तीन दशकदेखि देवचुलीवासीलाई रोगी बनाइरहेको चौधरी उद्योग ग्राम
पूर्वी नवलपरासीस्थित चौधरी उद्योग ग्रामका उद्योगहरूबाट निस्किने प्रदूषण र प्रशोधन नगरी फालिने दूषित पानीका कारण देवचुली नगरपालिकाका स्थानीयवासीले स्वास्थ्य र कृषि उत्पादनमा असर भोगिरहेका छन्।
नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को देवचुली नगरपालिका-१, केउरानीका सत्यनारायण गुरौ २५ वर्षअघिसम्म खेती गरेर जीवन निर्वाह गर्थे। उनको करीब डेढ बिघा जमीन थियो। खेतमा धान, मकै, तोरी सबै बाली हुन्थ्यो। खाएर बचेको अनाज कहिलेकाहीं बेच्थे पनि। तर एकाएक उनले खेतीलाई निरन्तरता दिन नसक्ने भए। सिंचाइ समस्या वा उमेरले साथ नदिएर होइन। सिंचाइ कुलोको व्यवस्था थियो र त्यस वेला उनी ३५ वर्षका हट्टाकट्टा थिए। तर कुलोको पानी नै उनका लागि समस्या बनिदियो।
कुलोमा रसायन मिसिएको प्रदूषित पानी बग्थ्यो। त्यो पानीले खेती गर्ने क्रममा गुरौको शरीरभरि घाउखटिरा आउन थाल्यो। खेतमा पस्यो कि एलर्जीले सताउँथ्यो। सिंचाइ गर्न कुलोको विकल्प पनि थिएन। हत्तु भएपछि उनले खेती नै छाडिदिए। खेत बेचिदिए। त्यसपछिको समयमा उनी डोको बुनेर बिक्री गरी पेट पालिरहेका छन्। डोको बुनेको कमाइबाट खर्च नपुगेर कहिलेकाहीं गाह्रो हुने उनी बताउँछन्।
चौधरी उद्योग ग्रामबाट निस्किने फोहोर पानी, रसायन कुलोमा मिसाइँदा गुरौको किसानी जीवन खलबलिएको हो। “पहिलेदेखि यही कुलोबाट खेती लगाउँथ्यौं। उद्योग ग्राम बन्नुअघि खेती गर्दा घाउखटिरा हुने कहिल्यै भएको थिएन,” उनी भन्छन्, “अहिले ट्र्याक्टरले जोतिने भएकाले यस्तो समस्या त छैन, होइन भने गोरुले जोत्ने समयमा खटिरा आउने, लुतो आउने हुन्थ्यो। खेती गर्न छाडेपछि मेरो ज्यानमा सबै ठीक छ।”
चौधरी ग्रूपले २०५० सालमा नवलपरासीमा चौधरी उद्योग ग्राम स्थापना गरेको हो। अहिले देवचुली नगरपालिकाको वडा नम्बर २ मा पर्ने उद्योग ग्रामभित्र चाउचाउ, जूस, चिजबल, आलु चिप्स, चुरोट, बियर लगायत आठ उद्योग छन्। यस क्षेत्रमा उद्योगको प्रदूषणले किसानको खेतीबाली मात्र बिथोलिएको छैन, उद्योगबाट निस्किने धूवाँधूलो र दुर्गन्धले समस्या पारिरहेको गुरौ बताउँछन्। उद्योग ग्राम स्थापना हुनुअघि पुस्तौंदेखि बस्दै आएका बासिन्दाले उद्योगका कारण भोग्नुपरेको असरको विरोध गर्दा पनि रोकथाम गर्नेतर्फ ध्यान नदिएको उनको भनाइ छ। “उद्योग चलाउने ठूला मान्छे हुन्, हामी साना मान्छेले जति भने पनि सुन्दैनन्,” उनी भन्छन्।
स्वास्थ्यदेखि खेतीसम्ममा असर
उद्योग ग्रामबाट निस्किने धूलो र प्रदूषित पानी स्थानीय जनजीवनका लागि ठूलो समस्या बनिरहेको प्रभावित बासिन्दाहरूको गुनासो छ। प्रदूषण र ढलको असरले विभिन्न स्वास्थ्य समस्या भोग्नुपरेको उनीहरू बताउँछन्।
उद्योगहरूबाट निस्किने फोहोर पानी सीजी धामको छेउ हुँदै पूर्व-पश्चिम राजमार्गलाई चिरेर बग्छ र दक्षिणतिर गाउँ नै गाउँ हुँदै गएर नारायणीमा मिसिन्छ। रसायनमिश्रित यस्तो दुर्गन्धित पानी स्थानीय किसानको कुलोमा बगिरहेछ। दूषित पानी बग्ने भएकाले कुलोलाई अचेल स्थानीयहरू नाला भन्छन्।
सीजी धामबाट ३०० मिटर दक्षिणमा देवचुली-२, केउरानीमा ईश्वर लामिछानेको घर छ। यो ठाउँमा बस्न थालेको १० वर्षयता औद्योगिक प्रदूषण र यसबाट सिर्जित समस्या भोगिरहेको उनी बताउँछन्।
उनको घर छेउमा उद्योगले फोहोर पानी फाल्ने नाला बग्छ। यही प्रदूषित पानी र उद्योगको प्रदूषणका कारण पछिल्लो समय आफ्नो ११ महीने बच्चा बिरामी भएको उनको भनाइ छ। “बच्चालाई एलर्जी भएर शरीरभरि बिमिरा आएको छ। सास फेर्न पनि गाह्रो भएर स्वाँस्वाँ हुन्छ,” उनी भन्छन्, “अस्पतालमा लगेर देखाउँदा सरसफाइमा ध्यान दिनू भन्छन्। सरसफाइ पनि कति गर्नु, केटाकेटीहरू आएर नाला छेउछाउ खेल्छन् र सानो बच्चालाई छुन्छन्।”
घरमा पाहुना आउँदा दुर्गन्धित नालाका कारण लाजमर्दो हुने उनको अनुभव छ। पाहुनाहरू नाक खुम्च्याउँदै आउँछन् र बसुन्जेल पनि फोहोर र दुर्गन्धकै कुरा गर्छन्। “पाहुना नाक थुन्दै आउँछन् र ‘कति फोहोर हो, सफा गर्नु पर्दैन?’ भन्छन्। यो सीजीको ढल हो भनेर उनीहरूलाई थाहा छैन,” उनी भन्छन्।
उद्योगबाट निस्किने प्रदूषित पानी प्रशोधन गरेर मात्र बाहिर फाल्नुपर्ने हुन्छ। अन्यथा रसायनयुक्त पानीले पर्यावरण र नदीनाला विषाक्त बनाउँछ तथा मानव स्वास्थ्यमा असर पार्छ। तर चौधरी उद्योग ग्रामका उद्योगहरूले प्रदूषित पानी प्रशोधन नगरी बाहिर फाल्ने गरेका छन्।
देवचुली नगरपालिका-२ का वडाध्यक्ष शरदप्रसाद घिमिरे उद्योग ग्रामले प्रशोधन नगरी पानी फालेका कारण दुर्गन्ध र फोहोरको समस्या बढेको बताउँछन्। “हामीले कैयौं पल्ट उद्योग ग्रामको भित्रै गएर अनि चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरीलाई पनि भेटेर समस्या सुनाएका छौं। प्रशोधन गर्छौं भन्छन्, तर लागू गरेका छैनन्,” उनी भन्छन्।
घिमिरेका अनुसार उद्योग ग्रामको प्रदूषण विरुद्ध स्थानीयवासीले आन्दोलन गर्दा हरेक पटक उद्योगका प्रतिनिधिले ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ को क्षमता बढाउने बताउने गरे पनि बढाइएको छैन। पछिल्लो पटक आन्दोलनपछि मंसीर ११ गते भएको सहमतिमा पनि उद्योग ग्रामले हाल दैनिक नौ लाख लिटर पानी प्रशोधन गर्न सक्ने ‘ट्रिटमेन्ट प्लान्ट’ को क्षमता वृद्धि गरी १५ लाख पुर्याउने प्रतिबद्धता व्यक्त गरेको उनी बताउँछन्।
पाहुना र आफन्तजनले यस्तो फोहोर ठाउँमा बसिरहेको भन्ने गरे पनि कतै सरेर जाने विकल्प नभएको लामिछाने बताउँछन्। उनका अनुसार मुख्य बाटोमा नाला केही ढाकिए पनि तल्लो र भित्री भेगमा उदांगै छाडिएकाले खपिनसक्नु गन्हाउने र स्वास्थ्य जोखिम पनि रहने गरेको छ। तर यसबारे कसैले पनि चासो दिएको छैन।
सीजी धामबाट २०० मिटर जति दक्षिणमा देवचुली नगरपालिका-२ मा अवस्थित बुद्धिराम पञ्जियारको घर पनि नालाछेउमै छ। नालाको दुर्गन्धले सास फेर्नै गाह्रो हुने र के गर्मी के जाडो हर समय लामखुट्टेले हैरान पार्ने उनको भनाइ छ। “घरमा आउने पाहुनाहरू कस्तो ठाउँमा बसेको भन्दै हाँस्छन्,” उनी भन्छन्, “गन्धका कारण घरमा बस्न नसकेर कतै हिंडिदिऊँ जस्तो लाग्छ। तर कहाँ जाने? भएको सम्पत्ति र घरबार यहीं छ।”
उद्योगको ढल बग्ने नाला नगरपालिकाको फोहोरभन्दा पनि दुर्गन्धित रहेको उनी बताउँछन्। “नगरपालिकाको फोहोर उठाउने गाडीका मानिसहरू पनि यहाँ आइपुग्दा मास्क लगाउँछन् र यो ठाउँ कटेपछि मास्क निकाल्छन्,” उनी भन्छन्।
देवचुली-१ की ६५ वर्षीया धना पोख्रेल शरीरमा एलर्जी भएको र उद्योग ग्रामबाट निस्किएको भुसको कण आँखा पसेर असर पारेको सुनाउँछिन्। “उद्योग खुलेको चार-पाँच वर्षपछि आँखामा भुसको कण पस्यो, त्यो समयदेखि आँखा कम देख्न थालें,” उनी भन्छिन्। उनलाई दमको समस्या पनि छ। उद्योगको धूवाँधूलोले दमलाई झन् दुःख दिने उनको अनुभव छ। बारीको तरकारी र आँगनमा रहेको मेवाका धुलाम्मे पात देखाउँदै भन्छिन्, “यस्तो धूलो आउँछ, सास फेर्न पनि गाह्रो हुन्छ।”
उद्योग ग्रामभित्र धानको भुस जलाएर तापबाट ऊर्जा निकालिन्छ। त्यसरी जलाउँदा निस्किने धूवाँधूलो बस्तीसम्म पुग्ने गरेको छ। यस्तो धूवाँधूलोको असर सीजी धाममा पनि परेको छ। धाम नै कालो भएको देखिन्छ।
सोही क्षेत्रका १० वर्षयता क्लिनिक चलाइरहेका स्वास्थ्य सहायक (एचए) रोहिनीप्रसाद घिमिरे आँखामा भुसको कण परेर उपचारका लागि धेरै जना आउने बताउँछन्। “यस्तो समस्या लिएर कहिले २०-२५ जनासम्म आउँछन्, दुई-चार जना नभएको त दिन नै हुँदैन,” उनी भन्छन्, “कुनै सामान्य हुन्छ र यहीं निकालिन्छ, कसैलाई रिफर गरेर भरतपुर पठाउनुपर्छ। कोही त तिलगंगा समेत पुगेका छन्।”
भुसको कण आँखामा कोप्रो परेर बस्ने, सर्वसाधारणले निकाल्न नसक्ने र आँखामै रहँदा एलर्जी पनि हुने घिमिरे बताउँछन्।
आँखामा कण पसेर तथा जीउमा एलर्जी भएर धेरै जना बिरामी आउने गरेको देवचुली नगर अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी गणेश न्यौपाने भन्छन्, “देवचुलीका अरू वडाभन्दा १ र २ वडाका बिरामी बढी आउँछन्। यहाँ आँखा विशेषज्ञ नभएकाले सामान्य समस्या मात्र हेरिन्छ, जटिल समस्या भएकाहरू बजार क्षेत्रमा रहेको आँखा अस्पताल जान्छन्। छाला सम्बन्धी समस्या पुरानो मेडिकल कलेज भरतपुरबाट हरेक बुधबार आउने डाक्टरले हेर्नुहुन्छ।”
बियर उद्योगमा बोतल सफा गर्न कास्टिक सोडा प्रयोग गरिन्छ। यस्तो रसायनमिश्रित पानी पनि उद्योग ग्रामले प्रशोधन विना नै बाहिर फाल्दै आएको छ। कास्टिक सोडा छालाको सम्पर्कमा आए गम्भीर जलन गर्न सक्ने रसायन मानिन्छ। यस्तै, चाउचाउ, चुरोट, बियर जस्ता उद्योगबाट निस्किने फोस्फेट, सल्फेट जस्ता रसायन तथा सोडियम हाइपोक्लोराइट जस्ता औद्योगिक सफाइका रसायन र प्लास्टिक जस्ता फोहोर मानव स्वास्थ्य र वातावरणका लागि असरदार मानिन्छन्।
अध्ययनहरूका अनुसार फोस्फेट र सल्फेट जस्ता रसायन पिउने पानीमा मिसिए पेटको समस्या, झाडापखाला र छालाको एलर्जी निम्त्याउँछन्। यी रसायन नदी तथा तालतलैयामा मिसिए जलाशयमा अक्सिजनको कमी हुन्छ र यसले गर्दा माछा सहितका जलचर मर्न सक्छन्।
औद्योगिक सफाइमा प्रयोग हुने सोडियम हाइपोक्लोराइट जस्ता रसायनहरू स्वास्थ्यका लागि अत्यन्तै घातक मानिन्छन्। यो रसायन छालामा परे जलन हुने, आँखा पोल्ने र श्वासप्रश्वासमा कठिनाइ हुने जस्ता समस्या उत्पन्न गराउँछ। अन्य रसायनसँग मिसिंदा विषालु ग्यास उत्पन्न हुन सक्ने र यस्तो रसायन पानी र माटोमा मिसिएमा जैविक चक्रलाई क्षति पुर्याउने पनि शोधहरूले देखाएका छन्।
उद्योग ग्रामबाट फालिने रसायनमिश्रित पानीले यस क्षेत्रका बासिन्दाको स्वास्थ्यसँगै जीविकामा पनि असर पुर्याइरहेको छ। कुलोमा रसायनमिश्रित ढल मिसाइएको र यो पानी खेतमा लगाउँदा बाली नै बिगार्ने गरेको देवचुली नगरपालिका-१ का गुरौ बताउँछन्। सिंचाइको अरू स्रोत नभएका कारण किसानले बाध्य भएर यही प्रदूषित कुलोको पानी प्रयोग गर्दै आएको उनको भनाइ छ।
ढल मिसिएको कुलोको पानीले सिंचाइ गरेपछि बिरुवा त हलक्क बढ्छ, तर बाली नलाग्ने समस्या देखिने गरेको पञ्जियार बताउँछन्। “पानी लगाएपछि बिरुवाको गाज त ठूलो ठूलो लाग्छ, तर बाली पसाउने वेला सर्लक्कै ढल्छ,” उनी भन्छन्, “तोरी लगाएको थिएँ, सबै ढल्यो। जोत्दा लागेको खर्च समेत उठेन।”
खेतीपाती गरिरहेका यस क्षेत्रका धेरै किसानको हालत आफ्नो जस्तै रहेको उनी बताउँछन्। तर प्रदूषित पानी उद्योगले प्रशोधन गरेर मात्रै फाल्नुपर्ने र बालीनालीको क्षतिपूर्ति दिनुपर्ने जस्ता विषयमा स्थानीय बासिन्दाको तहबाट बलियो माग उठ्न सकेको छैन।
देवचुली-२ का वडाध्यक्ष घिमिरेका अनुसार प्रदूषित पानीका कारण ४० घरधुरीको ५० बिघा खेतीयोग्य जमीन प्रभावित भएको छ। पहिले धान, तोरी, मकै, मसुरो आदिको खेती राम्रो हुने गरेको यस क्षेत्रमा अहिले माटोको उर्वराशक्ति घटेको उनको भनाइ छ।
आफू वडाध्यक्ष हुनुभन्दा अघिदेखि नै उद्योग ग्रामले वातावरणमा पारेको असरबारे निरन्तर बोलेको र युवा मिलेर वातावरण संरक्षण समिति नै बनाएको घिमिरे बताउँछन्। उद्योगको प्रदूषण विरुद्ध २०६१ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र अहिलेसम्म दुई दर्जन पटक सम्झौता भइसकेको तर समस्या नघटेको उनको भनाइ छ।
आफ्नो पालिका वातावरणीय मुद्दाबारे सजग नहुँदा उद्योगको मनपरी नरोकिएको र स्थानीयले सास्ती भोगिरहेको उनी बताउँछन्। “कानूनले पालिकामा वातावरण निरीक्षक अनिवार्य नियुक्त गर्नुपर्ने भनेको छ, वातावरण निरीक्षक भएको भए निगरानी र अनुगमन हुन्थ्यो होला। तर अहिले त उद्योग ग्रामले गरिरहेको प्रदूषणबारे जिल्ला प्रशासन कार्यालयदेखि पालिकासम्म सबै मौन छन्,” उनी भन्छन्।
प्रदूषणले प्रताडित जीवजन्तु
चौधरी उद्योग ग्रामबाट निस्किने दूषित पानी सोझै नारायणी नदीमा मिसिने गरेको छ। करदह खोलाबाट बगेर आएको रसायनमिश्रित लेदो नारायणीमा मिसिन्छ। यसबाट नदीमा आश्रित जलचर र थलचरलाई गहिरो असर परेको संरक्षणकर्मी बताउँछन्।
संरक्षणकर्मी डीबी चौधरीका अनुसार यस क्षेत्रमा एकसिंगे गैंडा, घडियाल गोही, मगर गोही आदिले नदीकै दूषित पानी पिउँछन्। गैंडामा यसको असर परेकोबारे विस्तृत अध्ययन नभए पनि घडियाल गोहीले आफ्नो वासस्थान परिवर्तन गरेको तथ्य बाहिर आएको उनको भनाइ छ।
उनी भन्छन्, “घडियाल गोही सफा पानीमा बस्ने जलचर हो र माछा खान्छ। तर लेदो सहितको पानी बग्न थालेपछि उसले आफ्नो वासस्थान परिवर्तन गरेको देखिन्छ।”
जलचरको वासस्थान खलबलियो भने स्वास्थ्य, प्रजनन जस्ता सबै कुरा बिग्रिने र यसबाट कुनै पनि प्रजातिको संख्या घट्न सक्ने उनी बताउँछन्। “जल प्रदूषणबाट निम्तिने समस्याको समाधानका लागि धेरै पहिलादेखि आवाज उठाइरहेका छौं, तर प्रदूषणको स्रोतमा कडाइ गर्न सम्बन्धित निकायले अनुगमन या नियमन गरेको छैन।”
होटल व्यवसाय पनि समस्यामा
चौधरी उद्योग ग्रामको छेउछाउमा केही होटल छन्। तर उद्योगको प्रदूषण र दुर्गन्धित पानीका कारण होटल व्यवसाय प्रभावित भएको व्यवसायीको गुनासो छ।
उद्योग ग्राम अगाडि होटल चलाइरहेका देवप्रसाद दवाडी उद्योगहरूको प्रदूषणबाट होटलको व्यवसाय चौपट भएको बताउँछन्। “होटलमा आउने पाहुनाहरू दुर्गन्धका कारण बस्न र खानै मान्दैनन्। साँझपख अति गनाउँछ,” उनी भन्छन्। स्थानीय र होटल व्यवसायी समेतले आन्दोलन गरेर सहमति भएपछि मंसीर ११ गतेदेखि प्रदूषित पानी दिनको समयमा फाल्न बन्द गरिँदा दिउँसो गनाउन छाडेको तर अचेल सबै उद्योगले राति फाल्दा दुर्गन्धका कारण ग्राहकहरूले गुनासो गर्ने गरेको उनी बताउँछन्।
दवाडीका अनुसार यस क्षेत्रमा रहेका ३० भन्दा बढी साना-ठूला होटल तथा रेस्टुरेन्ट उद्योगको प्रदूषण र दुर्गन्धका कारण प्रभावित छन्। होटलमा पाहुना आउँदै नआउने समस्या नरहे पनि आएकाहरूले दुर्गन्धबारे धेरै गुनासो गर्ने उनी बताउँछन्।
देवचुली-२ का वडाध्यक्ष घिमिरे उद्योगबाट निस्किने प्रदूषण नियन्त्रण गर्न उद्योग सञ्चालकलाई पटक पटक आग्रह गर्दा पनि समाधान नभएको बताउँछन्। “चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरीलाई नै पत्राचार गरेको र पटक पटक भेटेर आग्रह गर्दा पनि समाधान भएन,” उनी भन्छन्, “जनताले आन्दोलन गरेपछि उद्योग ग्रामले प्रदूषण हटाउँछौं भन्छ, तर केही दिनमै बिर्सिन्छ।”
चौधरी ग्रूपका प्रवक्ता मधुसूदन पौडेल भने उद्योग ग्रामले सबै मापदण्ड पूरा गरेको बताउँछन्। “मापदण्ड पूरा गरेको हुनाले हामी आफ्नो हिसाबबाट काम गरिरहेका छौं,” उनी भन्छन्। तर मापदण्ड के कसरी पूरा गरेको, ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ रहे या नरहेको, भए कति क्षमताको रहेको र त्यसले कति काम गरिरहेको छ भन्ने विषयमा विस्तारमा कुराकानी गर्न खोज्दा उनी बोल्न चाहेनन्।
उद्योग ग्रामको प्रदूषण रोक्न माग गर्दै पछिल्लो पटक पनि स्थानीयवासीले आन्दोलन गरेका थिए। स्थानीयले आठबुँदे माग गर्दै ग्रामको मूलगेटमै तालाबन्दी गरेका थिए। एक साताको आन्दोलनपछि स्थानीय र उद्योग प्रशासनबीच मंसीर ११ गते ६ बुँदे सहमति भएको छ। जसमा पुस १५ गतेभित्र सबै समस्याको समाधान गर्ने सहमति भएको छ।
सहमतिका बुँदामा उद्योग ग्रामभित्र रहेको भुस बाल्ने प्रविधिलाई प्रदूषणको मापदण्डभित्र राखेर सञ्चालन गर्ने, पानी प्रशोधन प्लान्टको क्षमता वृद्धि गर्ने, प्लान्टदेखि पक्की नाला रहेको ठाउँसम्म पाइप राख्ने काम तत्काल शुरू गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम प्रभावित टोल विकासमा लगाउने र प्रतिनिधि टोलीले मासिक रूपमा अनुगमन गर्ने लगायत उल्लेख छन्।