महिलाले आत्मदाह प्रयास गरेको घटना के हो?
घरजग्गा लिलाम भएपछि वीरगन्ज महानगरपालिका-११ की बबिता सर्राफले दुई छोरी सहित आत्मदाहको प्रयास गरेकी छन्।
गत मंसीर २९ गते फेसबूकमा एक महिलाले पेट्रोल छर्केर दुई बालिका सहित आत्मदाह गर्न लागेको भिडिओ सार्वजनिक भयो। प्रहरी र स्थानीयवासीले उनलाई आत्मदाह गर्नबाट रोके। उद्धारपछि ती महिला बिलौना गरिरहेकी थिइन्, “मेरो कुनै सहारा छैन। यी दुई छोरी लिएर कहाँ जाऊँ?”
यो घटना हो, वीरगन्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटको। भिडिओमा देखिएकी महिला हुन् बबिता सर्राफ (३२) र उनीसँगै देखिएका दुई बालिका उनका ११ र ८ वर्षीया छोरी हुन्।
यो आत्मदाह पछाडिको घटना के हो?
यसमा ब्यांकबाट लिएको ऋण जोडिएको छ।
बबिताका श्रीमान् राजु साह सोनारले सुन पसल चलाउन भनेर व्यवसाय कर्जाका रूपमा २०७७ सालमा लुम्बिनी विकास ब्यांकको शाखा कार्यालय पोखरियाबाट ३७ लाख रुपैयाँ ऋण लिएका थिए। राजुको नाममा रहेको साविकको वडा नम्बर १४ मा १० धुरभन्दा बढी जग्गामा रहेको डेढ तले घर र साविकको वडा नम्बर ५ मा रहेको ४ कट्ठा खेत धितो राखेर १६ प्रतिशत ब्याजदरमा व्यवसाय कर्जा लिएका थिए।
ऋण लिने विषयमा बबिताको भने सहमति थिएन। आम्दानीको बलियो स्रोत नभएकाले सर्वस्व धितो राखेर ऋण लिन नहुने अडानमा थिइन्। उनी निजी विद्यालयकी जुनियर शिक्षिका थिइन्। तर श्रीमान्को जोडबलका सामु उनको प्रतिवादले काम गरेन्।
ब्यांकको नियम अनुसार हरेक तीन महीनामा ब्याज तिर्नुपर्थ्यो। ऋण लिएको दुई वर्षसम्म त राजुले ब्याज नियमित तिरे। त्यसपछि तिर्न सकेनन्। रानीघाटमै रहेको काव्या ज्वेलर्स आफ्नो भएको भन्दै त्यो सञ्चालनका लागि उनले व्यवसाय कर्जा लिएका थिए। तर बबिताका अनुसार गहना पसल उनीहरूको नभई अर्कै व्यक्तिको हो। ऋण लिनकै लागि श्रीमान्ले आफू ज्वेलर्सको प्रोप्राइटर रहेको कागजात मिलाएर पैसा निकालेको उनी बताउँछिन्। उनका अनुसार ऋण निकालेको पैसा श्रीमान्ले पुरानो कर्जा तिरेर सकेका थिए।
ऋण लिने विषयमा श्रीमान्-श्रीमतीबीच विमति रहेका कारण यही कुराले दम्पतीबीच कलह हुन थाल्यो। विवाद बढ्दै गएपछि दुई वर्षअघि राजु घर छोडेर हिँडें। परिवारसँग सम्पर्कविहीन भएर बसे।
बबिताको शिक्षण पेशाको कमाइबाट दुई छोरीलाई पढाउन र घरखर्च टार्न जेनतेन पुग्थ्यो। उनले ऋण तिर्न सक्ने कुरै थिएन।
ब्यांकसँग राजु सम्पर्कमा थिए। बाहिरी कारोबार र व्यवहारबारे उनी नै जानकार थिए। उनी नै घरबाट हिंडेपछि ब्यांकिङ प्रक्रियाबारे बबिता बेखबर रहिन्। लामो समय ऋण नतिरेपछि धितोमा राखिएको घर र जग्गा लिलामीको प्रक्रिया ब्यांकले अगाडि बढाइसकेको रहेछ।
“ब्यांकले त लिलामी गर्ने सूचना र लिलामीको बोलपत्र प्रकाशन गरेछ, लिलाम भएर घरजग्गा अर्कैको नाममा पास पनि भइसकेछ,” बबिता भन्छिन्, “नयाँ घरधनीले ठाउँ खाली गरिदिनू भनेपछि मात्र थाहा पाएँ।”
त्यति हुँदा पनि उनलाई घरबाट उठिबास नै लाग्नुपर्ला भन्ने लागेको थिएन। लिलामी लगायत कुरामा बेखबर रहेकाले सबै घटनाक्रम उनलाई सपना जस्तो लागिरहेको थियो।
घरजग्गा अरूको नाममा पास भएको थाहा पाएपछि उनी मंसीर २८ गते वीरगन्ज महानगरपालिकाको कार्यालय गइन्। उनी नभएको वेला वडाका प्रतिनिधि सहित लिलामी सकार गरिएको व्यक्ति घरमा गएर मुचुल्का उठाई ताल्चा लगाइदिए। त्यो दिन दुई छोरी सहित नजीकैको माइती गएर बसिन्।
भोलिपल्ट ताल्चा फुटाउने गरी बबिता घरमा पुगिन्। त्यहाँ नयाँ घरधनीका पाँच-सात जना थिए। उनले आफ्नो घरमा बस्न दिन भनिन्। “तर उनीहरूले अब हाम्रो सम्पत्ति भइसक्यो, तपाईंको केही कुरा भए लुम्बिनी विकास ब्यांकमा गएर गर्नुस् भने,” उनी हिमालखबरसँग भन्छिन्।
उनले घरमा बस्न नपाए आत्मदाह गर्ने भनेर साथमा पेट्रोल पनि लगेकी थिइन्। घरबार गुमेपछि त्यहीं पेट्रोल छर्केर आत्मदाहको प्रयास गरिन्। तर स्थानीय र प्रहरीले रोकेर बचाए। “मैले एक एक दु:ख गरेर बनाएको सम्पत्ति नै नभएपछि बाँच्न मन लागेन,” बबिता भन्छिन्, “श्रीमान्बाट धोका पाएँ, ब्यांकले अन्याय गर्यो। यो स्थितिमा दुई छोरीलाई लिएर कहाँ जाऊँ भनेर मर्छु भन्ने लाग्यो।”
‘ब्यांकले खबर नै गरेन’
दुई वर्षअघि घर छाडेर परिवारसँग सम्पर्क नगरी बसेका राजु साह सोनारसँग हामीले फोन सम्पर्क गरेर घटनाबारे सोध्यौं।
राजुका अनुसार समयमा ऋण तिर्न नसकेपछि लुम्बिनी विकास ब्यांकले जतिसक्दो छिटो तिर्नू भनेर सचेत गराएको थियो। लिलामी प्रक्रिया शुरू हुने थाहा पाएपछि आफू ब्यांकको केन्द्रीय कार्यालयमै गएको उनी बताउँछन्।
“सात-आठ महीनाअघि ब्यांकको केन्द्रीय कार्यालयमा गएर ऋण बिस्तारै तिर्दै जान्छु भनेर कागज गरेको थिएँ,” राजु भन्छन्, “तर धितोमा रहेको घरजग्गा लिलाम सम्बन्धमा ब्यांकको पोखरिया शाखा र केन्द्रीय कार्यालयले जानकारी नै दिएनन्।”
लिलाम बिक्री कहिले गरिंदै छ, सिलबन्दी बोलपत्र आउँदा कति कति रकमको बोली लाग्यो, कति बोलकबोल गरेकोलाई स्वीकृत गरिंदै छ लगायत कुनै पनि जानकारी ब्यांकबाट नपाएको उनी बताउँछन्।
ब्यांकको पोखरिया शाखाले २०८० चैत १६ गते नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा धितोमा रहेको सम्पत्ति लिलाम बिक्रीको सात दिने सार्वजनिक सूचना निकालेको थियो। धितोको घरजग्गा लिन सिलबन्दी बोलपत्र हाल्न आह्वान गर्यो। प्राप्त बोलपत्रमध्ये ब्यांकले २०८१ जेठ ३० गतेको सञ्चालक समितिले पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ बस्ने (साविक भौराटार-६) शोभादेवी कानुलाई उक्त घरजग्गा दिने निर्णय गर्यो। ब्यांकका अनुसार २०८० चैत २२ मा लिलाम बढाबढ हुँदा सबैभन्दा बढी रु. ५२ लाख मूल्य बोलकबोल गर्ने कानुलाई उक्त घरजग्गा दिने स्वीकृति दिइएको हो।
लिलाम गर्दाको समयमा राजुले लिएको ऋणको सावाँ र ब्याज गरी ४२ लाख ४० हजार ३४४ रुपैयाँ भएको ब्यांकको कागजातमा देखिन्छ।
ब्यांकले लिलाम सकार गर्ने व्यक्तिको नाममा जग्गा नामसारी गर्दा सम्बन्धित वडाको सिफारिश पनि आवश्यक हुन्छ। वडाले घरखेत लिलामी भएको पक्षलाई थाहै नदिई सुटुक्क सिफारिश दिएको बबिता गुनासो गर्छिन्। उनका अनुसार आफ्नो घरजग्गा लिलाम भएको थाहा पाएपछि उनी वडा कार्यालय पुगेकी थिइन्, त्यहाँका कर्मचारीले नामसारीका लागि वडाले सिफारिश दिइसकेको बताएका थिए।
लिलामी प्रक्रियाबारे खबर नपाउँदा आफ्नो धितोको सम्पत्ति सुरक्षित गर्ने मौका गुमेको राजु बताउँछन्। वडा नम्बर ११ का वडाध्यक्ष अजयकुमार चौरसियाले दुई लाख रुपैयाँ घूस लिएर आफूहरूलाई जानकारी नदिई सिफारिश गरिदिएको राजु र बबिताको आरोप छ। “वडाध्यक्षले दुई लाख लिएछन्। वडा सदस्य जगन महतोलाई पनि पैसा दिन खोजेका थिए, उनले चाहिं लिएनछन्,” राजु भन्छन्।
यस विषयमा बुझ्न हिमालखबरले वडाध्यक्ष चौरसियासँग फोन सम्पर्क गर्ने धेरै पटक प्रयास गर्यो र एसएमएस पनि पठायो। तर उनको फोन उठेन। वडा सदस्य जगन महतोले वडाध्यक्ष चौरसियाले पैसा लिएकोबारे आफूलाई थाहा नभएको तर जग्गा लिलामी प्रक्रियामा सिफारिश दिने र घर खाली गराउने प्रक्रियामा उनकै मुख्य भूमिका रहेको बताए।
विगतमा जग्गाको कारोबार गर्ने राजु आफ्नो करोडभन्दा बढी पर्ने घरजग्गाको न्यून मूल्यांकन गरेर लिलाम गर्दा अन्याय भएको बताउँछन्। उनका अनुसार वीरगन्ज रानीघाटमा घडेरीको प्रचलित मूल्य प्रतिधुर १५ लाख रुपैयाँ छ। यो हिसाबले आफ्नो १० धुरभन्दा बढी जग्गामा रहेको डेढ तले घर र चार कट्ठा जग्गाको मूल्यांकन डेढ करोडको हुनुपर्ने उनको दाबी छ।
उनी भन्छन्, “लिलामीको बोलकबोल हुँदै छ भनेर ब्यांकले जानकारी दिएको भए म आफैं वा आफन्तलाई जग्गाको प्रचलित मूल्य अनुसार बोलकबोल गर्न लगाउँथें होला। तर हामीलाई जानकारी नदिई भित्री रूपमा थोरै मूल्यांकन गरी लिलाम गरेर अन्याय गरियो।”
यस विषयमा जानकारी लिन लुम्बिनी विकास ब्यांकको पोखरिया शाखामा सम्पर्क गर्दा केन्द्रीय कार्यालयमा बुझ्न भनियो। ब्यांकको काठमाडौंस्थित केन्द्रीय कार्यालयका सूचना अधिकारी हरिकृष्ण सुवेदी धितोको सम्पत्ति लिलाम गर्दा ब्यांकले आफ्नो प्रक्रिया पूरा गरेको र घरजग्गाको वास्तविक मूल्य अनुसार तीन पटक सूचना निकालेर मात्रै लिलाम बढाबढ गरिएको बताउँछन्।
सुवेदी भन्छन्, “२०७७ सालमा ऋण दिने वेला धितोको जग्गाको मूल्यांकन ५३ लाख रुपैयाँ गरिएको थियो। लिलाम गर्नुअघि मूल्यांकन गर्दा पनि ५८ लाख मात्रै भएको छ। त्यसैले यसमा ऋणीलाई मर्कामा पारिएको छैन।”
उनका अनुसार ऋणीले ऋण तिर्न छाडेको ५८२ दिन भएको र सम्पर्कमा नआएको पनि एक वर्ष भइसकेपछि २०८० वैशाखदेखि नै लिलामी प्रक्रिया शुरू भएको थियो।
उता लिलामी सकार गर्ने शोभादेवी कानुका दाइ रामराजप्रसाद साह आफूहरूले ब्यांकको मूल्यांकन अनुसार लिलामीको घरजग्गा सकारेको बताउँछन्। यसअघि घर खाली गराइदिनू भनेर पटक पटक आग्रह गरे पनि नगरेपछि वडाको सहयोगमा कानूनी रीतबाटै खाली गराएको उनको भनाइ छ।
“कानूनत: घरजग्गा हाम्रो भएपछि वडामा भएको छलफलमा घर खाली गराइदिन हामीले आग्रह गर्दा उहाँ (बबिता)ले छठपछि गरिदिन्छु भनेर मौखिक प्रतिबद्धता जनाउनुभएको थियो, तर खाली भएन,” साह भन्छन्, “हामी घरमा जाँदा कोही नभएपछि तीन दिनमा खाली गरिदिनू भन्ने सूचना टाँसेर आएका थियौं। त्यही कानूनी प्रक्रिया अनुसार वडाले घर खाली गराउन सहयोग गरेको हो।”
ब्यांकिङ कानूनविद् अवतार न्यौपाने ऋणीले ऋण नतिरेको ६ महीनापछि ब्यांकले लिलामी गर्ने र नामसारी गर्न सक्ने कानूनी व्यवस्था रहेको बताउँछन्। उनका अनुसार लिलामी प्रक्रियामा पहिला ऋणीलाई रकम तिर्न प्रस्ताव गर्ने, सिलबन्दी बोलपत्र आह्वान, जग्गाको मूल्यांकन र नामसारीबारे ऋणीलाई जानकारी गराउने प्रावधान छ। “यी प्रक्रिया पूरा गरिएको छैन भने ब्यांकले लिलाम गरेर नामसारी गर्ला, तर पछि विवाद आएको खण्डमा यो विषयलाई अदालतले हेर्न सक्छ,” न्यौपाने भन्छन्।
आत्मदाह प्रयासको घटनापछि बबिता दुई छोरी सहित लिलाम भइसकेको घरमै बसिरहेकी छन्।
शोभादेवी कानुले कानूनी रूपमा घरजग्गा आफ्नो भएको र घर खाली गराउनुपर्ने भन्दै राजु साह सोनारलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेकी थिइन्। जसमा अदालतले पुस २ गते विपक्षीको नाममा अन्तरिम आदेश जारी गर्दै सो घरमा अनधिकृत रूपमा प्रवेश नगर्न, भोगचलनमा बाधा व्यवधान नगर्न र घरमा ताल्चा समेत नलगाउन भनेको छ।
यद्यपि बबिता आफ्नो घरजग्गाको सही मूल्यांकन नभएसम्म घर नछाड्ने अडानमा छिन्।