भीम रावल एमालेबाट निष्कासित
नेकपा (एमाले)ले नेता भीम रावललाई पार्टीबाट निष्कासन गरेको छ।
बुधबार बसेको एमालेको सचिवालय बैठकले रावललाई निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। बैठकका निर्णयबारे जानकारी दिंदै रावललाई संगठित सदस्यबाट हटाइएको उनले बताए।
“कमरेड भीम रावलले पार्टीलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने किसिमले अभिव्यक्ति दिंदै आएको हुनाले उहाँलाई पार्टीको संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ,” ज्ञवालीले भने।
एमालेको गत महाधिवेशनमा रावलले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। त्यसमा उनी पराजित भएका थिए भने केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका थिए।
त्यति वेला एमालेले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेको थियो। तर उनले अस्वीकार गरेका थिए। त्यसपछि केन्द्रीय सदस्यमा पनि नबस्ने उनले जनाएका थिए। उनलाई केन्द्रीय सल्लाहकार समितिमा राखिएको थियो। त्यसमा पनि जिम्मेवारी निर्वाह नगरेको एमाले सचिवालयको ठहर छ।
त्यस्तै, एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई पनि कारबाही गरेको छ। दुवै जनालाई ६ महीनाका लागि जिम्मेवारीबाट हटाइएको हो।
एमाले केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पाण्डे र तिम्सिनाले दिएको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण मागिएको थियो। त्यसमा दुवै जनाले स्पष्टीकरण दिए पनि चित्तबुझ्दो नभएको सचिवालयको निष्कर्ष छ।
ज्ञवालीले भने, “स्पष्टीकरण त दिनुभयो, तर पार्टीको विधिभन्दा बाहिर गएर सार्वजनिक रूपमा बोल्नु भएन भन्ने कुरा महसूस गरेको देखिएन। त्यसैले ६ महीना पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको छ।”
यससँगै एमालेले केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। पुस २१ र २२ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको ज्ञवालीले बताए।