नेपालमा मुस्लिम समुदाय विरुद्ध कसले गरिरहेको छ घृणाको राजनीति?
खेलले समाजलाई जोड्ने भनिंदै आएकोमा देशभित्र पहिलो चोटि आयोजना भइरहेको व्यावसायिक खेलमा एउटा निश्चित भेगका आफ्नै नागरिक विरुद्ध प्रकट यो स्तरको घृणारूपी शब्दले जोड्ने नभई तोड्ने काम गर्छ भन्ने कुरा सामाजिक सञ्जाल प्रयोगकर्ताले हेक्का नै राखेको देखिएन।
भव्यतापूर्वक सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी जनकपुर बोल्ट्स र सुदरपश्चिम रोयल्सबीच भएको खेलमा जेजस्ता घृणात्मक अभिव्यक्ति बाहिर आए, तिनले धेरैलाई चिन्तित तुल्याए। सुदूरपश्चिमको समर्थनको बहानामा सामाजिक सञ्जालमा मधेशी समुदाय विरुद्ध फैलाइएको घृणाले भरिएका अभिव्यक्ति लज्जास्पद थिए। खेलले समाजलाई जोड्ने भनिंदै आएकोमा देशभित्र पहिलो चोटि आयोजना भइरहेको व्यावसायिक खेलमा एउटा निश्चित भेगका आफ्नै नागरिक विरुद्ध प्रकट यो स्तरको घृणारूपी शब्दले जोड्ने नभई तोड्ने काम गर्छ भन्ने कुरा सामाजिक सञ्जाल प्रयोगकर्ताले हेक्का नै राखेको देखिएन। सुदूरपश्चिम रोयल्सका समर्थकका असभ्य शब्दको विरोधमा जनकपुर बोल्ट्सका समर्थकको जवाफ पनि घृणा फैलाउने खालका थिए। तर यसको शुरूआत सुदूरपश्चिम रोयल्सका समर्थकबाट भएको थियो। जनकपुरका खेलाडीका अगाडि जसरी असभ्य तवरले नाराबाजी गरियो, त्यसलाई रोक्ने काम नगरिएको भन्दै मधेशी आयोगले समेत भर्त्सना गर्दै विज्ञप्ति जारी गर्नुपर्यो।
धन्य भन्नुपर्छ, यस्तो विषाक्त अभिव्यक्तिको विरोधमा सचेत पहाडी मूलका व्यक्तिहरू नै अगाडि आए। तिनले यस्तो घृणाको विरोधमा सामाजिक सञ्जालमा कडा विरोध जनाएर आफ्नो पक्ष प्रस्ट पारे। यो हाम्रो समाजको विशिष्ट सौन्दर्य हो, जसलाई बचाइराख्नुपर्दछ। एकातर्फ देशभित्र मधेशी र पहाडी मूलका नागरिकबीच सामाजिक सञ्जालमा झैझगडा भइरहेको थियो भने अर्कातर्फ यही मौका छोपी भारतीय सञ्चारमाध्यमले नेपाली नेपालीबीच लडाउने समाचार प्रसारण गरिरहेका थिए। १६ डिसेम्बरमा सत्तारूढ दल भारतीय जनता पार्टी निकट मानिने सुदर्शन टेलिभिजनले जनकपुर बोल्ट्स मार्फत नेपाललाई इस्लामीकरण गर्न थालिएको भन्दै प्रोपगान्डा फैलाउने काम गर्यो। जनकपुर बोल्टस्को लोगोमा राखिएको जानकी मन्दिरलाई मस्जिदको तस्वीर राखिएको भन्दै झूटो खबर वाचन गर्यो। जनकपुर टीममा सहभागी १८ खेलाडीमध्ये दुई जना मात्र मुस्लिम समुदायका छन्, जसमध्ये एक जना देशबाहिरबाट ल्याइएका हुन् भने अर्का स्थानीय मुस्लिम हुन्। टोलीमा चार जना पहाडे मूलका खेलाडी पनि छन्। भारतीय मिडियाबाट मुस्लिम विरुद्ध फैलाइने यस्तो प्रोपगान्डा निकै बढ्न थालेको छ।
२३ सेप्टेम्बरमा भारतीय पत्रिका दैनिक जागरणले ‘भारतीय सिमाना नेपालगन्जका मस्जिदहरूमा २५ सय आतंकवादी तयार पारिंदै’ शीर्षकमा पाकिस्तानी जासूसी संस्था आईएसआईको प्रायोजनमा १३० वटा मदरसाले दुई हजार ५०० आतंककारी तयार पारिरहेको र त्यसमा नेपालका मुस्लिम संघसंस्थाको पनि संलग्नता रहेको लेखिएको छ। त्यो समाचारमा मदरसामा पढाउने नेपाली शिक्षकलाई समेत पाकिस्तानी भनी उल्लेख गरिएको छ। एमालेको भ्रातृसंगठन लगायतलाई समेत जोडेर आईएसआईको स्वार्थमा काम गरिरहेको बताइएको छ। भारतमा भाजपाको नेतृत्वमा सरकार बनेपछि त्यहाँ जसरी २० करोड जनसंख्यामा रहेको मुस्लिम समुदाय विरुद्ध घृणाको राजनीति चलाइएको छ, त्यही राजनीति बमोजिम नेपालमा पनि मिडिया ट्रायल बढिरहेको देखिन्छ। त्यसो त यो शृंखला अहिलेको होइन, उहिल्यैदेखि चलिरहेको छ। तर पछिल्लो समय यस्तो मिडियाबाजी असाध्यै बढेर गएको देखिन्छ। पहिला मिडिया ट्रायल गर्ने र पछि नेपालभूमिमै आई नेपाली नागरिकको हत्या गर्ने काम लामो समयदेखि चलिरहेको छ। त्यतिले नपुगी पछिल्लो समय सिमानापारिबाट निर्धक्क आई मुस्लिम विरुद्ध नाराबाजी गर्ने मात्र होइन, मधेशका युवालाई मुस्लिम समुदाय विरुद्ध उकासेर दंगा गराउने दुष्कार्य पनि चलिरहेको छ। नेपालगन्जमा दंगा फैलाउने ६ भारतीय युवा पक्राउ परेको धेरै भएको छैन। पारिबाट आएका कट्टरतावादीले दंगा फैलाई फर्किंदा समेत प्रशासनले गम्भीरता देखाउन नसकिरहेको आरोप लाग्ने गरेको छ।
साम्प्रदायिक दंगा गराउन सीमापारबाट भइरहेको घृणाको यस्तो राजनीतिले करीब १५ लाख जनसंख्यामा रहेको मुस्लिम समुदायलाई केकस्तो प्रभाव पारिरहेको छ? मिडियाको प्राथमिकतामा नपरिरहेको सीमान्त समुदाय (मुस्लिम समुदाय) यसबारे के सोचिरहेको छ? तिनका सार्वजनिक भनाइ सुन्न नपाइरहेको वेला हिमालखबरले मुस्लिम समुदायका नेतृत्वको राय जान्न खोजेको थियो। हिमालखबरसँगको छलफलमा संघीय सांसद तथा एमालेको भ्रातृसंगठन मुस्लिम इत्तेहाद संगठन नेपालका अध्यक्ष र नेकपा केन्द्रीय सदस्य सेराज अहमद फारुकी, नेकपा (माओवादी केन्द्र)को भ्रातृसंगठन मुस्लिम मुक्ति मोर्चाका सचिव कमालुद्दीन मियाँ, तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ केन्द्रीय सदस्य तथा जनकपुरधामका पूर्व उपमेयर असगर अली र नेपाल मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खान सहभागी थिए। प्रस्तुत छ, जेबी पुन मगरले सहभागीसँग गरेकोे भिडिओ छलफल:
अतिथिहरू : सेराज अहमद फारुकी, कमालुद्दीन मियाँ, सगर अली, सीमा खान
अन्तर्वार्ता : जेबी पुन मगर
भिडिओ : सुमन नेपाली र शमशाद अहमद
सम्पादन : राज यादव