भूकम्पले बाजुराका केही घरमा सामान्य क्षति
गोत्री केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले बाजुराका केही घरमा क्षति पुगेको छ भने केही सामान्य घाइते भएका छन्।
शनिबार बिहान बाजुराको जगन्नाथ गाउँपालिकास्थित गोत्री केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। बिहान ४ः१४ बजे गएको भूकम्पबाट मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालय, बाजुराका निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले बताए।
मण्डलका अनुसार भूकम्पले केही घरमा क्षति पुगेको विवरण आइरहेको छ। मानवीय क्षतिबारे भने अहिलेसम्म कुनै जानकारी आएको छैन।
भूकम्पले केही घर चर्किएका छन्। बूढीनन्दा नगरपालिका–४ मा एक घर भत्किंदा तीन बालबालिका च्यापिएका थिए। उनीहरूको सकुशल उद्धार गरिएको मण्डलले बताए। उनीहरू सामान्य घाइते भएका छन्।
विकट हिमाली जिल्लाका रूपमा रहेको बाजुराका स्थानीय तहमा आवतजावतमा समय लाग्ने भएकाले क्षतिको विवरण आउन बाँकी नै छ। प्रहरीको प्रारम्भिक विवरण अनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण संकलन जारी रहेको उनले बताए।
जिल्लाका नौ वटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण संकलन कार्य भइरहेको छ।