पेट्रोलियम पदार्थको अन्वेषणका लागि ‘ड्रिलिङ’ अन्तिम चरणमा
दैलेखमा चलिरहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ।
खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन हजार ९३० मिटर ‘ड्रिलिङ’ गरिएको छ। अब ७० मिटर मात्र बाँकी छ।
दैलेखको भैरवी गाउँपालिका-१, जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ थालिएको हो। विभागका पेट्रोलियम परियोजना प्रमुख गणेशनाथ त्रिपाठीका अनुसार पुस महीनाभित्रै ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ।
चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे’, ‘जियोलोजिकल सर्भे’, ‘म्याग्नेटो टेल्युरिक सर्भे’ र ‘जिओकेमिकल स्याम्पलिङ सर्भे’ गरेको थियो। सबै परीक्षण तोकिएकै समयमा सकिएको उनले बताए। ड्रिलिङ पनि निर्धारित समयमै सक्ने गरी काम भइरहेको त्रिपाठीले जानकारी दिए।
चीनको दुई अर्ब ५० करोड रुपैयाँ सहयोगमा यस परियोजनामा काम भइरहेको छ। परियोजना अन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका-१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो।
चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छ। विभाग, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनीयरिङ कम्पनी परियोजनामा संलग्न छन्।