सर्वोच्चको ब्याख्या : दुर्गा प्रसाईंलाई नियतवस थुनामा राख्न खोजियो
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामै राखिराख्ने ‘प्रवृत्त भावना’ले पक्राउ गरिएको भन्दै प्रहरीको अनुसन्धान पद्धतिप्रति गम्भीर प्रश्न उठाएको छ।
विद्युतीय कारोबार नियन्त्रण ऐनको कसूरमा पक्राउ परेका प्रसाईंलाई मंसीर २७ गते जिल्ला अदालत, काठमाडौंले ४० हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। त्यस लगत्तै प्रहरीले फिरौती असुलको अर्को कसूरमा पक्राउ गरेको थियो।
त्यसपछि प्रसाईंले आफूलाई गैरकानूनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न दिएको आदेशमा प्रहरीको अनुसन्धान शैलीबारे प्रश्न उब्जाएको हो। थुनामै राख्न उद्यत भएर प्रसाईंलाई पक्राउ गरिएको आदेशमा छ।
धरौटीमा छोड्नुभन्दा अघि नै परेको अर्को उजुरीमा पुनः पक्राउ गर्नुलाई कानूनको उचित प्रयोग भन्न नमिल्ने पनि आदेशमा उल्लेख छ। आफ्नै हिरासतमा रहेका प्रसाईंलाई विद्युतीय कसूरको मुद्दामा पक्राउ गर्नुभन्दा अघि नै परेका सबै उजुरीमा एकैसाथ अनुसन्धान गर्नुपर्नेमा एउटा मुद्दाको अनुसन्धान सकिएपछि मात्रै अर्को मुद्दाको अनुसन्धानमा पक्राउ गर्ने प्रहरीको शैलीमाथि इजलासले प्रश्न उठाएको हो।
सर्वोच्चको संक्षिप्त आदेशमा भनिएको छ, ‘निवेदकलाई थुनामा नै राख्ने प्रवृत्त भावना लिई पक्राउ गरी म्याद थप समेत गरेको देखिन आयो। प्रवृत्त भावनाले राखेको थुनालाई कानून बमोजिमको थुना मान्न मिलेन। यसबाट रिट निवेदकको संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रताको हकमा गम्भीर आघात पुगेको देखिन्छ।”
सर्वोच्चको आदेशपछि प्रसाईं शुक्रबार साँझ रिहा भएका छन्। उनलाई विद्युतीय कारोबार कसूरमा मंसीर ४ गते पक्राउ गरिएको थियो।