अमेरिकामा रहेका एकतिहाइ नेपाली प्रविधि क्षेत्रमा
अमेरिका पुगेका एकतिहाइ नेपाली प्रविधि क्षेत्रमा कार्यरत रहेको एक अध्ययनले देखाएको छ।
थिंक ट्यांक संस्था सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस)ले सार्वजनिक गरेको ‘नेपाली माइग्रान्ट ड्रीम्स इन द अमेरिकन ल्यान्डस्केपः एन एक्सप्लोरेशन अफ द नेपाली डायस्पोरा इन द युनाइटेड स्टेट्स’ प्रतिवेदनमा यस्तो देखिएको हो। अमेरिकामा ३४.७ प्रतिशत नेपाली प्रविधिको क्षेत्रमा कार्यरत रहेको अध्ययनमा देखिएको छ।
त्यस्तै, स्वास्थ्य क्षेत्रमा १६.१ प्रतिशत, वित्त क्षेत्रमा ८.२ प्रतिशत, शिक्षा क्षेत्रमा ७ प्रतिशत र खाद्य तथा होटल सेवा क्षेत्रमा ६.८ प्रतिशत नेपाली कार्यरत रहेको पाइएको छ।
यसैगरी, कानूनी तथा सार्वजनिक सेवा क्षेत्रमा ६.३ प्रतिशत, वातावरण तथा कृषि क्षेत्रमा ४.३ प्रतिशत र युटिलिटी क्षेत्रमा ४ प्रतिशत कार्यरत रहेको अध्ययनले देखाएको छ।
यसरी अमेरिकामा काम गर्ने २० प्रतिशत नेपालीको वार्षिक आय १५ हजार डलरसम्म रहेको देखिएको छ। त्यस्तै, १२ प्रतिशतको आय १५ हजारदेखि ३० हजार डलर, ७.४५ प्रतिशतको आय ४५ हजारदेखि ६० हजार र ७ प्रतिशतको ७५ हजारदेखि ९० हजार डलर छ। यसैगरी, एक लाख ३५ हजारदेखि एक लाख ५० हजार डलर कमाउने नेपाली २ प्रतिशत मात्र छन्।
अमेरिकामा रहेका ६० प्रतिशत नेपालीले रेमिटेन्स पठाउने गरेको पनि अध्ययनमा उल्लेख छ। सन् २०२३ मा १.२८ अर्ब डलर रेमिटेन्स नेपाल भित्रिएको देखिएको छ। विदेशबाट नेपाल आउने रेमिटेन्सको १२ प्रतिशत अमेरिकाबाट आउने गरेको अध्ययनमा उल्लेख छ।
अध्ययन अनुसार धेरैजसो नेपालीले शैक्षिक अवसरका लागि अमेरिका पुगेको बताएका छन्। शैक्षिक अवसरका लागि अमेरिका पुगेको बताउने नेपाली ५८ प्रतिशत छन्। डा. अरुण जोशी, विभव प्रधान र रुजेल श्रेष्ठले अध्ययन गरेका हुन्।