एनपीएलमा साम्प्रदायिक नारा : गृह प्रशासनको लापरबाहीले फैलिएको वितण्डा
प्रहरी प्रशासन चुस्त र संवेदनशील बनेको भए एनपीएलमा मधेशी समुदाय विरुद्ध द्वेष फैलाउनेहरू हौसिन पाउने थिएनन्।
त्रिभुवन विश्वविद्यालय परिसरको क्रिकेट मैदानमा चलेको नेपाल प्रिमियर लिग (एनपीएल)ले खेल क्षेत्रमा मात्र नभएर मुलुकको अन्य क्षेत्रमा पनि सकारात्मक ऊर्जा थपेर गएको छ। निराश नागरिक, सुस्त अर्थतन्त्र र युवा जोशलाई एनपीएलले एक हदसम्म चलायमान बनाएको विश्लेषण गरिएको छ।
एनपीएलको सफल संयोजनले नेपालमा विश्वस्तरीय घरेलु लिग प्रतिस्पर्धा सम्भव छ र त्यसलाई साथ दिन समर्थक हमेसा तयार छन् भन्ने सन्देश प्रवाह भएको छ। यसले चौतर्फी निराशाले घेरिएका खेलाडीलाई पनि आशा जगाएको छ।
तर यसले नमीठो छाप पनि छाडेर गएको छ। सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच भएको फाइनल खेलमा रोयल्सका समर्थकले मैदान परिसरमा नश्लीय र साम्प्रदायिक नारा लगाए, जनकपुर बोल्ट्सका केही समर्थकलाई हातपात नै गरे। सामाजिक सञ्जालमा पनि जनकपुर बोल्ट्सका समर्थक विरुद्ध गालीगलौज गरिएको छ। यसमा संलग्नलाई कारबाही गर्न मधेशी आयोगले पुस ७ मा प्रहरी प्रधान कार्यालयलाई पत्राचार नै गरेको छ।
कीर्तिपुर प्रहरी वृत्तमा पाँच जनाले आफू विरुद्ध नश्लीय र रंगभेदी आक्षेप लगाएर कुटपिट गरेको भन्दै जाहेरी दिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज अधिकारी बताउँछन्। विभिन्न अनलाइन तथा यूट्यूबमा एनपीएल लाइभ हुँदा जातीय, नश्लीय र रंगभेदी कमेन्ट फैलिएकाले त्यसबारे अनुसन्धान गर्न साइबर ब्यूरोलाई निर्देशन दिएको डीआईजी अधिकारीको भनाइ छ। डीआईजी अधिकारी भन्छन्, “जसरी विभेदकारी अभिव्यक्ति सहित घटना भयो, यो अत्यन्त संवेदनशील छ। यसलाई प्रहरीले गम्भीर रूपमा लिएको छ र त्यसै अनुसार कारबाही गर्न भनेका छौं।”
खेल लाइभ गर्दा नश्लीय र साम्प्रदायिक घृणा फैलाउने कमेन्टलाई ‘म्यूट’ गर्न कुनै प्रसारकले जरूरी ठानेनन्। जसले गर्दा घृणा फैलाउनेहरू झन हौसिएको देखिन्छ। यसले सिंगो मधेशी समुदायलाई अपमानित महसूस गराएको छ।
खास समुदायलाई लक्षित गरेर घृणायुक्त अभिव्यक्ति दिने काम केही दिनअघि नै शुरू भइसकेको थियो। पुस ४ गते भएको कर्णाली याक्स र जनकपुर बोल्ट्सको दोस्रो ‘क्वालिफायर’ खेल हुँदा नै यसको छनक मिलिसकेको थियो।
त्यसको भोलिपल्टै मधेशी आयोगले ‘एउटा उद्दण्ड र अराजक समूहद्वारा जनकपुर बोल्ट्स विरुद्ध नश्लीय, साम्प्रदायिक तथा रंगीयताको अभद्र रंग’ भर्न खोजेको भन्दै त्यस्तो कार्यमा संलग्नलाई तुरुन्त कारबाही गर्न भनेको थियो। आयोगले पुस ५ गते जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो समूहलाई कानूनी कारबाही गर्न गृह प्रशासनलाई पत्राचार समेत गरिएको जनाइएको थियो।
तर यस घटनालाई गृह प्रशासनले संवेदनशील रूपमा लिएन। रंगभेदी, साम्प्रदायिक र नश्लीय कार्य नगर्न गृह प्रशासनले एउटा अपीलसम्म जारी गरेन, जसले गर्दा त्यस्ता अभिव्यक्ति दिनेहरू भोलिपल्ट झनै हौसिए।
यसको परिणाम, साम्प्रदायिक घृणा फैलाउने कार्य अघिल्लो खेलको तुलनामा फाइनलमा झन् व्यापक भयो। डीआईजी अधिकारीका अनुसार पुस ६ गते कीर्तिपुर क्याम्पसको गेटमा भएको कुटपिटको मूल कारण क्रिकेटमा देखिएको रंगभेदी व्यवहारसँगै गाँसिएको छ।
शक्तिशाली व्यक्तिबारे नकारात्मक टिप्पणी गर्दा र लेख्नासाथ पक्राउ गर्ने प्रहरीले यो प्रकरणमा सक्रियता देखाएन। गएको भदौमा मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदारी गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध नाराबाजी गरिएको भिडिओ फेसबूकमा पोस्ट गरेको अभियोगमा साइबर ब्यूरोले दोलखाका मानबहादुर कार्कीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो।
प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री देउवा काठमाडौंको टुँडिखेलमा गौरा पर्वका दिन जाँदा नाराबाजी भएको थियो। त्यसअघि प्रधानमन्त्री ओलीलाई ‘भ्रष्टाचारी’ लेखेको आरोपमा साउन २३ गते बाजुराका रमेशबहादुर रावललाई पक्राउ गरेर साइबर अपराधको कसूरमा मुद्दा चलाइएको थियो। तर साम्प्रदायिक हिंसा फैलाउने गरी दिइएका अभिव्यक्तिप्रति कानून कार्यान्वयन गराउने निकाय समयमै सजग बनेको देखिएन।
आफ्नो भूगोलविशेषप्रति सहानूभूति, समर्थन हुनु स्वभाविक मानवीण गुण हो। तर यथार्थ के हो भने, जनकपुर बोल्ट्समा मधेश प्रदेशका खेलाडी मात्र थिएनन्। सुदूरपश्चिमका खेलाडी पनि थिए। वीरगन्जका क्रिकेटरद्वय आरिफ शेख र आसिफ शेख यसका अनुकरणीय उदाहरण हुन्। सहोदर शेख दाजुभाइ आरिफले सुदूरपश्चिम रोयल्सबाट खेले भने आसिफले जनकपुर बोल्ट्सबाट। खेलाडी अनुबन्धन गर्नुअघि भएको ‘अक्सन’ बाट कुन खेलाडी कुन टीमबाट खेल्छन् भन्ने टुंगो लाग्ने विषय हो।
खेलाडी मात्र होइन, यसका लगानीकर्ता पनि सोही क्षेत्रविशेषका व्यक्ति छैनन्। जस्तो- जनकपुर बोल्ट्सका लगानीकर्ता पहाडी मूलका उत्सव सिग्देल हुन्। एनपीएलको अर्को टोली काठमाडौं गुर्खाजमा कान्तिपुर मिडिया ग्रूपले लगानी गरेको हो। उक्त ग्रूपको लगानीकर्ता सिरोहिया परिवार हो। जसले नेपाली मारवाडी समुदायको प्रतिनिधित्व गर्छ।
यसो भन्नुको तात्पर्य मधेश प्रदेशको नामबाट अंकित टीममा पहाडी मूलकाले लगानी गर्न सक्छन्। कर्णाली प्रदेश वा सुदूरपश्चिम प्रदेशमा मधेश प्रदेशकाले लगानी गर्न स्वतन्त्र छन्। आफू जन्मेहुर्केको भूगोल जोडिएका समर्थकहरू सोही अनुरूप बाँडिनु स्वाभाविक भए पनि एनपीएल कुनै भूगोलविशेषको प्रतियोगिता होइन। तर केही समर्थकले मैदानमा साम्प्रदायिक र नश्लीय रंग प्रदर्शन गरिदिंदा एनपीएललाई असर पर्छ।
यति नकारात्मकताका बावजूद सकारात्मक पाटो के भने, अनलाइन टीभी, यूट्यूब लगायत सामाजिक सञ्जालमा पोखिएका नश्लीय र साम्प्रदायिक विषाक्त अभिव्यक्तिको विरोधमा पहाडी मूलकाले नै चर्को आवाज उठाएका छन्। यस्तो व्यवहारको खिलाफमा डटेर आफ्नो मत राख्नेहरूमा पहाडी समुदायको सक्रियता देखिएको छ। यसले सीमित व्यक्तिहरूमा गढेर बसेको साम्प्रदायिक सोचको आयु लामो छैन भन्ने सकारात्मक सन्देश पनि दिएको छ।
जातिभेद विरुद्ध कानूनी उपचार
समाजमा घृणा फैलाउने, हिंसा भड्काउने गरी भएका यस्ता गतिविधिलाई कानूनी कारबाहीको दायरामा ल्याउन जति ढिलाइ भयो यस्तो साम्प्रदायिक सोचले उति झाँगिने मौका पाउँछ। संविधानको मौलिक हकमै भेदभाव र छुवाछूत विरुद्धको हक सुनिश्चित गरिएको छ। कसैलाई पनि उसको उत्पत्ति, जात, जाति, समुदाय, व्यवसाय, पेशा, शारीरिक अवस्थाका आधारमा भेदभाव गर्न नपाइने संविधानमा उल्लेख छ। यसको उल्लंघन दण्डनीय हुन्छ।
मुलुकी अपराध संहितामा कुनै खाले भेदभाव गरेमा दण्डको व्यवस्था तोकिएको छ। जस अनुसार तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
भेदभाव विरुद्ध अर्को विशेष कानून समेत छ, जातीय तथा अन्य सामाजिक भेदभाव कसूर ऐन। यस ऐन अनुसार कसूरको प्रकृति हेरेर दण्ड तोकिएको छ। जस अनुसार न्यूनतम तीन महीनादेखि एक वर्षसम्म कैद र ५०० देखि पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। त्यस्तै, अधिकतम तीन महीनादेखि तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
खेल प्रतियोगितामा संसारभर रंगभेदी, विभेदपूर्ण व्यवहार देखिंदै आएको छ। सम्बन्धित क्लब, खेलका नियमनकारी निकायले त्यस विरुद्ध कानूनी कारबाहीको पैरवी गर्छन्। सम्बन्धित मुलुकको कानून अनुसार उनीहरू दण्डित हुन्छन्। जस्तो, अल जजीराका अनुसार स्पेनिश फूटबल क्लब रिअल म्याड्रिडका ब्राजिलियन खेलाडी भिनिसियस जुनियर र भिल्लारिअलका पूर्व खेलाडी स्यामुयल चुक्वेजलाई रंगभेदी व्यवहार गरेको आरोपमा मालोर्काका एक जना समर्थकलाई यही सेप्टेम्बरमा एक वर्ष कैद सजाय सुनाइएको थियो।
सन् २०२३ को फेब्रुअरीमा रिअल म्याड्रिड र मालोर्काबीच भएको ला लिगामा भिनिसियसलाई अपमानजनक नारा लगाइएको थियो। त्यसको दुई हप्तापछि तिनै समर्थकले भिल्लारिअलका नाइजेरियन खेलाडी स्यामुयललाई त्यस्तै व्यवहार गरेका थिए। स्पेनिश अदालतले ती समर्थकलाई कुनै पनि रंगशालामा तीन वर्ष प्रवेशमा रोक लगाउने फैसला सुनाएको थियो।
खेलाडी-खेलाडीबीच पनि रंगभेदी आरोप लाग्ने गरेको छ। सन् २०११ को अक्टोबरमा भएको म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच भएको खेलमा लिभरपुलका फरवार्ड लुइस सुआरेजले युनाइटेडका प्याट्रिस एभ्रालाई अपमान गरी ‘नेग्रो’ भनेका थिए। इङ्ल्यान्डको फूटबल संघले सुआरेजलाई ४० हजार पाउन्ड जरिवाना र आठ वटा खेल खेल्न प्रतिबन्ध लगाएको थियो।
खेलले मानिसलाई जोड्छ भन्ने विश्वास र मान्यता छ। राजनीतिक र वैचारिक रूपमा विभाजितहरूलाई समेत एकै ठाउँमा जोड्ने खेलका सीमित समर्थकका कारण कहिलेकाहीं यो मान्यता तोडिने जोखिम पनि हुने रहेछ भन्ने एनपीएलमा भएका गतिविधिले देखायो। त्यसैले विभाजित भावनालाई भड्किन नदिन पनि कानून कार्यान्वयनकारी निकायले द्वेष फैलाउनेलाई कारबाही गर्न ढिलाइ गर्नु हुँदैन।