जनकपुरधाममा एनपीएल ‘ट्रफी परेड’
मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार ‘ट्रफी परेड’ प्रदर्शन गरिएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी सहित ‘ट्रफी परेड’ गरिएको हो। काठमाडौंमा भएको एनपीएल जितेर जनकपुर बोल्ट्सका खेलाडी बिहीबार राति जनकपुर पुगेका थिए।
आजदेखि मधेश प्रदेशमा ट्रफी परेड शुरू गरिएको छ। पहिलो दिन जनकपुरधाममा नगरपरिक्रमा गर्दै ट्रफी प्रदर्शन गरिएको छ।
रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट शुरू भएको ट्रफी परेड थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरंग चोक, भ्रमरपुरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, राम चोक हुँदै जानकी मन्दिर पुगेको थियो। परेडमा खेलाडीसँगै स्थानीय बासिन्दा सहभागी थिए।
पुस ६ मा भएको एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो। उपाधिसँगै जनकपुरले एक करोड रुपैयाँ पुरस्कार पाएको थियो। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए।