एनपीएलमा साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा दुई युवक पक्राउ
नेपाल प्रिमियर लिग (एनपीएल)का दौरान साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
डोटीको आदर्श गाउँपालिका-२ का २१ वर्षीय अशोक साउद र दिपायल सिलगढी नगरपालिका-१ का १९ वर्षीय गणेश साउदलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। हाल अशोक कीर्तिपुरको पाँगामा र गणेश भाजंगलमा बस्दै आएका थिए।
पुस ६ गते जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भएको खेलपछि अपमानजनक शब्द सहित साम्प्रदायिक सद्भाव बिगार्न दुवै जना संलग्न रहेको प्रहरीको भनाइ छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको परिसरले जनाएको छ।
जनकपुर बोल्ट्सले एनपीएलको पहिलो उपाधि उचालेको थियो। मैदान परिसरमा मात्र होइन, सामाजिक सञ्जालमा समेत जनकपुर बोल्ट्सलाई साम्प्रदायिक द्वेष फैलाउने शब्द प्रयोग गरी गालीगलौज गरिएको थियो। यसबारे प्रहरीको साइबर ब्यूरोले छुट्टै अनुसन्धान गरिरहेको छ।
यो पनि पढ्नुहोस् : एनपीएलमा साम्प्रदायिक नारा : गृह प्रशासनको लापरबाहीले फैलिएको वितण्डा