दुर्गा प्रसाईंलाई अविलम्ब थुनामुक्त गर्न सर्वोच्चको आदेश
व्यापारीलाई धम्क्याएर पैसा असुलेको आरोपमा प्रहरी हिरासतमा रहेका व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
व्यवसायी प्रसाईं प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा थिए। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र शारंगा सुवेदीको इजलासले उनलाई ‘अविलम्ब थुनामुक्त’ गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले हिमालखबरलाई बताए।
अन्य कुनै घटनामा अनुसन्धान गर्नुपर्ने भएमा उनलाई धरौटी, जमानत वा तारेखमा राखेर तहकिकात गर्न समेत आदेशमा भनिएको कुइँकेलले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम क्षेत्रमा लगानी रहेको कागजात आफूसँग भएको भन्दै सामाजिक सञ्जालमा भनेका थिए। त्यसपछि उनलाई साइबर अनुसन्धान ब्यूरोले विद्युतीय कारोबार नियन्त्रण ऐनको कसूरमा पक्राउ गरेको थियो।
जिल्ला अदालत, काठमाडौंले मंसीर २७ गते उनलाई ४० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिए पनि सीआईबीले अर्को घटनामा संलग्न भएको भन्दै पक्राउ गरेको थियो। यस विरुद्ध प्रसाईंले सर्वोच्च अदालतमा आफूलाई गैरकानूनी हिरासतमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।