जीबी राई विरुद्ध थप तीन कसूरमा मुद्दा दायर
सहकारी ठगीको अभियोगमा फरार रहेका पोखराको सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई विरुद्ध थप तीन कसूरमा मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकीलको कार्यालय, कास्कीले शुक्रबार जिल्ला अदालतमा पूरक अभियोगपत्र दायर गरेको हो। “सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष जीबी राई सहित १९ जना विरुद्ध पूरक अभियोगपत्र दर्ता गरिएको छ,” जिल्ला अदालतका निमित्त स्रेस्तेदार खेमनारायण लामिछानेले भने।
सहकारीपीडित कृष्णप्रसाद जैसी लगायतले सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको भन्दै गत वर्ष प्रहरीमा उजुरी दिएका थिए। त्यसका आधारमा प्रहरीले अनुसन्धान गरेर सहकारीका पूर्व सञ्चालक एवं गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जीबी राई सहित १९ जना विरुद्ध २०८० असोज १८ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। त्यसमै आज पूरक अभियोगपत्र दर्ता गरिएको निमित्त स्रेस्तेदार लामिछानेले बताए।
पूरक अभियोगपत्रमा जीबी राई विरुद्ध थप तीन कसूर लगाइएको छ। पहिलो, सहकारी ठगीसँग सम्बन्धित संगठित अपराधको कसूर लगाइएको छ। संगठित रूपमा सहकारी ठगी गरिएकाले यो कसूर लगाइएको जनाइएको छ।
त्यस्तै, सम्पत्ति शुद्धीकरणमा कसूरमा पनि उनलाई विपक्षी बनाइएको छ। पछिल्लो पटक प्रहरीले गरेको अनुसन्धानमा सम्पत्तिको स्रोत खुल्न नसकेको जनाइएको छ। “पूरक अभियोगपत्रमा सम्पत्ति शुद्धीकरण र राष्ट्र ब्यांक ऐन अनुसार अभियोग थप गरिएको छ,” जिल्ला अदालतका निमित्त स्रेस्तेदार लामिछानेले भने।
यसअघि सहकारी ठगीको अभियोग लगाइएका १९ जनालाई पूरक अभियोगपत्रमा पनि विपक्षी बनाइएको छ। यस पटक बिगो दाबी बढाइएको छ। पूरक अभियोगपत्रमा उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ भराउन माग गरिएको छ। गत वर्ष दर्ता गरिएको अभियोगपत्रमा एक अर्ब ११ करोड १९ लाख ४३ हजार ५४ रुपैयाँ भराउन माग दाबी गरिएको थियो।
यसअघि सहकारी ठगीको अभियोग लागेका १९ मध्ये १६ जनालाई संगठित अपराधको कसूरमा पनि विपक्षी बनाइएको छ। जीबी राईसँगै उनीहरू पनि संगिठत भएर सहकारी ठगीमा संलग्न देखिएको पूरक अभियोगपत्रमा उल्लेख छ।
पूरक अभियोगपत्रमा पनि जीबी राईसँगै भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाशकुमार दर्लामी, धीरजकुमार दास, कुमार रम्तेल, हेमन्त अधिकारी, कविता तामाङ, प्रमोद भट्टराई, अनुज नकर्मी, सुरज श्रेष्ठ, शिवबहादुर गुरुङ, भवीश्वर अर्याल, आइस्मा गुरुङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर र बुद्धि गुरुङलाई विपक्षी बनाइएको छ।
सूर्यदर्शन सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी विरुद्ध आइतबार अभियोगपत्र दर्ता गरिने भएको छ। गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएका लामिछाने प्रहरी हिरासतमा छन्। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद शुक्रबारसम्म छ। शनिबार बिदा परेकाले आइतबार मुद्दा दर्ता गर्ने जिल्ला सरकारी वकीलको कार्यालयले जनाएको छ।
पूर्व डीआईजी जोशीलाई गत असोज ६ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो। उनलाई हिरासतमा राखेको शुक्रबार ९० दिन पुगेको छ। सम्पत्ति शुद्धीकरण कसूरमा ९० दिन हिरासतमा राख्न पाउने कानूनी व्यवस्था छ। एउटै कसूर भएकाले पूर्व गृहमन्त्री लामिछाने र पूर्व डीआईजी जोशी विरुद्ध आइतबार अभियोगपत्र दर्ता गर्ने तयारी छ।