पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा वर्षाको सम्भावना
देशको पश्चिमी भागमा शुक्रबार साँझबाट हिउँदे वर्षाको सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले बिहीबार अपराह्न जारी गरेको हिउँदे मौसमको विशेष बुलेटिन अनुसार शुक्रबार साँझदेखि पश्चिम नेपाल सहित देशका विभिन्न भागमा हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ।
बुलेटिन अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली हुने अर्थात् बादल लाग्ने सम्भावना छ। पुस १२ गते अपराह्नदेखि पुस १३ गतेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान गरिएको छ।
त्यस्तै, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा पनि हिमपातको सम्भावना छ। साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको पूर्वानुमान गरिएको छ।
विभागले यो मौसम प्रणालीका कारण तापक्रम घट्ने र चिसो बढ्न सक्ने जनाएको छ। वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई तथा यातायात सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई अनुरोध गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीको निरन्तर अनुगमन गरिरहेको र दैनिक जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिन मार्फत अद्यावधिक जानकारी प्रदान गर्ने जनाएको छ।