पूर्व प्रधानमन्त्री सिंहको निधनमा भारतमा सात दिन राष्ट्रिय शोकको घोषणा
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारतमा सात दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ।
सिंहको निधनपछि भारतले शुक्रबार सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो। उनको बिहीबार राति नयाँ दिल्लीको एम्स अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको हो।
सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंह भारतको आर्थिक उदारीकरणका वास्तुकार मानिन्छन्। सन् १९९० को दशकको शुरूआतमा भारतले आर्थिक उदारीकरण शुरू गरेको थियो।
भारत सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दिवंगत महानुभावप्रति सम्मानस्वरूप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ।’
यससँगै सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। सात दिन राष्ट्रिय झण्डा आधा झुकाइने जनाइएको छ।
पूर्व प्रधानमन्त्री टेक्नोक्र्याट थिए। उनलाई पहिलो कार्यकालमा एशियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो। दोस्रो कार्यकाल भने ठूला भ्रष्टाचार काण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिले विवादित बनेको थियो।
सन् १९३२ मा अहिले पाकिस्तानमा रहेको गाह गाउँमा जन्मिएका सिंहले गरीबी उन्मूलन गर्ने तरिका खोज्न अर्थशास्त्रको अध्ययन गरेका थिए। प्रधानमन्त्री हुनुअघि उनी कहिल्यै निर्वाचित पदमा बसेनन्।
उनले क्याम्ब्रिजबाट अर्थशास्त्रमा स्नातकोत्तर (प्रथम श्रेणी) र अक्सफोर्डबाट विद्यावारिधि गरेका थिए। सिंहले निजामती सेवाका विभिन्न पदमा काम गरेका थिए भने भारतको केन्द्रीय ब्यांकको गभर्नरका रूपमा पनि सेवा गरेका थिए। त्यस्तै, संयुक्त राष्ट्रसंघ जस्ता विश्वव्यापी एजेन्सीमा पनि काम गरेका थिए।
सन् १९९१ मा तत्कालीन कंग्रेसी प्रधानमन्त्री पीभी नरसिंह रावले सिंहलाई भारतको आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय संकटबाट उकास्न जिम्मेवारी दिएका थिए। अर्थमन्त्रीका रूपमा सिंहको पहिलो कार्यकालमा भारतले नौ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो।
उनले अमेरिकासँग एक ऐतिहासिक आणविक सम्झौतामा पनि हस्ताक्षर गरेका थिए। त्यस सम्झौताले भारतलाई बढ्दो ऊर्जा आवश्यकता पूरा गर्न मद्दत गरेको थियो।