कर्णालीलाई पराजित गर्दै जनकपुर फाइनलमा
कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको एनपीएलको क्वालिफायर टूमा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गरेको हो। फाइनल सुदूरपश्चिम रोयल्स र जनकपुरबीच हुने भएको छ।
कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले आठ विकेटको क्षतिमा एक ओभर बाँकी छँदै पूरा गरेको हो।
जनकपुरका लागि जेम्स निशामले १७ बलमा सर्वाधिक ४५ रन जोडे भने हर्ष थाकरले २६ बलमा १७ रन बनाए। म्यान यादव १८ बलमा १४ रन बनाएर आउट भए। त्यस्तै, आकाश त्रिपाठी २० बलमा १३ रन बनाउँदै जिशान मक्सूदको बलमा क्याच आउट भए।
त्यसैगरी, जनकपुरका ललित राजवंशी, मोहम्मद मोहसिन र जेम्स निशमले दुई-दुई तथा हर्ष थाकर र शेर मल्लले एक-एक विकेट हात पार्न सफल भए। हर्ष थाकरले १३ रन, ललित राजवंशीले २२ रन, किशोर महतोले ३४ रन, मोहम्मद मोहसिनले १४ रन र जेम्स निशामले ३० रन दिए।
यसअघि कर्णाली याक्सका लागि गुलशन झाले २० बलमा सर्वाधिक २५ रन बनाएका थिए भने देव खनालले २० बलमा २४ रन जोडेका थिए। त्यस्तै, विलियम बोसिस्टो १४ रन र जिशान मक़्सूद १२ रन जोड्न सफल भए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कर्णाली याक्सका लागि विपिन शर्माले चार ओभरमा १७ रन दिंदै तीन विकट लिए। त्यस्तै, सोमपाल कामी, विलियम बोसिस्टो र जीशान मक्सूदले एक-एक विकेट लिए।
खेलमा सोमपाल कामीले तीन ओभरमा २३ रन खर्चे भने विलियम बोसिस्टोले तीन ओभरमा २५ रन दिएका थिए। त्यस्तै, चार ओभरमा २७ रन दिएका नन्दन यादवले एक विकेट पनि हात पार्न सकेनन्।
खेलमा जनकपुरका जेम्स निशम ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई विपिन शर्माले आउट गरेका थिए।