हिमालखबरकर्मी दाहालमाथिको धम्कीबारे पत्रकार महासंघले स्थलगत अध्ययन गर्ने
नेपाल पत्रकार महासंघले हिमालखबरकर्मी गोपाल दाहाललाई धरानका मेयर हर्कराज साङपाङका समर्थकले दिएको धम्कीबारे अनुसन्धान गर्न मिडिया मिसन गठन गरेको छ।
२७औं महाधिवेशनबाट निर्वाचित महासंघ केन्द्रीय समितिको मंगलबार बसेको बैठकले केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा मिसन गठन गरेको महासचिव रामप्रसाद दाहालले बताए। महासंघका अर्का केन्द्रीय सदस्य शंकर खरेल, पत्रकार हर्ष सुब्बा, महासंघ कोशीका अध्यक्ष भरतबहादुर खड्का र सुनसरीका अध्यक्ष सन्तोष काफ्ले मिसनका सदस्य छन्।
मेयर साङपाङको विषयमा खोज पत्रकारिता केन्द्रका लागि दाहालले तयार पारेको रिपोर्ट हिमालखबरमा प्रकाशन भएको थियो। त्यसपछि मेयर साङपाङ र उनका समर्थकहरूले दाहाल र अर्का पत्रकार जनकऋषि राईलाई समेत धम्की दिंदै आएका छन्।