फर्सीको तरकारी लत्याएर ‘पम्पकिन सूप’
हामी फर्सीको तरकारी भन्दा मन अमिलो पार्छौं, तर विदेशबाट ल्याएको ‘पम्पकिन सूप’ खाँदा आनन्द मान्छौं। एउटै कुरा हो भन्ने थाहा नपाउनेले सोयाबिनलाई ‘वाह’ भन्छ, घरको भटमास चाहिं वास्ता गर्दैन।
केही वर्षअघि ‘यूके मास्टरसेफ रिम्याच’ विजेता भएपछि सन्तोष शाहले नेपालमा बडो सम्मान पाए। तर हामीले सम्मान तब मात्र दियौं, जब विदेशीले उनको कामलाई ‘क्याबात’ भने। अहिले सन्तोषलाई वाहवाही गर्ने हामी उनकै जसरी पकाउने आफ्ना आमा, बज्यै, दिदी, फुपू, छोरीहरूको सीपलाई भने अवहेलना गरिरहेछौं।
सन्तोषले विदेशमै रहेका सामग्रीबाट नेपाली नामका परिकार बनाई चखाएर प्रतियोगिताका निर्णायकको मन जितेका थिए। हामी यता चाहिं तिनै खानेकुरा अंग्रेजीमा खोज्न थाल्यौं। अंग्रेजी नामका खानेकुरालाई मात्र ‘वाह क्या राम्रो’ भन्ने बानी जो हामीलाई परेको छ।
त्यही बानीको परिणाम हो- हामी घरमा अतिथि बोलाउँदा बाहिरबाट पिज्जा र केक मगाएर खुवाउँछौं, घरमै पकाएको दाल, भात, तरकारी, रोटी, अचार र साग दिन लाज मान्छौं। पाहुनालाई मही, कागती र बाबरीको सर्वत दिन हिचकिचाउँछौं, तर स्वास्थ्य खराब पार्ने गुलियो पेयपदार्थ मनग्गे खुवाउँछौं। बजारबाट बोक्रै सहितको बदाम किनेर ल्याई छोडाएर पाहुनालाई दिन लाज मान्छौं, तर ‘पीनटको प्याकेट’ थमाउनमा गर्व गर्छौं। चना भुटेर दिन हिचकिचाउँदै प्याकेटमा रहेको नुनिलो ‘ग्रीन पीज’ पस्कन्छौं। विदेशीले ‘दूध खाए मुटुमा बोसो भरिई मुटु सम्बन्धी रोग लाग्छ’ भनेकै भरमा गाईको दूध छोडेर भटमासको दूध खान्छौं।
हाम्रा पुर्खालाई शरीरमा कति कति पोषक तत्त्व चाहिन्छ भन्नेबारे वैज्ञानिक रूपमा थाहा थिएन होला, तापनि उनीहरूले सधैं शुद्ध खानेकुरा खाए। अहिले विदेशी वैज्ञानिकबाट सुनेर हामी अनेक शुद्ध पोषक तत्त्वको कुरा गर्छौं, तर पुर्खाले हजारौं वर्षदेखिको अभ्यासबाट दिएको यसै सम्बन्धी ज्ञान बिर्सन्छौं।
तिल, आलस, मुंग्रेलो, अमला, अम्बा हाम्रो दैनिक जीवनका अंग थिए। तर हामीलाई अहिले स्वास्थ्य संरक्षण गर्ने नाममा पसलबाट चक्की किनेर खाने बानी लागेको छ। ती चक्की खाइरहँदा बिर्सन्छौं कि तिनले भन्दा राम्रो परिणाम दिने खानेकुरा हाम्रै भान्सामा सजिलै पाइन्छ।
विदेशी पोषणविद्ले शरीरमा भिटामिन सी र डी कमी भए कोरोनाले झन् गलाउन सक्ने भनेपछि कोभिड-१९ महामारीका वेला हामी पसलमा गएर तिनका चक्की किन्न थाल्यौं। यतिसम्म पनि हेक्का राखेनौं कि हाम्रै घरआँगनमा पाइने कागती, अमला, अम्बा, हलुवाबेद जस्ता फलफूलमा भिटामिन सी पुग्दो पाइन्छ। तिनैले अन्य पौष्टिक तत्त्व पनि दिन्छन्।
विदेशीले ‘क्लारिफाइड बटर’ खानु राम्रो भनेपछि आँखा चिम्लेर पत्यायौं, तर त्यो बटर भनेको हाम्रो घरमा पाइने घ्यूकै एउटा रूप हो भनेर बिर्सियौं। घरमा सजिलै पाइने बाबरीको पातलाई वास्ता नगर्ने हामी ‘मिन्ट वाटर’ भन्दै बोतलको महँगो पेय किन्दा चाहिं दंग पर्छौं।
विदेशीको नक्कल गर्दा हामीले प्रोटिन, कार्बोहाइड्रेट, लौहतत्त्व, क्याल्सियम आदिको मात्राबारे बढी बुझ्यौं, खानालाई सम्पूर्णतामा खानुपर्छ भन्ने कहिल्यै सिकेनौं।
मैले अहिलेसम्म मेरो भान्साको खानेकुरामा कति ग्राम प्रोटिन वा कति मिलिग्राम सूक्ष्म पोषक तत्त्व पाइन्छ भनेर हेरेकी छैन। म खोले, भात, तरकारी, रोटी, खिचडी, हलुवा, बदाम र गुडको लड्डु, कागती पानी, मही, दही र दूध खान्छु। अनेक थरी भिटामिनको एक क्याप्सुल पनि खाएकी छैन। गर्भवती हुँदा पनि आइरन चक्की खाइनँ, किनभने मैले खाने रोटी, भात र खिचडीमा पर्याप्त लौहतत्त्व थियो।
यी खानेकुरा खाँदा हामीमा अनेक थरीका रोगसँग लड्ने शक्ति बढ्छ अनि अस्पताल र औषधिको खर्च पनि बच्छ। अफसोच, हामी प्रोटिन पाउन चना र भटमास खाँदैनौं, अनेक बिस्कुट र प्रोटिन क्याप्सुलको खोजीमा लाग्छौं। पैसा तिरेर रोग ल्याउनतिर लाग्छौं। सन्तोषले विदेशीलाई बनाएर खुवाएका खानामध्ये कतिपय घरमै मजाले बनाउन सकिन्छ, तर हामी ती पनि बजारबाट किन्छौं। फर्सीको तरकारी भन्दा मन अमिलो पार्छौं, तर ‘पम्पकिन सूप’ खाँदा आनन्द मान्छौं। एउटै कुरा हो भन्ने थाहा नपाउनेले सोयाबिनलाई ‘वाह’ भन्छन्, भटमास चाहिं वास्ता गर्दैनन्। हामीलाई घरमा भुटेको भात ‘छ्या’ लाग्छ, होटलमा ‘फ्राइड राइस’ भन्दै बढी पैसा तिर्दा आनन्द मान्छौं।
हामीलाई भोजनमा पनि किन यतिसम्म अंग्रेजीमोह? अंग्रेजी नाम दिइएका खाना राम्रो, नेपाली नाम दिइएका चाहिं नराम्रो भन्ने मानसिकताले किन यसरी गाँजेको? मौलिक खानालाई बेवास्ता गर्दै बाहिरबाट आएका प्याकेटका खानेकुरा दिंदा बालबालिकालाई कुपोषण भएको हेक्का हामीले राखेकै छैनौं। बालबालिकालाई कुपोषणबाट जोगाउने योजना बनाउँदा गहुँ, फापर, आलु, बोडी, सिमी आदिलाई वास्तै गरिंदैन। किनकि ती सस्तोमा पाइन्छन् र रंगीचंगी प्याकेटमा पनि आउँदैनन्।
फर्सीको खिर खुवाउनुपर्छ भन्ने संस्थाले कुभिन्डो, लौका र इस्कुस पनि उत्तिकै स्वस्थकर हुन्छ भन्ने ज्ञान दिंदैन। फर्सी नभएको ठाउँमा कुभिन्डो र लौका फलिरहेको हुन्छ। स्वास्थ्यकर्मीले वास्ता नगर्दा त्यो त्यत्तिकै कुहिएर गइरहेको हुन्छ। ‘नजीकको तीर्थ हेला’ भनेको यही होला। त्यही कुभिन्डो र इस्कुसको महिमा भोलि कसैले अंग्रेजीमा गाइदियो भने चाहिं हामी त्यसैको पछि लाग्छौं।
‘पम्पकिन’ को प्रचार यसरी नै भइरहे केही समयपछि गाउँ गाउँमा विदेशबाट पोकामा आउने ‘पम्पकिन नट’ वा ‘पम्पकिन फूड’ बेचिनेछन्। अनि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका सबैले ‘पम्पकिन नट’ खाऔं र कुपोषणबाट बचौं भन्नेछन्। सुदूरका गाउँमा समेत फर्सीको तरकारी पकाउन झन्झट मान्दै ‘पम्पकिन नट खाए भइहाल्छ नि’ भनिनेछ।
हामी मालपुवा, सेल र जेरीको सट्टा केक किन्छौं। कोदोको रोटीको सट्टा ‘प्यान केक’ खान्छौं। भान्साको खानेकुराले कुपोषण कम हुने विचारलाई अवहेलना गर्छाैं। रैथाने ज्ञान र मौलिक भोजनलाई बेवास्ता गरेर जति कार्यक्रम गरे पनि स्वास्थ्य क्षेत्रमा दिगो विकास हुँदैन।
हामीकहाँ लट्टेको साग पाहुनालाई खुवाउँदा उनीहरूले अपमान महसूस गर्न सक्छन्। तर त्यसैलाई अंग्रेजीमा सुपरफूड ‘अमरान्थ’ भन्दै ठूला होटलमा बेच्दा चाहिं खूब उपयोगी मानिन्छ।
केही दिनअघि गाउँ जाँदा मैले बाटा बाटामा फलेका कर्कलो टिपेर घर ल्याएँ। सुकाएर गुन्द्रुक र मस्यौरा बनाएँ। त्यसलाई फलामको भाँडोमा पकाएर गोलभेंडाको अचार सहित भात खाएँ। यस्तो खानाले शरीरमा लौहतत्त्व दिन्छ। यही ज्ञान गाउँघरमा बाँडिए महिला र बालबालिकालाई रक्तअल्पताबाट बचाउन मद्दत पुग्थ्यो।
चीन, ब्राजिल, ताइवान, बाङ्लादेश र अफ्रिकामा कर्कलोसँगै त्यसको जरा अर्थात् पिंडालु पनि खानामा प्रयोग गरिन्छ। नेपालमा भने कुनै विशेष दिनमा खाने बाहेक अरू वेला कर्कलो र पिंडालुलाई हेला नै गरिन्छ। यहाँ जताततै पाइने भएकैले यिनलाई यतिसम्म बेवास्ता गरिएको होला। जबकि यसले स्वादसँगै रोगसँग लड्ने शक्ति पनि दिन्छ। बाहिरका प्याकेटका कुहिएका खानेकुराभन्दा कर्कलो र पिंडालुको तरकारी प्रयोग गरे स्वस्थ भइन्छ भनेर विदेशीले नभनिदिंदासम्म नपत्याउने?