कर्णाली विकास ब्यांक समस्याग्रस्त घोषणा
नेपाल राष्ट्र ब्यांकले कर्णाली विकास ब्यांकलाई समस्याग्रस्त घोषणा गरेको छ।
राष्ट्र ब्यांक सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णालीलाई समस्याग्रस्त घोषणा गरेको हो। योसँगै कर्णाली विकास ब्यांकको व्यवस्थापन राष्ट्र ब्यांकले नियन्त्रणमा लिएको छ।
नेपाल राष्ट्र ब्यांक ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त संस्थालाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय भएको केन्द्रीय ब्यांकले जनाएको छ। कर्णाली विकास ब्यांक सञ्चालनका निम्ति ब्यांक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ।
समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाहालाई सदस्य तोकिएको छ। समूहले पुस ११ गतेदेखि नै कर्णाली विकास ब्यांकको तोकिएको जिम्मेवारी सम्हाल्नेछ।
राष्ट्र ब्यांकले कर्णाली विकास ब्यांक व्यवस्थापन समूहलाई सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिएको छ।
व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायत अख्तियारी प्रदान गरिएको छ।
कर्णाली विकास ब्यांक लिमिटेडलाई केन्द्रीय ब्यांकले यसअघि गत मंसीरमा शीघ्र सुधारात्मक कारबाही गरेको थियो। ब्यांकले तोकेको न्यूनतम पूँजी कोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारी समेतका आधारमा संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरिएको जनाइएको थियो।