जहाजसँगै पैसा उडाउँदै टीकापुर
टीकापुर विमानस्थल चलाउन स्थानीय सरकारले हवाई कम्पनीसँग प्रत्येक उडानमा आतेजाते ३० यात्रुसम्मको भाडा बेहोरिदिने सम्झौता गरेको छ।
झन्डै २७ वर्ष बन्द रहेको कैलालीको टीकापुर विमानस्थल गत मंसीर ३० देखि पुनः सञ्चालनमा आएको छ। २०५३ माघमा माओवादीको सशस्त्र द्वन्द्वलाई कारण देखाउँदै बन्द गरिएको विमानस्थल खुलाउन यसबीच तीन अध्ययन समिति बने। तर सशस्त्र द्वन्द्व टुंगिएको डेढ दशकभन्दा बढी बितिसक्दा पनि टीकापुरमा जहाज पुगेनन्। बरु विमानस्थलको जग्गा घरी सुकुमबासी त घरी मुक्त कमैयाको अतिक्रमणमा पर्यो।
विमान कम्पनीहरूले पर्याप्त यात्रु नपाउने जस्ता कारण देखाउँदै उडान गर्न मानिरहेका थिएनन्। यस्तोमा गत मंसीर ३० गते दिउँसो १:४४ बजे तारा एअरको वाइटी १७०१ ट्वीनअटर विमान चालक दलका तीन सदस्य सहित ६ कर्मचारी र १२ यात्रु बोकेर त्यहाँ पुग्यो। विमान कम्पनी अहिले टीकापुर जान तयार भएको टनाटन यात्रु पाउने भएर भने होइन। यसमा टीकापुर नगरपालिका र एअरलाइन्स कम्पनीबीच भएको एउटा सम्झौताले काम गरेको छ।
नगरपालिकाले विमान कम्पनीलाई एक उडानमा १५ यात्रु बराबरको भाडा बेहोरिदिने सम्झौता गरेको छ। नगरपालिकाले घाटा हुन नदिने व्यवस्था गरिदिएपछि कम्पनीहरू टीकापुर जान तयार भएका हुन्। टीकापुरदेखि काठमाडौंसम्मको एकतर्फी भाडा नौ हजार रुपैयाँ तोकिएको छ।
मेयर रामलाल डगौरा थारू नगरपालिकाले पैसा तिरिदिने भएपछि विमानस्थल सञ्चालनमा आएको बताउँछन्। उनका अनुसार अहिले तारा र यती एअरलाइन्ससँग उडान सम्झौता भएको छ भने श्री र बुद्ध एअरलाइन्ससँग पनि सम्झौताको तयारी छ। “एअरलाइन्सले यात्रु नपाए तेल र व्यवस्थापन खर्च पनि उठ्दैन भन्न थाले। त्यसैले उनीहरूलाई स्थानीय सरकार साथमा रहेको अनुभूति गराउन यस्तो सम्झौता गरेका हौं,” थारू भन्छन्।
सरकारले यातायात पहुँच बढाउन भौतिक संरचना निर्माण सहितका बन्दोबस्ती गर्नुपर्ने भए पनि यसरी आफैंले भाडा तिरिदिएर उडान सञ्चालन गराउनुलाई कतिपयले नागरिकले तिरेको करबाट गरिएको अनावश्यक खर्चका रूपमा टिप्पणी गरिरहेका छन्। यात्रु नहुँदानहुँदै उडान गराउनुलाई उनीहरू नगरपालिकाको ‘महँगो रहर’ बताइरहेछन्।
मेयर थारू भने यात्रु नपाउने स्थिति नभए पनि त्यस्तो भ्रम फैलाएर विमानस्थल चल्न नदिइएकाले त्यसलाई चिर्न तत्काललाई यस्तो निर्णय गरिएको बताउँछन्। “यात्रु हुन्छन्, नगरपालिकाले पैसा तिर्नुपर्ने स्थिति छैन, म आफैं अस्ति १६ जना यात्रु सहित टीकापुरबाट काठमाडौं आएँ,” उनी भन्छन्, “विमान कम्पनीलाई विश्वास दिलाउन मात्र यस्तो निर्णय गरिएको हो।”
थारूका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाको केन्द्र रहे पनि टीकापुरमा विमानस्थल पुनः सञ्चालन गर्न संघ र प्रदेश दुवैले चासो नदेखाएपछि स्थानीय सरकार आफैं तातेको हो। सम्झौता एक वर्षका लागि भएको र शुरूमा तीन महीना परीक्षणका रूपमा हेरिने पनि उनले बताए। “विमानस्थल सञ्चालन भएपछि पर्यटक आउने भएकाले यहाँको व्यापार पनि बढ्छ,” थारू भन्छन्, “छिटै धनगढी विमानस्थलसँग प्रतिस्पर्धा गर्न थाल्नेछ।”
यो विमानस्थलको रेखदेख नेपाल नागरिक उड्डयन प्राधिकरणले गरिरहेको थियो। अहिले प्राधिकरणसँग सम्झौता गरी नगरपालिकाले धावनमार्ग ग्राभेल गरेर सञ्चालनमा ल्याएको हो। नयाँ संरचना नबनाई पुरानै संरचना सरसफाइ गरेर काम चलाइएको मेयर थारू बताउँछन्। “नागरिक उड्डयन प्राधिकरणले करीब २७ बिघा जग्गा लामो समय रोक्का मात्र गरिरह्यो, उपयोग गर्न सकेन,” उनी भन्छन्, “यो भनेको अहिलेको मूल्यमा खर्बौंको सम्पत्ति हो। टीकापुर विकास समिति वा नगरपालिकालाई जिम्मा दिइएको भए केही उपयोग हुन्थ्यो होला। त्यही नहुँदा बाख्रा चर्ने ठाउँ बनिरहेको थियो। अहिले हामीले उपयोग गर्न लागेका हौं।”
थारूका भनाइमा काठमाडौंदेखि नेपालगन्जसम्म यती एअरलाइन्स मार्फत र त्यहाँबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत तारा एअरले टीकापुरमा यात्रु ल्याउने गरी व्यवस्थापन गरिएको छ। सातामा दुई दिन आइतबार र बिहीबार काठमाडौं-नेपालगन्ज-टीकापुर र टीकापुर-नेपालगन्ज-काठमाडौं उडान हुनेछ। नेपालगन्जमा आधादेखि एक घण्टासम्म ‘ट्रान्जिट’ हुन्छ। “टीकापुरमा तेल हाल्ने व्यवस्था नभएकाले यस्तो गर्नुपरेको हो,” थारू भन्छन्, “जे भए पनि यो विमानस्थल चलेपछि जहाज चढ्न धनगढी र नेपालगन्ज धाउनुपरेका टीकापुर आसपासका बासिन्दालाई सहज हुनेछ।” काठमाडौं-टीकापुरको एकतर्फी भाडा नौ हजार रुपैयाँ निर्धारण गरिएको छ।
तारा एअरका अनुसार काठमाडौंबाट बिहान १० बजे यतीको विमानले नेपालगन्जका लागि उडान भर्छ भने त्यहाँबाट दिउँसो साढे १२ बजे ताराको विमान यात्रु लिएर टीकापुर पुग्छ। त्यही दिउँसो १ः२० बजे ताराको विमान नेपालगन्ज पुग्छ। त्यहाँबाट दिउँसो २ः०५ मा यतीको विमानले यात्रु काठमाडौं लैजाने तालिका बनाइएको छ।
१८ सीट क्षमताको जहाजमा कम्तीमा १५ यात्रु पुग्नुपर्ने र त्यति यात्रु नपुगे खाली रहेका प्रत्येक सीटको भाडा नगरपालिकाले बेहोर्ने सम्झौता छ। यसरी हेर्दा जहाज यात्रुविहीन भएको अवस्थामा प्रतिउडान आतेजाते ३० जनाको भाडाको भार नगरपालिकालाई पर्न जान्छ। साताको दुई उडान हिसाब गर्दा अधिकतम ६० यात्रुको खर्च प्रतिसीट नौ हजारका दरले पाँच लाख ४० हजार रुपैयाँसम्म हुन्छ। महीनैभरि उडान यात्रुविहीन भए यो खर्च २१ लाख ६० हजार रुपैयाँसम्म पुग्छ।
नेपाल नगरपालिका संघका पूर्व अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिका मेयर अशोककुमार ब्यान्जू नागरिकलाई सेवासुविधा दिनु स्थानीय तहको दायित्व भए पनि यसरी हवाई कम्पनीलाई पैसा दिएर उडान गराउनु सही नभएको बताउँछन्। ब्यान्जूका अनुसार टीकापुरको यो निर्णय नागरिकलाई सुविधा नभएर हवाई कम्पनीलाई फाइदा दिने किसिमको छ।
“यात्रु बढाउने र त्यसबाट लाभ लिन एअरलाइन्सले विज्ञापन गर्ने हो, नगरपालिकाको बजेट दुरुपयोग गर्ने होइन,” उनी भन्छन्, “राज्यले यात्रु आउने वातावरण सिर्जनासम्म गरिदिन सक्छ, तर यसरी यात्रु नै आफैंले खोजेर ल्याउनु गलत हो।” ब्यान्जूका अनुसार कमजोर, अशक्त, विपन्न व्यक्ति र आपत्कालीन अवस्थाका लागि यस्तो निर्णय गरिएको भए चाहिं स्वागतयोग्य हुन सक्थ्यो।