ठगीको आरोपमा पक्राउ परेका थईन्द्रलाई धरौटीमा छाड्न आदेश
ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी थईन्द्र रिजाललाई धरौटीमा छाड्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ।
न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले बताए। “इजलासबाट १५ लाख धरौटीमा छाड्न आदेश भएको छ,” शर्माले भने।
खानी तथा भूगर्भ विभागबाट विभिन्न खनिजजन्य पदार्थ खोजतलासको लाइसेन्स लिएर व्यापारिक साझेदार भित्र्याउने नाममा रिजालले लामो समयदेखि ठगी गर्दै आएको पाइएको थियो। यस विषयमा हिमालखबरले मंसीर ४ मा विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो।
जिल्ला प्रहरी परिसर, काठमाडौंले रिजाल र उनका छोरा सुयज्ञलाई मंसीर ५ गते साँझ पक्राउ गरेको थियो। आज भएको थुनछेक बहसपछि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।
रिजालले ६६ अर्ब रुपैयाँको ग्रेनाइट रहेको प्रतिवेदन देखाएर आफूसँग दुई करोड रुपैयाँ ठगी गरेको भन्दै इन्द्रकुमार राई (सन्तकुमार गुरुङ)ले प्रहरीमा जाहेरी दिएका थिए। रिजालले काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिका-५, च्यासिङखर्कमा ग्रेनाइटको ठूलो खानी भएको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन देखाएपछि आफूले विश्वास गरेर लाइसेन्स किन्न सम्झौता गरेको गुरुङले जाहेरीमा लेखेका छन्। यद्यपि आफूलाई अर्कै ठाउँमा लाइसेन्सको क्षेत्र देखाइएको उनले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
खानी तथा भूगर्भ विभागले नै चण्डेश्वरी केसीका नामबाट रिजालले २०८० असोजमा बुझाएको ग्रेनाइट खोजतलासको प्रगति प्रतिवेदन नक्कली भएको आफ्नो स्थलगत प्रतिवेदन प्रहरीलाई बुझाएको थियो। विभागको प्रतिवेदनका आधारमा प्रहरीले रिजाल बाबुछोरालाई ठगी आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो।
रिजाल नेपाली कांग्रेसका स्थानीय नेता हुन्। उनी अहिले ओमक्रिस ग्रेनाइट कम्पनी चलाउँछन्, जसको सञ्चालक उनका एकाघरका सदस्य छन्।