असोजको बाढीले क्षतिग्रस्त माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन फेरि शुरू
नेपालमा सञ्चालनमा रहेका जलविद्युत्गृहमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आंशिक रूपमा विद्युत् उत्पादन शुरू भएको छ।
गत असोज ११ र १२ गतेको अविरल वर्षापछि खसेको पहिरोले क्षति पुर्याएका संरचनाको आंशिक मर्मत गरी ८८ दिनपछि मंगलबार बेलुका ७.४० बजेबाट पुनः विद्युत् उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रूपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको जनाइएको छ।
अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो। असोज १२ को पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो।
गोङ्गरस्थित विद्युत्गृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करीब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूल्ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको थियो। विस्फोटक पदार्थ प्रयोग गरी ढुंगा फुटाएर सडक खुलाइएको थियो। केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिंगटीस्थित ४६ नम्बर टावरमा वर्षाले क्षति पुर्याएको थियो।
दुई वटा डिस्यान्डरमध्ये बायाँतर्फको डिस्यान्डरको आंशिक मर्मत सकेर विद्युत् उत्पादनका लागि तय गरिएको समयतालिकाभन्दा एक दिनअघिबाट उत्पादन शुरू गरिएको हो। आंशिक रूपमा क्षति पुगेको डिस्यान्डरको पर्खालको पुरानो ढलान भत्काएर मर्मत गरिएको छ। यसैगरी, कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गरी मर्मत गरिएको छ।
पहिरोले क्षति पुर्याएको डिस्यान्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रूपमा सञ्चालनमा ल्याइएको हो। डिस्यान्डरको बाँकी मर्मत भइरहेको छ। उक्त काम सम्पन्न भएपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय (पिक)मा केन्द्रलाई चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ। केन्द्रलाई पुसभित्रमा पिक समयमा चलाउन सक्ने गरी मर्मत कार्य भइरहेको प्राधिकरणले जनाएको छ।
जलविद्युत् केन्द्रको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सञ्चालक समितिका अध्यक्ष समेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितको टोलीले मंसीर १८ मा स्थलगत अनुगमन गरी पुस १० भित्रमा मर्मत सम्पन्न गरेर विद्युत् उत्पादन शुरू गर्ने तालिका तय गरेको थियो।
कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयासबाट माथिल्लो तामाकोशीको मर्मत सम्पन्न भई तालिकाभन्दा एक दिनअघि नै विद्युत् उत्पादन शुरू गर्न सफल भएको बताए।
‘‘देशकै ठूलो विद्युत्गृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न भएको थियो," उनले भने, "केन्द्रबाट आंशिक रूपमा विद्युत् उत्पादन शुरू भएसँगै भारतबाट गरिने विद्युत् आयात सन्तुलन कायम गरी पिक समयको विद्युत् आपूर्तिमा सहजता हुनेछ।”
दायाँतर्फको अर्को डिस्यान्डर मर्मत आगामी वर्षायाम शुरू हुनुभन्दा अगाडि नै सक्ने गरी काम गर्न निर्माण व्यवसायी छनोटका लागि बोलपत्र आह्वान भइसकेको कम्पनीका सीईओ मोहनप्रसाद गौतमले बताए।
जलविद्युत् केन्द्रका सम्पूर्ण संरचनाको बीमा गरिएकाले क्षति पुगेको संरचनाको मर्मतसम्भार खर्च बीमाबाट प्राप्त रकमबाट बेहोरिनेछ। कम्पनीले पहिरोले पुर्याएको क्षतिको एक अर्ब ७८ करोड रुपैयाँको प्रारम्भिक बीमा दाबी गरेको थियो। कम्पनी र बीमक राष्ट्रिय बीमा कम्पनीबाट संयुक्त रूपमा हाल क्षतिको यकीन मूल्यांकन भइरहेको छ। उक्त काम सकिएपछि बीमाको रकम भुक्तानी प्राप्त हुनेछ। यसैगरी, विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीको तीन महीनाको बीमा गरिएको छ। बीमा सम्झौतामा उल्लिखित शर्त बमोजिम कम्पनीले दुई महीनाको आम्दानीको भुक्तानी पाउनेछ।