रवि लामिछाने सांसदबाट निलम्बित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लामिछानेलाई सांसद पदबाट निलम्बित गरेका हुन्। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गरी लामिछाने सांसदबाट निलम्बित भएको जानकारी दिएका छन्।
संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, “सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ मा ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने व्यवस्था रहेकाले सो कानूनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ।”
सभामुखको निर्देशनमा संसद् सचिवालयले सूचना प्रकाशित गरेसँगै लामिछानेको सांसद पद निलम्बनमा परेको हो। अब मुद्दाको किनारा नलागेसम्म उनले सांसदका रूपमा कुनै कामकाज गर्न पाउनेछैनन् भने सेवासुविधा पनि पाउनेछैनन्।
उनी विरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा तीन वटा कसूरमा मुद्दा दायर भएको थियो। उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाइएको छ। सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर गर्दा केही फरक नपर्ने भए पनि सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दर्ता भएपछि निलम्बनमा पर्ने कानूनी व्यवस्था छ।
उनी विरुद्ध मुद्दा दर्ता भएसँगै जिल्ला प्रहरी कार्यालय, कास्कीले प्रतिनिधि सभाका सभामुख घिमिरेलाई पुस ७ गते नै पत्र पठाएर जानकारी गराएको थियो। त्यस पत्रका आधारमा संसद् सचिवालयले सोमबार सूचना प्रकाशन गरेको हो।
उनी २०७९ सालको निर्वाचनमा चितवन-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनको सांसद पद गएको थियो। त्यसपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा उनी पुनः निर्वाचित भएका थिए।
उनी विरुद्ध मुद्दा दर्ता भएसँगै रास्वपाले पनि कार्यवाहक सभापति तोकेको छ। सोमबार बसेको रास्वपा सचिवालय बैठकले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो।
यो पनि पढ्नुहोस् : रवि लामिछानेको बयान : सहकारीको एक रुपैयाँ बराबर पनि मेरो पेटमा परेको छैन