बन्दना शर्मालाई एनसेल वुमन आइकन आईसीटी अवार्ड
सूचना प्रविधि क्षेत्रमा क्रियाशील वन्दना शर्मालाई यस वर्षको ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गरिएको छ।
आईसीटी अवार्ड २०२४ को ग्रान्ड फिनालेमा शर्मालाई अवार्डबाट सम्मानित गरिएको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले शर्मालाई अवार्ड हस्तान्तरण गरे।
नेपाल ब्यांकको कार्ड तथा डिजिटल ब्यांकिङ डिभिजन प्रमुखका रूपमा कार्यरत शर्माले यो अवार्डसँगै तीन लाख रुपैयाँ नगद पुरस्कार पनि पाएकी छन्। सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गरिंदै आएको छ।
शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशिल छिन्। पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले सूचना प्रविधि, नेटवर्क एन्ड ई-बिजनेसमा स्नातकोत्तर गरेकी छन्। “यो महत्त्वपूर्ण सम्मानका लागि विशेषगरी एनसेल फाउन्डेशनलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु। यो अवार्ड मेरो मात्र सम्मान होइन, समाजको परिवर्तनका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रहेर काम गरिरहेका हरेक महिलाको सम्मान हो। यो क्षेत्रमा भविष्य खोज्ने युवाका लागि एक आशा हो,” शर्माले भनिन्।
यसअघि सन् २०२३ मा सुनयना घिमिरे पाण्डे, सन् २०२२ शीला कंसाकार कार्की, सन् २०२१ मा गुणकेशरी प्रधान र सन् २०२० मा तिमिला यमीले यो अवार्ड पाएका थिए।