फाइनल प्रवेशका लागि भिड्दै जनकपुर र कर्णाली
नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन्।
सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा पुगिसकेको छ। बुधबार जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको थियो। फाइनलमा पुग्ने दोस्रो टोलीका लागि आज जनकपुर र कर्णालीबीच प्रतिस्पर्धा हुन लागेको हो।
पछिल्ला पाँच खेल हेर्दा जनकपुरभन्दा कर्णाली बलियो देखिएको छ। जनकपुरले खेलेका पछिल्ला पाँच खेलमा दुई खेल जितेको छ भने तीन खेल हारेको छ।
जनकपुर पहिलो क्वालिफायरमा बुधबार सुदूरपश्चिमसँग पराजित भएको थियो। त्यस्तै, एनपीएलको समूह चरणमा चितवन र सुदूरपश्चिमसँगै पराजित भएको थियो।
लिग चरणको शुरूआतमा राम्रो प्रदर्शन गरेको जनकपुरले अन्तिम चरणमा भने लय समात्न सकेको थिएन। कप्तान अनिल साह घाइते भएपछि कमजोर देखिएको छ।
कर्णालीले भने पछिल्ला पाँचमध्ये चार खेल जितेको छ। बुधबार भएको इलिमिनेटरमा चितवनलाई पराजित गरेर दोस्रो क्वालिफायरमा पुगेको हो। कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको थियो।
समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो। तथापि रनरेटका आधारमा काठमाडौंलाई पछि पार्दै प्लेअफमा पुगेको थियो। त्यसअघिका तीन खेल लगातार जितेको थियो।
फाइनल प्रवेशका लागि आज जनकपुरसँग प्रतिस्पर्धा गर्दा पनि कर्णाली उच्च मनोबल सहित मैदानमा उत्रिनेछ। पछिल्ला दुई खेल लगातार हारेकाले जनकपुरलाई मनोबल उच्च बनाउन भने गाह्रो हुनेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा आज मध्याह्न १२:३० बजे जनकपुर र कर्णालीबीच खेल हुँदै छ। विजेता टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ।