सूर्य नेपाल इस्टर्न ओपन शुरू
सूर्य नेपाल गल्फ टूर २०२४-२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन शुरू भएको छ।
धरान गल्फ क्लबमा बुधबार शुरू भएको प्रतियोगिताको पहिलो दिन ८-अन्डर ६२ को नयाँ कोर्स रेकर्ड सहित निरज तामाङ शीर्षस्थानमा छन्। घरेलु प्रो निरजले २०२२-२३ सिजनमा शुक्रबहादुर राईले बनाएको ७-अन्डर ६३ को रेकर्ड तोड्दै नयाँ कोर्स रेकर्ड बनाएका हुन्। उनले धनबहादुर थापालाई चार स्ट्रोकले पछि पारेका छन्।
४-अन्डर ६६ को स्कोरमा थापा दोस्रो स्थानमा छन्। ३-अन्डर ६७ को नतीजामा भुवनकुमार रोक्का तेस्रो स्थानमा छन्। एमेच्योर सुन्दर राई सहित प्रोहरू युवराज भुजेल र विष्णुप्रसाद शर्मा संयुक्त रूपमा चौथो स्थानमा छन्। १-अन्डर ६९ को स्कोरमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, बलभद्र राई र एमेच्योर जितेन्द्र राई संयुक्त रूपमा सातौं स्थानमा छन्।
यसैगरी, १-ओभर ७१ को स्कोर बनाएका रामे मगर, सुनील केसी, रवि खड्का, रमेश अधिकारी र एमेच्योर सुरेश तामाङ संयुक्त रूपमा दशौं स्थानमा छन्। धरानका प्रो निरजले बोगी फ्री ८-अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड बनाउने क्रममा फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए।
तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे। ५-पारको १२औं होलमा इगलको सफलता प्राप्त गरेका उनले १५औं र १८औं होलमा पनि एक-एक शट बचाए। उनले ब्याक नाइन ४-अन्डर ३० मा सकाए।
थापाले दोस्रो होलमा बोगी खेले पनि तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। यसपछि १३औं होलको बोगी विरुद्ध १२औं, १६औं र १८औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अन्डर ३० मा पूरा गरे।
तेस्रो स्थानमा रहेका रोक्काले फ्रन्ट नाइनमा २-अन्डर ३४ र ब्याक नाइनमा १-अन्डर ३३ खेले। उनले कुल पाँच बर्डी र दुई बोगी प्रहार गरे। तेस्रो, सातौं, नवौं, १५औं र १८औं होलमा एक-एक शट बचाए। पहिलो र १७औं होलमा बोगी खेपे।
५४ होलको प्रतियोगितामा कुल आठ लाख ८२ हजार नगद पुरस्कार राशि छ। विजेताले उपाधिसँगै एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः एक लाख र ७५ हजार नगद प्राप्त गर्नेछन्।
दोस्रो दिनको समाप्तिमा कट लागू हुनेछ र उत्कृष्ट २१ प्रोफेशनल गल्फरले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन्। एमेच्योर खेलाडीको हकमा पनि सोही कट लागू हुनेछ। तीनदिने प्रतियोगितामा २९ प्रोफेशनल र २७ एमेच्योर गरी कुल ५६ गल्फरको सहभागिता छ। शनिबार प्रो एम इभेन्ट हुनेछ।
यो सिजनका आठ प्रतियोगितामा कुल ६७ लाख नगद पुरस्कार छ। यसअघि भएका दुई प्रतियोगिताको उपाधि एमेच्योर गल्फरहरूले जितेका थिए।
सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुल विके र दोस्रो प्रतियोगिताको उपाधि नेपाल नम्बर एक गल्फर सद्भाव आचार्यले जितेका थिए। यस पटक भने यी दुवै खेलाडीले सहभागिता जनाएका छैनन्।