वर्षा याममा भारतलाई १३ अर्बको बिजुली बिक्री, हिउँदमा भने भारतकै भर
चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महीनामा नेपालले १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारतलाई बेचेको छ।
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको साउन, भदौ, असोज, कात्तिक र मंसीरमा देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ७६ करोड युनिट विद्युत् भारतलाई बिक्री गरेको हो। पाँच महीनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा छ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ। त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी आठ अर्ब १५ करोड भारु आम्दानी गरेको जनाएको छ।
साउनमा सबैभन्दा बढी चार अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ भने मंसीरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ। भदौमा तीन अर्ब ६८ करोड, असोजमा तीन अर्ब सात करोड र कात्तिकमा एक अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो।
प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महीनामा आएको बाढीपहिरोका कारण मुख्य रूपमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए। माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महीनामा विद्युत् निर्यात घटेको र सुक्खा याम शुरू भएसँगै जलविद्युत् आयोजनाको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नुपरेको घिसिङको भनाइ छ।
अहिले विद्युत् निर्यात बन्द भएको छ भने भारतबाट आयात शुरू गरिएको छ। हिउँद शुरू भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादन कमी भई देशभित्रको विद्युत् माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ। अहिले भारतबाट ६०० मेगावाट हाराहारीमा विद्युत् आयात भइरहेको छ। नदी तथा खोलानालामा पानीको बहाव बढ्न शुरू नभईकन भारततर्फबाट हुने आयात रोकिंदैन।
प्राधिकरणले यस आवमा करीब ३० अर्ब रुपैयाँ बराबर विद्युत् निर्यातको लक्ष्य राखेको छ। तर बाढीपहिरोका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने सम्भावना छ। बाढीपहिरोले माथिल्लो तामाकोशी सहित अन्य साना जलविद्युत् आयोजना र काबेली करिडोर प्रसारण लाइनमा क्षति पुर्याएको थियो।
माईखोलामा आएको बाढीले काबेली करिडोरमा क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाको करीब २०० मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो। यसकारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित भएको थियो।
प्राधिकरणले माथिल्लो तामाकोशी आगामी पुस १० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार भइरहेको जनाएको छ। काबेली करिडोर प्रसारण लाइनको भने पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ। हिउँद शुरू भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन कम हुनेछ। योसँगै भारतबाट हुने आयात बढ्दै जानेछ।
यद्यपि भारतले नेपाललाई आवश्यक परिमाणमा विद्युत् दिन मानेको छैन। जसले गर्दा साँझको समयमा औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुँदै आएको छ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो। सोही अवधिमा नेपालबाट भारततर्फ १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो। गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो।