चोरी गर्ने ३ भारतीयसहित ७ पक्राउ
प्रदेश १ को राजधानी विराटनगर महानगर भित्र सटरको ताला काटेर चोरी गर्ने समूहका ३ भारतीय सहित ७ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
सो समूहले गत साउनमा २ र भदौमा २ ठाउँबाट रु २० लाख भन्दा बढी नगद चोरेको थियो ।
मोरङ प्रहरीले बिहीबार चोरी गरेको सीसीटीभीको भिडियोसहित सातै जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार मधुवनी जिल्ला कटैया पञ्चायत १३ का धर्मेन्द्र कामत (३५), लक्ष्मण गुप्ता (३२), मधुवनी लदौत पञ्चायत ६ का मोहमद मोतिउर रहमान (४४) रहेका छन् ।
यस्तै अन्यमा रौतहट गौर नगरपालिका ३ पोखरिया टोलका मोहमद मोहिज धुनियाँ (४१), बलराम क्षेत्री (५०), सर्लाही ब्रम्हपुरी ४ का शेख मोहमद सलिफ (५२) र शेख अली असगर (४६) छन् ।
मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार सो समूहले गत १० भदौ मा बिहान साढे ३ बजे विराटनगर ७ स्थित मां भवानी इन्टरप्राइजेजबाट रु ६ लाख चोरेको थियो ।
यस्तै ९ भदौ मा बिहानीपख विराटनगर ७ स्थित कदमाहा कृषि सहकारीबाट रु ४ लाख ९५ हजार, २३ साउनमा विराटनगर २ शनिहाटको गणनायक मार्केटिङ हाउसबाट रु ४ लाख चोरी भएको थियो ।
सोही दिन शनिहाटकै पन्चकन्या टे«डलिंकबाट रु ५ लाख ९५ हजार चोरी भएको थियो । सीसीटीभीले रेकर्ड गरेको भारतीय नम्बरको जिप खोजी गर्ने क्रममा उनीहरूलाई मोरङको पथरीबाट ११ भदौमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
समूह बनाएर हिंड्ने उनीहरूले तन्नाले सटरलाई छोपेर कटर मेसिनले ताला काट्ने गरेको पाइएको छ । समूहका नाइके मधुवनी कटैया १३ कै मोहमद कलाम मिया भने फेला पर्न सकेका छैनन् ।
उनीहरूकै समूहमा रहेर विभिन्न ठाउँमा चोरी गर्दै हिंड्ने अन्य केही व्यक्ति रौतहटमा पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।