रसिंह थेगिम संयोजक, मधुराज केरुङ सदस्य-सचिव र केदार धिमाल सदस्य रहेको ‘एकीकृत शक्ति निर्माण अन्तरसंवाद समिति’ गठन भएपछि मोर्चा घोषणा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
संयुक्त मोर्चा देशैभर टोल तहसम्म विस्तार गर्ने विज्ञप्तिमा उल्लेख छ। मोर्चाको बैठकले मुक्कुमुलुङ (पाथीभरा) आन्दोलन परिचालन समिति संयोजकमा रामभक्त कुरुम्बाङ, सहसंयोजकहरू सरु सिंघक र दिलेन्द्र कुरुम्बाङ, कोशी नामकरण विरुद्ध आन्दोलनमा मोर्चाका तर्फबाट आन्दोलन परिचालन समिति संयोजक केपी पालुङ्वा, सहसंयोजकहरू जेन्टल लावती, केदार धिमाल, गजेन्द्र पालुङ्वा र धनबहादुर पन्धाकलाई चयन गरेको छ।