भाटभटेनी सुपरमार्केटलाई काठमाडौं महानगरको दुई लाख जरिवाना
अखाद्य खानेकुरा बिक्रीमा राखेको भेटिएपछि काठमाडौं महानगरपालिकाले भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरलाई जरिवाना गरेको छ।
महानगरले स्थलगत अनुगमनका क्रममा ढुसी परेको सुक्खा नरिवल बिक्रीमा राखिएको भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ। “नरिवलमा ढुसीजन्य पदार्थ फेला परेकाले कानून बमोजिम कारबाही गरिएको हो,” काठमाडौं महानगरका निरीक्षण अधिकृत डा. अवधेश झाले बताए।
महानगरको कल सेन्टरमा भाटभटेनीले बासी तथा सडेगलेको खानेकुरा बिक्री गरेको भनी उजुरी परेको र त्यसैका आधारमा अनुगमन गरिएको महानगरले जनाएको छ। अनुगमनपछि ढुसी परेका ४४ वटा नरिवल नष्ट पनि गरिएको छ।
काठमाडौं महानगरको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) र (ड) अनुसारको कसूर गरिएको भेटिएपछि भाटभटेनीलाई कारबाही गरिएको हो। महानगरले जरिवाना रकम महानगरको राजस्व खातामा जम्मा गर्न तथा उच्च गुणस्तर र खाद्य योग्य वस्तुको मात्रै बिक्री गर्न पनि भाटभटेनीलाई चेतावनी दिएको छ।
भाटभटेनी चर्चित व्यवसायी मीनबहादुर गुरुङको लगानीको सुपरमार्केट हो। गुरुङ पछिल्लो समय सत्तारूढ दल नेकपा (एमाले)लाई जग्गादान गरेपछि चर्चामा छन्। उनले एमालेलाई केन्द्रीय कार्यालय बनाउन जग्गादान सहित भवन निर्माण गरिदिने घोषणा गरेका छन्।