कुटपिटमा संलग्न व्यक्तिलाई फिर्ता पठाउन उपप्राध्यापक चलाउनेद्वारा दूतावासलाई अपील
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले आफूमाथि आक्रमण गर्ने व्यक्तिलाई नेपाल फिर्ता पठाउन माग गर्दै काठमाडौंस्थित अमेरिकी तथा अस्ट्रेलियाली दूतावासलाई अपील गरेका छन्।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सन र अस्ट्रेलियाली राजदूत लिन जोन्सटनलाई पत्र पठाएर आरोपितलाई फिर्ता ल्याउन अपील गरेका हुन्। आक्रमण गर्नेमध्ये हरिप्रसाद आचार्य अमेरिकामा र निरज रानामगर अस्ट्रेलियामा छन्।
पत्रमा चलाउनेले कानून, लोकतन्त्र र मानव अधिकारको दृष्टिकोणले एक आदर्श देश भएकाले उनीहरूको स्थिति पत्ता लगाएर नेपाल फिर्ता पठाउन आग्रह गरेका छन्। पत्रमा भनेका छन्, ‘यस घटनाको परिणामस्वरूप मैले केही शल्यक्रियाहरू गर्नुपर्यो र अझै पनि हिंड्न कठिनाइ भइरहेको छ। शारीरिक चोटपटकका साथै म गहिरो मानसिक आघात र निरन्तर मानसिक तनावबाट पीडित छु।’
राजनीतिक संरक्षण भएकाले उनीहरू जोगिंदै आएको चलाउनेले उल्लेख गरेका छन्। उनीहरूले त्रिभुवन विश्वविद्यालयमा ३४२ दिनसम्म तालाबन्दी गरेको समेत स्मरण गराएका छन्।
चार वर्षअघि विश्वविद्यालय परिसरभित्रै सात जनाको समूहले चलाउनेमाथि फलामे रड र बाँसका लट्ठीले आक्रमण गरेको थियो। गत वर्ष जिल्ला अदालत, काठमाडौंले उनीहरूलाई दुई वर्षको कैद सजाय सुनाएको थियो।