सय वर्षअघि बनेको सुरुङमार्ग सबैका लागि खुला
सय वर्षअघि मकवानपुर र बाराको सिमानामा निर्माण भएको सुरुङमार्ग सबैका लागि खुला गरिएको छ।
भूकम्पमा भत्किएको सुरुङमार्ग पुनर्निर्माण सकिएको १७ महीनापछि स्थानीय सरकारलाई हस्तान्तरण गरिएसँगै खुला गरिएको हो। बागमतीका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माण गरिएको सुरुङमार्गको उद्घाटन गरेका छन्।
बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले सोमबार हेटौंडा उपमहानगरलाई सुरुङमार्ग हस्तान्तरण गरेको छ। भौतिक पूर्वाधार मन्त्री अमन मास्केले हेटौंडा उपमहानगरकी मेयर मिनाकुमारी लामालाई चाबी हस्तान्तरण गरेका छन्।
हेटौंडा उपमहानगरपालिका-१५ मा पर्ने चुरियामाई सुरुङमार्गको पुनर्निर्माण २०८० साउन २२ मा सकिएको थियो। भूकम्पमा सुरुङमार्गको एउटा खण्डको करीब ४० मिटर भत्किएको थियो। त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको छ।
देशको राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई जोड्न चन्द्रशमशेर राणाको पालामा चुरियामाई सुरुङमार्ग बनेको थियो। यो सुरुङमार्गमा २०२० सालसम्म सवारी नै आवतजावत गर्थे। अहिले यसलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न लागिएको बागमतीका पूर्व मुख्यमन्त्री पौडेलले बताए। “यो सुरुङमार्ग पर्यटकीय र अध्ययन थलो हो,” पौडेलले भने “अवलोकन र पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना प्रदेश सरकारको थियो।”
चुरियामाई सुरुङमार्ग १९७४ सालमा बनेको थियो। ब्रिगेडियर जनरल डिल्लीजंग थापाले ५०० मिटर लम्बाइको सुरुङमार्ग डिजाइन गरेका थिए। चुरे पर्वतमा बनेको सुरुङमार्ग साढे दुई मिटर चौडाइ, तीन मिटर उचाइ र ५०० मिटर लम्बाइको थियो। जसको एकापट्टिको भाग पुरिएपछि करीब २८० मिटर मात्र बाँकी थियो।
माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको सुरुङमार्गबारे स्वीश भूगर्भविद् टोनी हागनले आफ्नो पुस्तक द हिमालयन किङ्डम अफ नेपालमा पनि चर्चा गरेका छन्।
राणाकालमा रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेल चल्थ्यो। त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न समस्या थियो। चुरे पर्वत फोरेर घुमाउरो बाटो बनाउनुको विकल्पमा सुरुङमार्ग बनाइएको थियो। यही सुरुङमार्ग हुँदै चल्ने गाडीले मकवानपुरको तत्कालीन सदरमुकाम भीमफेदीसम्म समान ओसार्थे। काठमाडौंसम्म जोडिने सडक नभएकाले भीमफेदीबाट भरिया लगाएर काठमाडौंसम्म सामान ओसारिन्थ्यो।
त्रिभुवन राजपथ बनाउँदा सुरुङमार्गको मध्यभागमा विस्फोट गराएर भत्काइएको थियो। त्यसपछि २०७२ सालको भूकम्पले अझै बढी क्षति गराएपछि सुरुङमार्ग बन्द थियो। प्रदेश सरकारले त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङमार्ग खुलाइएको हो।
पुरानो सुरुङमार्गको २० मिटर जति भाग धसिएको अनुमान गरी मर्मतका लागि डीपीआर निर्माण गरिएको थियो। तर मर्मत शुरू गरेपछि ४० मिटर भाग धसिएको पाइएको थियो। यसैगरी शुरूआतमा १९८ मिटर लम्बाइमा पुनर्निर्माण गर्नुपर्ने पूर्वानुमान भए पनि मर्मत गर्दै जाँदा २२२ मिटर पुगेको हो। तीन करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा माउन्टेन इन्फ्रा कन्स्ट्रक्शनले सुरुङमार्गको पुनर्निर्माण गरेको हो।
सय वर्ष पुरानो सुरुङमार्ग पुनर्निर्माणसँगै एक अर्को इतिहास जीवित भएको प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले बताए। जितपुर सिमरा उपमहानगरका मेयर राजन पौडेलले भारतीय सिमानाको नजिकै रहेकाले बाह्य पर्यटकलाई पनि भित्र्याउन सकिने बताए।
प्रवेश शुल्क ५० रुपैयाँ
हेटौंडा उपमहानगरले चुरियामाई सुरुङमार्गलाई पर्यटकीय स्थलका रूपमा सञ्चालन गर्न कार्यविधि निर्माण गरिसकेको छ। कार्यविधिमा सुरुङमार्ग अवलोकन गर्न आउने नेपालीलाई ५० रुपैयाँ र विदेशीलाई १२० रुपैयाँ शुल्क लाग्ने उल्लेख छ।
त्यस्तै, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ। पाँच वर्षमुनिका बालबालिका, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकले निःशुल्क अवलोकन गर्न पाउनेछन्।
चुरियामाई सुरुङमार्ग सञ्चालन कार्यविधि बनाएर उपमहानगरले पर्यटकीय स्थलका रूपमा विकसित गर्ने गरी अगाडि बढेको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले बताए।