ग्लोबल हाटबजार सञ्चालन
ग्लोबल आइएमई ब्यांक लिमिटेडले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्न ग्लोबल हाटबजार सञ्चालन गरेको छ।
‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ भन्ने नारा दिएर ब्यांकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीका उत्पादनलाई बजारसम्म पहुँच विस्तार गराउन काठमाडौंको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाट बजार सञ्चालन गर्न लागेको हो।
ब्यांकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हाट बजारको उद्घाटन गरेका छन्। दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका लघु, साना तथा मझौला उद्यमको बजारमा पहुँच विस्तार गर्नु हाट बजारको प्रमुख उद्देश्य रहेको रेग्मीले बताए।
हाट बजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरणका लागि सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गर्ने जनाइएको छ।
“यो हाम्रो सानो तथा सिम्बोलिक अभियान हो। यसैगरी, हाम्रा अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ,” रेग्मीले भने, “आफ्ना ऋणीले उत्पादन गरेका वस्तु खपत गर्ने तथा उत्पादनलाई प्रवर्द्धन गर्नु ब्यांकको पनि दायित्व हो।”