एनपीएल फाइनलमा पूर्व र पश्चिमको भेट
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो उपाधिका लागि आज पूर्वी र पश्चिमी नेपालका टोली प्रतिस्पर्धा गर्दै छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार मध्याह्न सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। दुई टोलीको फाइनल भेट हेर्नका लागि एक दिनअघि नै समर्थकले सबै टिकट खरीद गरिसकेका छन्। खचाखच भरिएको त्रिवि मैदानमा दुवै टोली उत्रिँदा नेपाली क्रिकेटको नयाँ इतिहास कोरिनेछ।
यसरी पूर्व र पश्चिमका दुई टोली प्रतिस्पर्धा गर्दा दुई दाजुभाइ पनि प्रतिस्पर्धामा हुनेछन्, फरकफरक टोलीबाट। दाइ आरिफ शेख सुदूरपश्चिमबाट र भाइ आसिफ शेख जनकपुरबाट खेल्दै छन्।
दुवै टोलीको फाइनल यात्रा भने कम रोमाञ्चक छैन। सुदूरपश्चिम आठ र जनकपुर नौ वटा खेलमा प्रतिस्पर्धा गरेर फाइनलमा पुगेको हो।
सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनले हराएर एनपीएल यात्रा शुरू गरेको थियो। दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रन र तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो।
लिग चरणमा सुदूरपश्चिमको अविजित यात्रालाई चितवन राइनोजले रोकेको थियो। चौथो खेलमा सुदूरपश्चिम चितवनसँग ३३ रनले पराजित भएको थियो।
त्यो हारबाट पाठ सिकेको सुदूरपश्चिमले त्यसपछिका सबै खेलमा जित हासिल गरेको छ। पाँचौ खेलमा जनकपुरलाई ७२ रन र छैटौं खेलमा पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गरेको थियो। सातौ खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराएर अंक तालिकाको शीर्षस्थानमा रहँदै पहिलो ‘क्वालिफायर’मा पुगेको थियो।
जनकपुरले पनि विराटनगरलाई आठ विकेटको फराकिलो अन्तरले हराउँदै एनपीएल यात्रा शुरू गरेको थियो। लिग चरणको दोस्रो खेलमा कर्णालीलाई आठ विकेट र तेस्रो खेलमा लुम्बिनीलाई सात विकेटले पराजित गरेको थियो।
चौथो खेलमा लुम्बिनी विरुद्ध एक रनको रोमाञ्चक जित हासिल गरेको जनकपुरको अविजित यात्रालाई पाँचौ खेलमा सुदूरपश्चिमले ‘ब्रेक’ लगाएको थियो।
त्यसपछि जनकपुरले शुरूआति खेलमा जस्तो लय समात्ने सकेन। छैटौं खेलमा कर्णालीलाई पाँच विकेटले पराजित गरे पनि सातौं खेलमा चितवनसँग ३२ रनले पराजित हुन पुग्यो। तथापि, सातामध्ये पाँच खेल जितेको जनकपुरलाई पहिलो ‘क्वालिफायर’मा पुग्नबाट कसैले रोक्न सकेनन्।
जनकपुरको पहिलो क्वालिफायर यात्रा भने सम्झनलायक रहेन। सुदूरपश्चिमसँग आठ विकेटले पराजित भयो। त्यसपछि दोस्रो क्वालिफायरमा भने कर्णालीलाई दुई विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
सुदूरपश्चिम र जनकपुरले खेलेका पछिल्ला पाँच खेलमा भने सुदूरपश्चिम नै बलियो देखिएको छ। सुदूरपश्चिमले पाँचमध्ये चार खेल जितेको छ भने जनकपुरले दुई खेल मात्रै जितेको छ।
दुई टोलीबीचको प्रतिस्पर्धामा पनि सुदूरपश्चिम नै अगाडि छ। दुवै टोलीले प्रतिस्पर्धा गरेका दुवै खेल सुदूरपश्चिमले नै जितेको छ।
व्यक्तिगत प्रदर्शनमा भने दुवै टोलीका खेलाडीबीच प्रतिस्पर्धा छ। ब्याटिङमा जनकपुरका जेम्स निशम अगाडि छन्। प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने खेलाडीमा तेस्रो नम्बरमा रहेका निशमले आठ खेलमा २४३ रन बनाएका छन्। उनीभन्दा माथि चितवनका रवि बोपाराले २८६ र विराटनगरका रोहित पौडेलले २७९ रन बनाएका छन्।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐर छैटौं नम्बरमा छन्। उनले २१८ रन बनाएका छन्। उनी पछि सातौं नम्बरमा सुदूरपश्चिमकै सैफ जैब छन्, उनले २०६ रन बनाएका छन्। सातौं नम्बरमै रहेका जनकपुरका लाहिरु मिलन्थाले पनि २०६ रन बनाएका छन्।
सबैभन्दा बढी रन बनाउने १० खेलाडीभित्र सुदूरपश्चिमका विनोद भण्डारी पनि छन्। उनले १९४ रन बनाएका छन् भने एघारौं नम्बरमा रहेका जनकपुरका ब्रान्डन म्याकमुलनले १८७ रन बनाएका छन्।
बलिङतर्फ पनि सुदूरपश्चिम र जनकपुरकै खेलाडी शीर्षस्थानमा छन्। सुदूरपश्चिमका स्कट कुगेलिन र जनकपुरका ललित राजवंशीले समान १६ विकेट लिएका छन्।
त्यसपछि सातौं नम्बरमा सुदूरपश्चिमका एक र जनकपुरका दुई खेलाडी छन्। सुदूरपश्चिमका सैफ जैब तथा जनकपुरका हर्ष थाकर र किशोर महतोले समान ११ विकेट लिएका छन्।
दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम र अनिल साहको नेतृत्वमा रहेको जनकपुर रोमाञ्चक यात्रा गर्दै फाइनलमा पुगेको हो। साह घाइते भएपछि पछिल्लो पटक आसिफ शेखले जनकपुरलाई सम्हालिरहेका छन्।
आज एनपीएलको फाइनल खेल मध्याह्न १२:३० बजे हुनेछ। एक दिन अघि नै सबै टिकट बिक्री भइसकेकाले नेपाल क्रिकेट संघले घरमै बसेर फाइनल खेल हेर्न आग्रह गरेको छ।