नेपाली वैज्ञानिकको संसार शयर
पूर्वी पहाडबाट अमेरिका पुगेका डा. चन्द्र गिरीले संसारका १२६ मुलुक चहार्दाको अनुभूतिलाई पुस्तकमा उतारेका छन्।
घुमफिर किन गरिन्छ? बौद्ध दर्शनको महत्त्वपूर्ण शाखा महायान मीमांसा अन्तर्गतको ग्रन्थ बोधिसत्वाचर्यावतारमा घुम्नुको महत्ता दर्शाइएको छ। यसमा ‘दुःखम् हन्तुम् सुखम् प्राप्तुम् ते भ्रमन्ति मुधाम्बरे’ अर्थात् जिज्ञासुहरू शोक बिर्सन र सुखानुभूति गर्न अन्तरिक्षमा घुमिरहन्छन् भनिएको छ।
तर सबैले सधैं घुम्न कहाँ पाउँछन् र! आर्थिक, सामाजिक कारणले नेपालीको भागमा घुम्नुको सहजता परेन। भूपरिवेष्टित मुलुकका बासिन्दा भएकाले यसै पनि नेपालीको विदेशी मुलुकसँगको सम्पर्क साँघुरो हुने नै भयो।
जसले गर्दा केही दशकअघिसम्म पनि नेपालीको घुम्ने चलन काशी, बद्री-केदारको तीर्थयात्रामा सीमित थियो। केही गोर्खाली सेनाका रूपमा लडाकूहरू देशविदेश पुगेसँगै नेपालीको यात्रा फराकिलो बन्दै गयो।
यस सँगसँगै घुम्न गएको ठाउँको वर्णन लेखिन थाल्यो। त्यस्ता लेखनी तीर्थाटनको वर्णनबाट शुरू भए।
राणाकालमा केही सीमित वर्गका मानिसका लागि घुम्न पाउनु आर्थिक हिसाबले सम्भव भए पनि राजनीतिक हिसाबले सहज थिएन। फेरि त्यो वेला तीर्थाभिषेक वा अन्य उद्देश्यले यात्रा गर्न पाएकाहरूले पनि लेख्दैनथे वा आजको जस्तो लेखनको सहजता थिएन।
२००७ सालमा प्रजातन्त्र आएसँगै नेपालीले अध्ययन भ्रमणका लागि विदेश जाने अवसर पाउँदै गए। अनि यात्रा साहित्य पनि लेखिंदै गयो। प्रजातन्त्रसँगै हुर्कन थालेको यात्रा साहित्य २०४६ सालसम्म आइपुग्दा विभिन्न बान्कीमा फस्टाउँदै आयो। त्यसपछि प्रविधि र सञ्चार सञ्जालको विस्तारले यात्रा साहित्य झांगिंदै गयो।
पछिल्ला दुई-तीन दशकमा नेपालीले यूरोप, अमेरिका र अन्य क्षेत्रमा बलियो उपस्थिति जनाउँदै गर्दा डायस्पोरिक साहित्यसँगै यात्रा साहित्यमा पनि उनीहरूको उपस्थिति देखिन थालेको छ। यात्रा साहित्य लेख्ने थोरै लेखकमा वैज्ञानिक डा. चन्द्र गिरीको पनि नाम आउँछ। विश्वका विभिन्न मुलुक घुम्दाको अनुभवलाई गिरीले संसारको सेरोफेरो मार्फत पाठकसामु ल्याएका छन्।
खोटाङको चिमचिममा जन्मिएका गिरी वन विज्ञानको अध्ययनपछि व्यावसायिक जीवन यात्राका क्रममा अमेरिका पुगे। त्यसपछि अन्तर्राष्ट्रिय तहको सम्पर्क-सम्बन्ध स्थापित भयो। वनविज्ञ गिरीले कामका क्रममा विश्वका १२६ मुलुक पुग्ने अवसर पाए।
कहिले घुम्नै मात्र पनि विभिन्न देश चहारे त कहिले कामका सिलसिलामा। यात्राका क्रममा भोगेका तीतामीठा अनुभवलाई उनले संसारको सेरोफेरो पुस्तकमा ३६ वटा नियात्रामा पस्किएका छन्।
पुस्तकमा एशियाली मुलुक भारत, श्रीलंका, माल्दिभ्स, बाङ्लादेश पुग्दाको वर्णन छ। खाडीका विभिन्न मुलुक र अफ्रिकी महादेशका विभिन्न भाग घुम्दाका कथा छन्। दक्षिण अमेरिकी मुलुकहरू मेक्सिको, ब्राजिल, कोलम्बिया लगायत देश पुग्दाका कहानी छन्।
पुस्तकको शुरूआत गाउँठाउँबाट भविष्य निर्माण गर्न सदरमुकाम र देशको राजधानी काठमाडौं आउँदाको वर्णनबाट हुन्छ। नेपाली जनजीवन र पहाडी बाल्यकालबारे बताउने ‘दौराको फेर समातेर हजुरबाको पछि लाग्दा’ र ‘त्यो हलेसी, यो हलेसी’ ले पुराना दिनमा लैजान्छन्। यात्रा अनुभवको यो प्रवाहमा अधिकांश नेपाली आफूलाई आत्मसात् गर्न सक्छन्।
लेखकले आफू घुमेको ठाउँको सरसर्ती वर्णन गरेका छन् भने भोगेका तीतामीठा अनुभवलाई पनि उतारेका छन्। कहीं त्रास र डरले राज गर्छ भने कहीं हँसीमजाक र रमाइलो हुन्छ।
एक पटक मुम्बईमा रहेको मेन्ग्रोब जंगल निरीक्षण गर्न जान लाग्दा प्रहरीले घूस माग्छन्। ती प्रहरी पनि कति आँटी भने ‘अलिकति घूस नखाई जानै दिन्नँ’ भनेर ढिपी गर्छन्। प्रहरीको तर्क छ, ‘अरू ठाउँमा खटिएका पुलिसले पैसा पाउँछन्, मैले किन नपाउने?’ (पृ. ५२)।
अविकसित राष्ट्रका कर्मचारीको मनोवृत्तिलाई मुलुकको अवस्थाको संकेत मान्ने हो भने मुम्बईका ती प्रहरीको सोचले भारतमा व्याप्त पछौटेपन र टाक्सिएको नैतिकतालाई प्रदर्शन गरेको छ।
‘आकाशमा अत्यास’ लेखमा हवाई यात्रा गर्दाका विभिन्न अत्यासलाग्दा अनुभव समेटेका छन्। यसमा २०४६ सालमा विराटनगरको हवाई यात्रा गर्दा मौसमको गडबडीले सिमरामा विमान अवतरण गरेको डरलाग्दो अनुभवलाई उतारेका छन्।
मौसमको खराबीले उडान असम्भव रहेको बताउँदा बताउँदै पनि विमानमा सवार मन्त्रीले ‘तँ जान्ने कि म जान्ने’ भन्दै पाइलटलाई उडाउन बाध्य पारेका रहेछन्। लेखकले आफ्नो पहिलो विमान उडानका क्रममा ती मूर्ख मन्त्रीका कारण विमानमा सवार सबै यात्रुको इहलीला झन्डै समाप्त भएको अनुभव उतारेका छन्।
अहिलेका मन्त्रीले न त्यो तहको मूर्खता प्रदर्शन गर्लान् न त विमान चालक नै त्यति लाचार होलान्। यद्यपि यो घटना भएको ३५ वर्षपछि पनि राजनीतिक नेतृत्व र राजनीतिक संरचनाले विज्ञताको धज्जी उडाउने प्रवृत्ति भने जारी नै छ। लेख पढिरहँदा मुम्बईका घुस्याहा प्रहरीलाई पनि माथ गर्ने ल्याकत नेपाली मन्त्रीले राख्ने रहेछन् भने जस्तो पनि लाग्छ।
‘डेरियन ग्यापको डरलाग्दो कथा’ लेखमा अमेरिका जाने नर्कको बाटाका रूपमा कुख्याति कमाएको स्थानको वर्णन गरेका छन्। लेखमा लाखौं रुपैयाँ खर्च गरी ज्यान नै माया मारेर अमेरिका जान चाहनेहरूका दारुण अवस्था उजागर गरिएको छ।
अमेरिकाको पुर्डो बे, अलास्कादेखि टिएरा डेल फुगो, अर्जेन्टिनासम्म फैलिएको प्यान अमेरिकन हाइवेमा पानामा र कोलम्बिया सीमाक्षेत्रको १०० किलोमिटर बाटो जोडिएको छैन। त्यही भएर यसलाई ‘डेरियन ग्याप’ भनिंदो रहेछ। यो खतरनाक बाटो आपराधिक संगठनको आश्रयस्थल पनि रहेछ। यस क्षेत्रमा अवैध लागूपदार्थ ओसारपसार गर्ने कोलम्बियाको ठूलो समूह क्लान पारा मिलिटरी ग्रूप, कोलम्बियाको सशस्त्र छापामार समूह फार्क लगायत अन्य सशस्त्र समूहको उपस्थिति हुँदो रहेछ।
त्यहाँ लेखकले सयौं टेन्टछेउमा एक हजारभन्दा बढी आप्रवासी लाइन लागेर बसेका देख्छन्। सबैको गन्तव्य अमेरिका पुग्नु हो। तर सबै अमेरिका पुग्न पाउँदैनन् र पुगेका पनि सबै अमेरिकामा बस्न पाउँदैनन्, आफ्नै घर फर्काइन्छन्।
त्योभन्दा पहिले डेरियन ग्यापको खतरनाक जंगल पार गर्नुपर्छ। यो जंगल पार गर्न पाँचदेखि १० दिनसम्म हिंड्नुपर्छ। बाटोमा स्वास्थ्य, आवास, खाना केहीको सुविधा उपलब्ध हुँदैन। जंगलमा सुविधा होस् पनि कसरी?
फेरि विषालु सर्प र कीरा, चितुवा तथा अन्य वन्यजन्तुको डर उस्तै। साथमा मलेरिया र डेंगी जस्ता रोगको जोखिम पनि। घाम र पानीको टुंगो छैन। कोही बिरामी भयो भने कसैले कुर्नेवाला पनि छैन। बर्सेनि सयौंको त्यहीं इहलीला समाप्त हुँदो रहेछ। ज्यान हत्केलामा राखेर गरिने यात्रा वर्णन पढिरहँदा आखिर मान्छे किन यो नर्कको बाटोमा जान चाहन्छन् भन्ने प्रश्नले मनमा घरीघरी आक्रमण गरिरहन्छ।
लेखक वनविज्ञ भएका कारण पुस्तकमा संसारका जैविक विविधताका स्रोत वन, जंगल र पशुपन्छीबारे पनि राम्रै वर्णन छ। पाठकले अफ्रिकामा पाइने मनमोहक फ्लेमिंगो चराबारे जानकारी पाउँछन् भने मेक्सिकोमा पाइने मोनार्क पुतलीबारे पनि थाहा पाउँछन्। केन्या र तान्जानियाको सीमाक्षेत्रमा अवस्थित मसाई मारा आरक्षण क्षेत्रमा पुग्दाका वर्णनले पाठकलाई अफ्रिकी सफारीको आनन्दबारे बताउँछ।
नाइल नदीको उद्गम भिक्टोरिया लेक पुग्दाको वर्णन लोभलाग्दो छ। पानामा नहरमा यात्राको गर्दाको रोमाञ्चलाई पनि सजीव ढंगले उतारिएको छ। माल्दिभ्सको समुद्रमुनिको रेस्टुरेन्टमा खाना खाँदाको अनुभव रोचक छ।
पुस्तकमा समाविष्ट ३६ लेखमा अधिकांश मझौला आकारका छन्, ६ देखि आठ पृष्ठ लामा। पढ्दै जाँदा लेख सकिएको पत्तै हुँदैन, तर पाठकको जिज्ञासा मेटिंदैन। तसर्थ कतिपय सन्दर्भ र विषयमा लेखक विस्तारमा जान सकेको भए पुस्तक अझ प्रभावकारी हुन्थ्यो।
त्यस्तै, लेखहरूको पाठ संयोजनले पनि पाठकलाई अलमल बनाउँछ। नेपाल, भारत, एशिया, अफ्रिका गरेर वर्गीकरण गरेको भए पाठकलाई अलमल हुँदैनथ्यो। कहिले नेपाल अनि अफ्रिका, त्यहाँबाट अमेरिका र फेरि एशिया अनि दक्षिण अमेरिका पुग्दा भूगोलको तादात्म्य मिलाउन गाह्रो पर्छ।
आइरिस कवि ओस्कर वाइल्डले ‘जीवनमा कुनै गुनासो नहोस्, घुम्दा कुनै पछुतो नहोस्’ भनेर घुम्नुको मजा स्थापित गर्न खोजेका छन्। नियात्रा पढ्दा पाठकले पनि यात्राका विविध अनुभूतिको आनन्द लिन सक्छन्। संसारको सेरोफेरोले पनि कोठामै बसेर पाठकलाई संसार डुलाउँछ।