रवि लामिछानेको बयान : सहकारीको एक रुपैयाँ बराबर पनि मेरो पेटमा परेको छैन
कम्पनी सञ्चालनमा आउँदा थुप्रै जाँचबुझ गर्ने सरकारी निकायहरूबाट स्वीकृत लिने, कर कट्टी गर्ने लगायतको चरण पार गरेको हुँदा उक्त कम्पनीमा आएको रकम अवैध हो भन्नेबारे तत्कालीन समयमा अविश्वास गर्नुपर्ने कुनै कारण थिएन। त्यसैले सम्पत्ति शुद्धीकरण कसूरमा मलाई कुनै किसिमको सजाय गर्न मिल्दैन।
मेरो नामबाट २०७७ असार ३१ गते सूर्यदर्शन सहकारीबाट एक करोड ऋण लिएको भन्ने कुरा संसदीय समितिमा बयान दिन जाँदाको क्रममा आधिकारिक रूपमा थाहा पाएको थिएँ। सहकारीबाट रकम लिने कार्यमा म कुनै पनि किसिमबाट संलग्न नरहेको र सहकारीको रकम मैले उपभोग समेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन।
सहकारी संस्थाबाट मैले ऋण लिएको भए ऋण तथा ब्याज तिर्नका लागि पत्र तथा ताकेता आउनुपर्ने थियो। गैरकानूनी ढंगबाट ऋण लिइएको मलाई जानकारी छैन। मलाई जानकारी भएको खण्डमा यिनीहरूको कर्तुत बाहिर आउने डर समेत राखी योजनाबद्ध र गोप्य रूपमा गैरकानूनी तरीकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत ‘क्यापिटलाइज’ गरिएको रहेछ भन्ने उल्लेख गरेको छ।
रवि लामिछानेको नाउँमा सहकारीको कम्प्युटर लेखा प्रणाली सिस्टममा अभिलेखीकरण गरिएको र रवि लामिछानेको नाम उल्लेख भई खोलिएको बचत र ऋण खाता मेरो उपस्थिति, मन्जुरी र जानकारीमा खोलेको अवस्था नभएको तथा उक्त खाता खोल्दा कम्प्युटर प्रणालीमा पूर्ण विवरण समेत भरेको नपाइएको हुँदा सो खाता म रवि लामिछानेको हुने कुरै भएन। म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन। उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त छैन/थिएन।
गोर्खा मिडियामा प्रबन्ध निर्देशकको आधिकारिक जिम्मेवारी २०७७ पुस २५ को निर्णय बमोजिम २०७७ पुस ३० गते नियुक्तिपत्र सहित दिइएको थियो। गोर्खा मिडिया नेटवर्कको कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राई समेतले मलाई टेलिभिजनमा लैजाँदै गर्दा १५ प्रतिशत स्वेट शेयर, आकर्षक एड्भान्स र तलब सहितको सेवासुविधा दिने भनी विश्वास दिलाई सहमति र सम्झौता समेत गरी लैजानुभएको कारण कम्पनीका सञ्चालकहरू गितेन्द्रबाबु राई र छविलाल जोशीले शेयर बाँडफाँडको कार्य गर्दै रहँदा सहमति र सम्झौता अनुसार मलाई २०७७ चैतदेखि १५ प्रतिशत शेयर सदस्यमा समेत राख्नुभएको हो।
उक्त कम्पनीमा २०७९ असार १ गतेसम्म रही मलाई कम्पनीबाट उपलब्ध गराइएको निःशुल्क शेयरलाई कुनै पनि पैसा नलिईकन जस्ताको तस्तै कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईलाई फिर्ता गरी कम्पनी रजिस्ट्रारको कार्यालयबाट आधिकारिक रूपमा शेयर सदस्यबाट र कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईको सल्लाह बमोजिम नै टेलिभिजनबाट प्रबन्ध निर्देशकको जिम्मेवारीबाट समेत राजीनामा दिएर अलग भएको हुँ। म सार्वजनिक जीवन बाँचेको मानिस हुँ, मेरा ससाना कुरा त लुक्दैनन् भने यति ठूलो कुरा कसरी लुक्न सक्छ?
सहकारीमा मेरो कुनै पनि किसिमको संलग्नता थिएन र छैन। त्यसैले सहकारीबाट रकम गोर्खा मिडियामा लगिएको भन्ने विषय मेरो जानकारीमा रहने कुरा थिएन र छैन। कम्पनीको आधिकारिक लेखा परीक्षण प्रतिवेदनले भन्छ- मेरो कार्यकालमा कम्पनीमा आएको रकमको स्रोत कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईले उपलब्ध गराएको निर्ब्याजी शर्ट टर्म लोन हो। न गुनासो, न समाचार, न उजुरी, न मुद्दा, न लुकाएर खोलिएको कम्पनी यस्तो अवस्थामा सहकारीको रकम आएको भन्ने कुरा विश्वास गर्ने वा आशंका गर्ने कुनै आधार र कारण देखिंदैनथ्यो। गोर्खा मिडियामा ल्याउने कुरामा मेरो व्यक्तिगत र संस्थागत संलग्नता नभएको भनिसकेपछि म निर्दोष रहेको यसैबाट प्रमाणित हुन्छ।
मैले ग्यालेक्सी टेलिभिजनको आफ्नो कार्यक्रमको पहिलो शृंखलामा भनेको थिएँ, “आज वाचा गर्छु कि ग्यालेक्सी फोरकेका कुनै पनि पत्रकारलाई कुनै पनि किसिमको सम्पादकीय हस्तक्षेप हुनेछैन। मैले बोक्नुपर्ने वा ठोक्नुपर्ने कोही कोही पनि छैनन्। जनता बाहेक कसैलाई रिझाउनु छैन। यस टेलिभिजनका सञ्चालककै विषयमा पनि छाती ठोकेर रिपोर्टिङ गर्न हाम्रा सबै पत्रकारहरू सदासर्वदा स्वतन्त्र छन्। देशका अन्य सञ्चारमाध्यमले पनि रिपोर्टिङ गरे, त्यसको जवाफ दिन यसका सञ्चालकहरूलाई हात समातेर आफैं लिएर आउँछु, बहसमा सहभागी गराउँछु। गलत प्रमाणित भए एक मिनेटभित्र कि उहाँहरू ग्यालेक्सीमा रहनुहुन्न कि म रहन्नँ।”
टेलिभिजन स्थापना हुँदा पाँच करोडको पूँजी रहेकामा टेलिभिजनका लागि आवश्यक पर्ने ऋण ब्यांकबाट लिने भन्ने विषयमा कुरा हुँदा गितेन्द्रबाबु राई र छविलाल जोशीले पूँजीवृद्धि गरी १२ करोड गराउनुभएको भन्ने मेरो बुझाइ छ। पाँच करोड पूँजी हुँदाकै अवस्थामा मलाई गितेन्द्रबाबु राईले ७५ लाख निजको व्यक्तिगत ब्यांक खाता मार्फत मेरो खातामा जम्मा गराई उपलब्ध गराएकामा मैले सो रकम मेरो ग्लोबल आइएमई ब्यांकको खाताबाट गोर्खा मिडियाको ग्लोबल आइएमई ब्यांकमा जम्मा गरी १५ प्रतिशतको शेयर सदस्य भएको हुँ।
यो रकम मलाई १५ प्रतिशत शेयर दिने सहमति बमोजिम सोही प्रयोजनमा हिसाब मिलाउने उद्देश्य मात्रले मलाई प्राप्त भएको हो। मेरो लगानी होइन। पछि पूँजीवृद्धि गरी १२ करोड बनाइएपछि मेरो भागमा परेको शेयर बापतको रकम एक करोड ८० लाख रुपैयाँ निज गितेन्द्रले केकसरी व्यवस्थापन गरी मिलाएका थिए?
सुप्रिम बचत तथा ऋण सहकारी संस्था, बुटवलमा रवि लामिछानेको नाममा २०७७ चैत १८ मा दुई करोडको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका नाममा ग्लोबल आइएमई ब्यांकको खातामा सोहीमा उक्त रकममध्ये एक करोड ९६ लाख रकम राेशनी गुरुङको नामबाट जम्मा भएको रकम सम्बन्धमा गितेन्द्रबाबु राईले प्रतिबद्धता गरेको रकम उनले केकसरी मिलाए, त्यसको थाहा/जानकारी थिएन।
गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई ब्यांकको ००४००१००००५७७ नम्बरको खाता टेलिभिजन सञ्चालन प्रयोजनार्थ र समझदारी बमोजिम म न्यूज २४ टीभी छाडेपश्चात् खाता खोल्दा भरिएको केवाईसीमा भएको दस्तखत नमूना, तस्वीर समेत देखाउँदा हेरी चिनें। उक्त दस्तखत मेरो हो।
गोर्खा मिडिया स्थापना गरी सञ्चालनका लागि सम्पूर्ण आर्थिक रकम ल्याई लगानी गर्ने जिम्मेवारी कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईको रहेकाले उहाँले गोर्खा मिडिया प्राइभेट लिमिटेडको ग्लोबल आइएमई ब्यांकमा रहेको उक्त खातामा जम्मा गराउनुभएको सो रकम केकसरी कहाँबाट ल्याउनुभएको हो, मलाई थाहा थिएन। म उक्त कम्पनीमा रहँदाको अवधिमा खातामा निजले जम्मा गराएको रकम निजले जग्गा बिक्री गरी ल्याएको भन्ने सुनेको हुँ। थप रकम नेचर हर्ब्स, नेचर नेस्ट जस्ता कम्पनी सञ्चालन गरेर नाफा रकम भित्र्याएको, व्यक्तिगत तवरबाट कम्पनीमा लगानी गरेको भन्ने कम्पनीको वार्षिक लेखापरीक्षण प्रतिवेदनका क्रममा निजले लगानीको स्रोत देखाउँदा थाहा पाएको थिएँ। त्यही प्रमाणित दस्तावेजमा यही तथ्य बुझी मैले लेखापरीक्षण प्रतिवेदनमा हस्ताक्षर गरेको हुँ।
ब्यांकमा खाता खोल्ने क्रममा ब्यांकिङ प्रचलन अनुसार गर्ने र खातामा जम्मा भएको रकम मुद्रा निर्मलीकरण गरी लागूपदार्थको कारोबार, मानव बेचबिखन र संगठित अपराध लगायत अवैध स्रोतबाट आर्जन भएको होइन भन्ने घोषणा गरी/गराई दस्तखत गराइन्छ। सोही अनुसार म समेतले उक्त खाता खोल्दा ती नियमहरू पालना गर्ने प्रतिबद्धता व्यक्त गरी दस्तखत गरिएको थियो। मैले व्यक्तिगत रूपमा उक्त खातामा कुनै पनि किसिमको अवैध कारोबार गरेको थिइनँ/छैन। गितेन्द्रबाबु राईले सहकारीबाट उक्त खातामा रकम जम्मा गराएको भन्ने कुरा तत्कालीन समयमा र कम्पनी छोडेको लामो समयसम्म पनि मलाई थाहा/जानकारी नभएको हुँदा यस कसूरमा मेरो संलग्नता हुने कुरा रहँदैन।
सहकारीको बचत रकम ल्याउने, राख्ने, चलाउने लगायत कार्य गर्न सम्बन्धित सहकारीको सदस्य हुनुपर्ने हुन्छ, तर म कुनै पनि सहकारी संस्थाको सदस्य नभएकाले यसमा मेरो संलग्नता पुष्टि हुने कुरा पनि छैन। सहकारीबाट के-कुन तवरबाट रकम ल्याइएको थियो, यो कुरा गितेन्द्रबाबु राईलाई थाहा हुनुपर्छ, किनभने निज सूर्यदर्शन सहकारीको पूर्व अध्यक्ष र सञ्चालक रहेको कुरा थाहा भएकाले यसको सम्पूर्ण जिम्मेवारी निजकै र अरू कोही छन् भने तिनीहरूको समेत रहन्छ। सहकारीको बचत रकम हानिनोक्सानी पुर्याउने र हिनामिना एवं अपचलन गर्ने कार्य मबाट भएको होइन।
गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको नाममा ग्लोबल आइएमई ब्यांकमा रहेको खातामा २०७७ माघ ८ मा ७५ लाख जम्मा रकम गितेन्द्रबाबु राईबाट सम्झौता र समझदारी बमोजिम मेरो १५ प्रतिशत स्वेट इक्विटीका लागि लिइएको हो। उक्त रकम छोटो समयमा नै गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको ब्यांक खातामा जम्मा गरेको हुँ। कम्पनी ऐन, २०६३ को दफा १८ को दफा २ बमोजिम संस्थापक वा अन्य कुनै व्यक्तिले नगद बाहेक अन्य कुनै किसिमबाट शेयर खरीद गर्ने वा शेयर हक पाउने भए सो कुरा, कम्पनीको कारोबार शुरू हुँदाका बखत संस्थापक वा कुनै व्यक्तिबाट कुनै किसिमसँग कुनै सम्पत्ति प्राप्त गर्ने भए सो कुरा र संस्थापक वा अन्य कुनै व्यक्तिले कम्पनीबाट कुनै विशेष सहुलियत वा अधिकार पाउने भए सो कुरा प्रबन्धपत्रमा उल्लेख गरेको हुनुपर्नेछ भन्ने कानूनमा स्पष्ट व्यवस्था रहेकोमा स्वेट इक्विटी एउटा समझदारीको आधारमा तय गरिएको हो। यस सम्बन्धी कानूनी अस्पष्टता र जटिलताका कारण प्रबन्धपत्र नियमावलीमा उल्लेख नभएको हुन सक्छ।
२०७९ असार २ गते कम्पनी रजिस्ट्रार कार्यालयबाट प्राप्त भएको शेयर बिक्री लिखतमा गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको नाममा रहेको शेयर बापतको रकम एक करोड ८० लाख बुझिलिएको सम्बन्धमा भने पाँच करोड शेयर पूँजी हुँदा नि:शुल्क रूपमा १५ प्रतिशत शेयरका लागि ७५ लाख रुपैयाँ उहाँले नै मेरो ब्यांक खातामा उपलब्ध गराउनुभएको हो। पछि कम्पनीको शेयर पूँजी १२ करोड बनाउँदाका क्रममा सोही ७५ लाखको शेयर रकमको भ्यालू बढेर एक करोड ८० लाख पुगेकामा सोही रकम मेरो ग्लोबल आइएमई ब्यांकको खातामा चेक जम्मा (डिपोजिट) गराए पनि सो चेकमा लेखिएको रकम खातामा नभएको कारण तत्कालै उक्त रकम मेरो खाताबाट रिभर्स भएको शेयर खरिदबिक्री गर्दा म र गितेन्द्रबाबु राईबीच २०७९ जेठ ३१ गते भएको लिखत कागजको सहीछाप देखाउँदा हेरी पाएँ, सहीछाप मेरो हो।
गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका नाममा सिद्धार्थ ब्यांकमा रहेको खाता नं. ००११५९७८०९७ को कारोबार विवरणहरूमध्ये २०७७ असोज ११ गतेमा ३५ लाखको रकम गोर्खा मिडिया नेटवर्क अन्तर्गतको ग्यालेक्सी फोरके टीभीका उपकरणहरू अर्डर भएको तर आइनसकेको अवस्थामा आवश्यक इक्विपमेन्ट, जनशक्ति लगायत कन्सल्टेन्सी टीभी फिल्मीले उपलब्ध गराएको कारण पेश्की स्वरूप गोपीकृष्ण मुभिजका तत्कालीन अध्यक्ष निकिता पौडेललाई उपलब्ध गराइएको रकम हुनुपर्छ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट बचत रकमलाई निर्मलीकरण गरी गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको खातामा जम्मा गर्नका लागि नाम उल्लेख भएका व्यक्तिहरूमध्ये विपिनकुमार आचार्य गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको तत्कालीन अवस्थाको क्रिएटिभ डाइरेक्टरका रूपमा कार्यरत कर्मचारी हुन्। साथै, उनी सम्बद्ध कम्पनी नोबडी प्रोडक्शन प्राइभेट कम्पनी लिमिटेडसँग गोर्खा मिडिया नेटवर्कले विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शोहरू खरीद गरी प्रसारण गर्ने सम्झौता समेत गरेको थियो। उनीसँग गोर्खा मिडिया नेटवर्कले गरेको कारोबार सम्झौता बमोजिम नै गरेको हुनुपर्छ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी, संसदीय विशेष छानबिन प्रतिवेदन, २०८१ मा गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको खातामा सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट २२ करोड ४६ लाख ३० हजार जम्मा भएको रकम समेतको सम्बन्धमा कसूर गर्नेहरूले मलाई गुमराहमा राख्ने अनेकौं प्रपञ्च गरेको कुरा उनीहरूले गरेको ऋण मिलान, कीर्ते हस्ताक्षर, तथ्यांक प्रविष्टि जस्ता कार्यहरूले प्रमाण सहित बोलेका छन्। यसर्थ यो वा यस्तो कार्यमा मेरो सहभागिता छैन भन्ने कुरा छर्लंग छ।
गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको कामकारबाहीका सिलसिलामा आफ्नो कार्यकालमा गरिएका खर्चहरूबारे म जवाफदेह हुनुपर्छ। कम्पनीबाट जति पनि रकम खर्च गरिएको छ, सबै रकम कम्पनीको प्रबन्धपत्र नियमावलीलाई टेकेर कम्पनीको बोर्ड बैठक लगायत सञ्चालकहरूको बैठकबाट पारित गरेर र आवश्यकता अनुसार कार्यकारी अध्यक्षको अनुमति र निर्देशनमा मात्र खर्च भएको छ।
गोर्खा मिडियामा आएको लगानी सहकारीबाट आएको भन्ने कुनै आधार, प्रमाणहरू तत्कालीन अवस्थामा थिएनन्। यसर्थमा पनि टेलिभिजन सञ्चालनका क्रममा गैरकानूनी कार्यबाट आर्जित भन्ने आधार, कारण, प्रमाण नभएको अवस्थामा यसले विशुद्ध रूपमा आफ्नो कार्यक्रमको गुणस्तर देखाई आर्जित गरेको रकमलाई अन्यथा भन्न मिल्दैन। कम्पनीका लागि ऋण लिने प्रक्रियाका लागि म एक पटक नेपाल ब्यांकमा पुगेकोसम्म हो। कम्पनीको कार्यकारी अध्यक्षले आफ्नो उपस्थिति नजनाएपछि सो कार्यलाई स्थगन गरिएको अवस्था थियो। तत्पश्चात् ब्यांक तथा वित्तीय संस्थाबाट ऋण लिने कुनै कार्य म कम्पनीमा रहँदासम्म भए/गरेको छैन।
सहकारीको रकम अपचलन गर्नमा मेरो कुनै किसिमको मिलेमतो/संलग्नता रहेको छैन। उल्लिखित ऐन कसूर गर्नेहरूका लागि आकर्षित हुन्छ। सहकारीको रकम मेरो पेटमा एक रुपैयाँ बराबर पनि परेको छैन। सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा संसदीय छानबिन विशेष समितिले पेश गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भइसकेको अवस्था छ। म यी कसूरमा कहींकतै, कुनै पनि तवरबाट संलग्न छैन/थिइनँ। गोर्खा मिडिया नेटवर्कमा म कर्मचारीका रूपमा मात्र प्रवेश गरी लगानीकर्ताले सित्तैमा उपलब्ध गराएको १५ प्रतिशत शेयर प्राप्त गरी आफ्नो पदीय हैसियत र गोर्खा मिडियाले उपलब्ध गराएको सेवा, सुविधा र तलबमा मात्र आफ्नो जिम्मेवारी अनुसारको काम गरेको हुँ।
पैसा यसका सञ्चालकहरूबाट आयो, राज्यको निकायलाई कर तिरेका हुन्छन्, लेखापरीक्षण सबै बुझाएका हुन्छन् भन्ने कुरा पनि बुझाइराख्नु? मैले पैसा लगाएर पार्टनरशिप लिएको होइन। मैले काम गरेबापत थोरै शेयर र पैसा लिएँ। लिएको त्यही पैसा मेरो शेयर भयो।
ग्यालेक्सी टीभी उच्च प्रविधिका साथ खुल्दै गरेको सार्वजनिक गरिएसँगै म यसको सञ्चालक हुने कुरा समेत सार्वजनिक भएको थियो। त्यस अवस्थामा ग्यालेक्सी टेलिभिजन सम्बद्ध अन्य सञ्चालकबारे आममानिसलाई धेरै थाहा थिएन। त्यसैले मलाई लक्षित गरी मैले नै लगानी गरेर टेलिभिजन खुलेको पो हो कि भनेर एक चिरपरिचित सञ्चारकर्मीका हिसाबले टेलिभिजन खोल्ने पैसा कहाँबाट आयो भनी मलाई प्रश्नहरू सोधिन्थ्यो। तिनै प्रश्न र जिज्ञासालाई पहिलो कार्यक्रम मार्फत जानकारी दिने उद्देश्यले मैले स्पष्ट पार्दै भनेको हुँ कि यसको लगानीकर्ता म होइन, मैले त आफ्नो लोकप्रियता र मिहिनेतलाई शेयर मानी काम गरेको हुँ, टेलिभिजन खोल्ने पैसा यसका सञ्चालकहरूले ल्याएका हुन्।
लेखापरीक्षण प्रतिवेदनमा पनि सहकारीसँग ऋण लिएको कतै उल्लेख छैन। नयाँ कम्पनीमा कैयौं व्यक्ति, भेन्डर, वित्तीय संस्थाहरूलाई उनीहरूसँग गरिएको सम्झौता एवम् कार्यकारी अध्यक्ष तथा लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशनमा अनगिन्ती चेकहरू मार्फत भुक्तानी गएको थियो। हरेक भुक्तानीको प्रक्रिया लगानीकर्ता गितेन्द्रबाबु राईले आफ्नो नियन्त्रणमा राखी तह तहमा भेरिफाई (क्लियरिङ) गरी चेक जारी वा हस्ताक्षर गराउँथे। हरेक चेकहरूसँग ती चेकहरू दिनुपर्ने कारण सहितको सपोर्टिङ डकुमेन्ट, बिल, भौचर हुन्थे अथवा त्यस्तो नभएको अवस्थामा कार्यकारी अध्यक्षको निर्देशनबाट पनि चेकहरू दिइने प्रचलन हुन्थ्यो।
त्यसमाथि मेरो कार्यकालमा उल्लिखित सहकारीहरूबाट कुनै ऋण लिने निर्णय भएको छैन, सहकारीबाट रकम ल्याउने विषयमा मलाई औपचारिक वा अनौपचारिक रूपमा सञ्चालक कोही कसैले कुनै पनि तवरबाट जानकारी वा सूचना गराइएको छैन/थिएन। त्यसैले सहकारीलाई नै गोर्खा मिडियाले चेक दिंदा पनि कुनै ऋणको सावाँ, ब्याज वा किस्ता हो भन्ने बुझ्नुपर्ने एउटा पनि आधार र कारण थिएन। कुनै सहकारीबाट ऋण तिर्नु भन्ने कुनै सूचना, जानकारी, पत्र लगायतको कुनै ताकेता भएको अवस्था समेत थिएन।
मलाई लाग्छ, प्रस्तुत चेकहरू या त मैले माथि उल्लेख गरे जस्तै मैले विश्वासमा हस्ताक्षर गरेर छोडेका खाली चेकहरूको दुरुपयोग हो, या त लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशन बमोजिम मेरो जानकारी विना मलाई समेत झुक्यानमा पारी वा पहिला मलाई चेकमा दस्तखत गराई पछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा राख्ने कार्य गरेका चेकहरू हुन सक्छन्।
कम्पनीमा कामको चाप र उपत्यका बाहिरको यात्रा गर्नुपर्दाका क्रममा कम्पनीको काम नरोकियोस् भन्ने उद्देश्यले मैले कतिपय अवस्थामा कम्पनीका सञ्चालक समेतको निर्देशनमा विश्वास गरी खाली चेकमा समेत दस्तखत गरेर छाड्ने गरेको थिएँ। ती चेकहरूको दुरुपयोग गरी कम्पनीले सहकारी संस्थाको ब्यांक खाता लगायतमा चेक जम्मा गरेको भए मलाई थाहा हुने विषय थिएन। तर गोर्खा मिडियाले कुनै पनि सहकारी संस्था, व्यक्ति र कम्पनीसँग ऋण लिने भनी सम्झौता तथा बोर्ड निर्णय नगरेकाले उपरोक्त भुक्तानीहरू मेरो जानकारीमा रहेसम्म कुनै ऋणको किस्ता, सावाँ वा ब्याज होइनन्।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन, २०८१ को सम्बन्धमा गोर्खा मिडियाको वार्षिक लेखापरीक्षण प्रतिवेदनमा समेत सहकारीबाट ऋण लिएको विषय कहींकतै कुनै पनि तवरबाट उल्लेख छैन/थिएन। त्यसैले गोर्खा मिडियाबाट मेरो स्पष्ट जानकारी बेगर भए/गरेका भुक्तानीहरू कुनै ऋण बापतको भुक्तानी भन्ने कुनै आधार-कारण देखिंदैन। मैले उल्लिखित सहकारीहरूबाट ऋण लिएको छैन।
इलाका प्रहरी कार्यालय, बुटवलबाट प्राप्त भएको जीबी ग्रूप अफ कम्पनी लिमिटेडबाट बरामद भएका कागजातहरूमध्ये सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड समेतबाट गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा गएको रकमको सम्बधमा जीबी ग्रूप अफ कम्पनीज प्राइभेट लिमिटेडमा केकस्ता विवरणहरू, केकस्ता आधारबाट राखिन्छन् भन्नेबारे मलाई जानकारी भएन। उक्त कम्पनीको कुनै पनि आधिकारिक वा अन्य जिम्मेवारीमा नभएका कारणले यसबारे म अनभिज्ञ छु।
त्यस्तै, सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनले यस्तो अन्यायपूर्ण परिस्थितिको कल्पना गरेको छैन। कम्पनी सञ्चालनमा आउँदा थुप्रै जाँचबुझ गर्ने सरकारी निकायहरूबाट स्वीकृति लिने, कर कट्टी गर्ने लगायत चरण पार गरेको हुँदा उक्त कम्पनीमा आएको रकम अवैध हो भन्ने कुराका बारेमा तत्कालीन समयमा अविश्वास गर्नुपर्ने कुनै कारण थिएन। त्यसैले सम्पत्ति शुद्धीकरण कसूरमा मलाई कुनै किसिमको सजाय गर्न मिल्दैन।
(रवि लामिछाने सहित ४४ व्यक्ति र कम्पनी विरुद्ध जिल्ला अदालत, कास्कीमा दर्ता भएको अभियोगपत्रबाट।)