२० पटक धाउँदा पनि वडाध्यक्षले सिफारिश दिएनन्
दुबईमा मृत्यु भएका श्रीमान्को बीमा बापतको रकम दाबी गर्न २० पटक वडा कार्यालय धाउँदा पनि सिफारिश नपाएको पीडितले गुनासो गरेकी छन्।
कैलालीको गोदावरी नगरपालिका-१, भरतपुरका २७ वर्षीय गजेन्द्र भट्ट दुई वर्षअघि वैदेशिक रोजगारीका लागि यूएईको दुबई गएका थिए। दुबईमा राम्रैसँग काम चलिरहेका वेला गत असार २० गते उनको मृत्यु भयो।
त्यति वेला उनकी पत्नी पार्वती जैशी (भट्ट) भारतमा थिइन्। २७ वर्षीया पार्वती छोरालाई सासू पार्वती भट्टको जिम्मा छोडेर काम गर्न बेंग्लोर पुगेकी थिइन्। “पहिले पनि बेंग्लोरमा काम गरेकी थिएँ, छोरा भएपछि पनि घरपरिवारको खर्च चलाउन बेंग्लोर गएकी थिएँ,” उनी सुनाउँछिन्।
उनले बेंग्लोरमै छँदै गजेन्द्रको मृत्यु भएको खबर सुनिन्। घर आउन त खोजेकी थिइन्, तर बिरामी भएर अस्पताल उपचार गरिरहेको उनी बताउँछिन्। ससुरा दीपकराज भट्टले खबर गरेका थिए। “श्रीमान्को लास घर पुग्दा सासूससुराले फोन गरेका थिए, तर म अस्पताल भर्ना भएकीले आउन सकिनँ,” उनी भन्छिन्, “सासूससुरालाई पछि जे जे गर्नुपर्छ, आएर विधिविधान अनुसार गरौंला भनेकी थिएँ।”
उपचार गरेर घर फर्किन्। परिवारजनले भने अनुसार काजकिरिया पनि गरिन्। केही दिन त ठीकसँगै बसिन्, बिस्तारै परिवारजनसँग मनमुटाव शुरू भयो। अहिले सात वर्षको छोरा सहित माइतीघरमा बस्दै आएको उनी सुनाउँछिन्।
गजेन्द्रको काजकिरिया सकेपछि केही दिन त सासूससुराले राम्रै व्यवहार गरेको उनको भनाइ छ। झैझगडा गर्न थालेपछि अहिले माइतीघरमै बसिरहेको उनी बताउँछिन्। “श्रीमान् विदेश गएपछि घर खर्चका लागि एक रुपैयाँ पनि पठाएनन्। छोरालाई माइतीमै छोडेर म पनि रोजगारी खोज्न बेंग्लोर गएँ,” उनी भन्छिन्, “बेंग्लोर गएको १८ महीना भयो। शुरूआतमा त सासूससुरासँग राम्रै थियो, पछि उनीहरूले कुरा गर्न छाडे।”
एक महीनाअघि ससुरा दीपकले गजेन्द्रको बीमा बापतको रकमको कुरा सुनाएको पार्वती बताउँछन्। “मलाई त बीमा रकम आउँछ भन्नेबारे थाहा थिएन। एकदिन ससुराले फोन गरेर केही रकम आउँछ, त्यो पैसा सासूको नाममा राख्नुपर्छ भन्नुभयो,” पार्वती भन्छिन्।
ससुरासँग भएको फोनवार्तापछि उनी वैदेशिक रोजगार बोर्डको कार्यालय, धनगढी पुगिन्। बोर्डले आवश्यक कागजात लिएर बीमा रकम दाबी गर्न सुझायो। बीमा बापतको सात लाख रुपैयाँ आएको छ। उनी कागजात बनाउन वडा कार्यालय पुगिन्। “अहिलेसम्म २० पटक वडा कार्यालय पुगिसकें। वडाध्यक्षले सिफारिश बनाइदिएका छैनन्,” पार्वती दुखेसो गर्छिन्।
शुरूआतका केही दिनमा भोलि आउनु भनेर पन्छाएको उनी बताउँछिन्। “शुरू शुरूमा आज भएन, अर्को दिन आउनु भन्ने गरेका थिए। अहिले उल्टै पैसा खान खोज्ने भनेर थर्काउँछन्,” पार्वती भन्छिन्।
सिफारिश दिनुको सट्टा वडाध्यक्ष गोपालदत्त भट्टले रोजगार बोर्डमा फोन गरेर रकम भुक्तानी नगर्न भनेको उनी सुनाउँछिन्। “गजेन्द्रकी अर्की पनि श्रीमती छ, कान्छी श्रीमतीबाट पनि बच्चा छ। त्यसैले बीमाको रकम कान्छी श्रीमतीका नाममा पनि आउनुपर्छ भनेर रोजगार बोर्डमा फोन गरेका रहेछन्,” पार्वती भन्छिन्।
वडाध्यक्ष गोपालदत्त भट्टले आफूसँगै रोजगार बोर्डमा पनि दबाब दिइरहेको उनी बताउँछिन्। आफू रोजगार बोर्डमा पुग्ने बित्तिकै वडाध्यक्षले फोन गर्ने गरेको उनको गुनासो छ। “एकातिर परिवारले साथ दिएका छैनन्, अर्कातिर जनप्रतिनिधि पनि मेरै विरोधमा लागिरहेका छन्,” उनी दुखेसो गर्छिन्।
गोदावरी-१ का वडाध्यक्ष गोपालदत्त भट्ट पार्वतीको परिवारको घरकलहले सिफारिश दिन गाह्रो भएको प्रतिक्रिया दिन्छन्। “कानूनी रूपमा विवाह दर्ता भएकी श्रीमती नै बीमा रकमको हकदार हो। तर उनकी सासू अर्की पनि बुहारी र चार वर्षकी नातिनी छ भन्दै वडा कार्यालय धाइरहेकी छन्,” वडाध्यक्ष गोपाल भन्छन्, “त्यही भएर विवाद नसुल्झिएको हो।”
पार्वतीकी सासू पनि कान्छी बुहारी रहेको दाबी गर्छिन्। छोरा जन्मिएको केही महीनापछि पार्वती माइतीघर गएको उनी सुनाउँछिन्। “बुहारीलाई बोलाउन धेरै प्रयास गर्यौं, बुहारी फिर्ता आइनन्,” उनी भन्छिन्, “बुहारी नआएपछि छोराले अर्की बुहारी ल्यायो।”
उनका अनुसार कान्छी बुहारीबाट नातिनी छिन्। अहिले कान्छी बुहारी पनि रोजगारीका लागि भारतको बेंग्लोर गएको उनको भनाइ छ। “कान्छी बुहारीसँग विवाह गरेको कागजपत्र छैन। उसबाट जन्मेकी चार वर्षकी नातिनी छ,” उनी भन्छिन्।
गजेन्द्रलाई विदेश पठाउँदा पाँच लाख रुपैयाँ ऋण लिएको उनी बताउँछिन्। त्यो ऋण तिर्न र बाँकी दुवै बच्चाको नाममा राख्न आफूले भनेको उनी सुनाउँछिन्।
वैदेशिक रोजगार बोर्डले पनि वडाध्यक्ष गोपाललाई गजेन्द्रकी अर्की श्रीमती र बच्चा भए प्रमाण सहित पठाउन भनेको छ। महीना दिन हुँदा पनि केही प्रमाण पठाएको छैन। “वडाध्यक्षले कान्छी श्रीमती र छोरी छन् भनेका थिए। त्यसो भए बच्चाको जन्मदर्ता गरेर पठाइदिनुस् भनेका थियौं, अहिलेसम्म पठाएका छैनन्,” बोर्डका तथ्यांक अधिकारी सुरज ढुंगाना भन्छन्, “गजेन्द्रकी आमाको नाममा भुक्तानी गर्न भनिरहेका छन्। श्रीमती र छोरा हुँदाहुँदै आमाको नाममा भुक्तानी गर्न मिल्दैन।”
उनका अनुसार अहिलेसम्म ‘गजेन्द्रकी कान्छी श्रीमती हुँ’ भनेर बोर्डको कार्यालयमा कोही आएको छैन। भुक्तानीका लागि निवेदन दर्ता भइसकेको र वडा कार्यालयको सिफारिश आउने बित्तिकै भुक्तानी गरिने उनी बताउँछन्।
वडाध्यक्षले भने सिफारिश गर्न मानेका छैनन्। रोजगार बोर्डले मागेको कान्छी श्रीमती भएको र उनीबाट जन्मेकी छोरीको जन्मदर्ता प्रमाणपत्र वडा कार्यालयले दिन सकेको छैन। बोर्डले भने त्यही सिफारिश नल्याएको भनेर भुक्तानी रोकेको छ।
पार्वती पनि यतिका वर्षसम्म अर्को बिहेबारे आफूलाई जानकारी नदिएको बताउँछिन्। अहिले बीमाको रकम पाउनबाट रोक्न अर्को बिहे रहेको बताउन थालेको उनको भनाइ छ। “सासूससुरा र वडाध्यक्ष मिलेर मलाई दुःख दिइरहेका छन्,” पार्वती भन्छिन्, “मैले पैसा लग्छु भनेकी छैन। छोराका नाममा राख्छु भनेकी छु। त्यो पनि मानिरहेका छैनन्।”
गत भदौमा मृत्युदर्ता गराउँदा पनि अर्को बिहेको विषयमा वडा कार्यालयलाई जानकारी गराइएको थिएन। वडा कार्यालयले गत भदौ २ गते मृत्युदर्ता प्रमाणपत्र दिंदा पनि गजेन्द्रकी श्रीमती भनेर पार्वतीको नाम मात्रै उल्लेख गरेको छ।
वडाध्यक्षले सिफारिश दिन मानेका छैनन् भने बोर्डले सिफारिश विना भुक्तानी गर्न नमिल्ने भनेर फर्काउँदै आएको छ। “वडाध्यक्षले सिफारिश दिंदैनन्। रोजगार बोर्डले सिफारिश विना दिन मिल्दैन भन्छ,” उनी दुखेसो गर्छिन्, “श्रीमान् रहेनन्। सासूससुराले घरमा बस्न दिएका छैनन्। छोरालाई पढाउन होला भन्ने सोचेकी थिएँ, त्यो पैसा पनि दिंदैनन्। अब म कहाँ जानु?”