कालो पत्थर जस्तो माछापुच्छ्रे
हिउँदमा सेताम्य भएर टल्किने माछापुच्छ्रे पछिल्लो समय भने हिउँका लुगा फुकालेर निर्वस्त्र बने झैं कालो पत्थर जस्तो देखिन थालेको छ।
विद्यार्थीलाई पढाउँदा पढाउँदै पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविका उपप्रधानाध्यापक रामबहादुर बानियाँले कक्षाकोठाबाट बाहिर हेरे। जलवायु परिवर्तनले पारेको असरबारे विद्यार्थीलाई केही उदाहरण देखाउनु र सुनाउनु थियो। झ्यालबाट बाहिर माछापुच्छ्रे हिमाल देख्ने बित्तिकै झस्किए। केही बेर घोत्लिएर विद्यार्थीलाई भने, “ल हेर त! जलवायु परिवर्तनले हाम्रा हिमालमा कस्तो असर परिरहेको छ?”
माछापुच्छ्रे हिमाल कालो पत्थर जस्तै ठिंग उभिएको थियो। टुप्पामा अलिकति हिउँ देखिए पनि बाँकी भागमा भने ढुंगैढुंगा देखिन्थे।
बानियाँले स्कूल पढ्दा भने माछापुच्छ्रे यस्तो थिएन। उनी विन्ध्यवासिनी स्कूलमै पढेका थिए। कक्षाकोठाको झ्यालबाटै सेताम्य माछापुच्छ्रे टल्किएको हुन्थ्यो। “सेतैसेतो देखिन्थ्यो। हिउँ नै हिउँले भरिएको हुन्थ्यो,” उनी पाँच दशकअघिको माछापुच्छ्रे सम्झिंदै भन्छन्, “अहिले माछापुच्छ्रे देख्दा त मनमा नरमाइलो लाग्छ।”
माछाको जस्तो पुच्छर देखिने ‘फिस टेल’ अर्थात् माछापुच्छ्रे हिमालका दुवै टुप्पा हिउँले ढाकिएका हुन्थे। यही बेग्लै आकार र सजिलै चिन्न सकिने भएकाले विश्वमाझ नै माछापुच्छ्रे हिमाललाई विशेष मानिन्छ। पोखराको शिरमा बसेको माछापुच्छ्रे अहिले भने पहिलो जस्तो रहेन, कालो पत्थर जस्तो देखिएको छ।
अहिले हिउँद यामले छोपेको छ। चिसो बढ्दै गएको छ। हिउँ फुसफुसाउनुपर्ने समय हो। अझ पुस महीनामा त हिउँ परेर हिमाल सेताम्य हुनुपर्ने वेला हो। तर पोखराबाट देखिने हिमशृंखला हिउँले नढाकिंदा काला भएका छन्।
पोखराको साख बोकेका माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखला त कालो चट्टान जस्तै देखिएका छन्। सेता हिमाल काला देखिन थालेपछि पोखरा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक निराश बनेर फर्किन्छन्। पोखरेलीको त चिन्तनको विषय बनेको छ।
पुस लागेसँगै आकाश खुलेपछि छर्लंग देखिएका हिमाल हेर्दा कवि तीर्थ श्रेष्ठ घोत्लिन्छन्। बाल्यकालमा देखेको माछापुच्छ्रे अब उस्तै नरहेको सुनाउँछन्। “हामीले हुर्किंदा देखेको हिमाल यस्तो कालो थिएन, सेताम्य थियो। माछापुच्छ्रेले आफू निर्वस्त्र भइरहेको बताइरहेको छ,” कवि श्रेष्ठ भन्छन्, “माछापुच्छ्रे कालो पत्थर हुनु संसारलाई दिइरहेको प्रलयको संकेत हो।”
माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमशृंखला नियालेर कल्पनामा डुब्दै कवि श्रेष्ठले कैयन् कविता लेखे। यी हिमाल हेर्दा फुरुङ्ग हुन्थे। तर अहिले हिमालकै अवस्था देख्दा चिन्तित हुन्छन्। “राजाले लगाउने श्रीपेच जस्तो, पोखराको सौन्दर्य बोकेको माछापुच्छ्रे कालो पत्थर भइरहँदा दुःख लागेको छ,” कवि श्रेष्ठ भन्छन्, “मान्छेले गएर हिउँ थप्न सक्ने होइन।”
उनी पोखरा आसपासका ठाउँमा पहिले हिउँ पर्ने गरेको सुनाउँछन्। अहिले बिस्तारै ‘स्नोल्यान्ड’ हराउँदै गएको बताउँछन्। “माछापुच्छ्रे हाम्रो मात्र होइन, सिंगो संसारकै हिमाल हो,” उनी भन्छन्, “विभिन्न अप्राकृतिक क्रियाकलापले हाम्रो हिमालको यस्तो अवस्था भएको छ।”
कवि श्रेष्ठले इंगित गरे जस्तै पोखराबाट नजीकै गाउँमा जाडो याम शुरू भएपछि हिउँ पर्थ्यो। अहिले हिउँ पर्न छाडेको वर्षौं भइसक्यो। दशकअघिसम्म कास्कीको सिक्लेसका घरका छानो हिउँले ढाकिन्थे। अहिले हिउँ नपर्दा गाउँले पनि अचम्ममा परेका छन्। हिउँ नपरेको धेरै वर्ष भएको स्थानीय बासिन्दा सुनाउँछन्।
वातावरणविद् हुम गुरुङ सेता हिमाल कालो बन्दै जानु जलवायु संकटको प्रमाण रहेको सुनाउँछन्। “४० वर्ष पहिले घान्द्रुक, सिक्लेसबाट हेर्दा हिमाल धेरै सेतो, थोरै कालो थियो, तर अहिले चुच्चो मात्रै सेतो अरू धेरै कालो देखिन्छ,” गुरुङ भन्छन्, “यो जलवायु परिवर्तन भइरहेको प्रमाण हो, हाम्रो हिमाल एकदमै छिटो पग्लिरहेको प्रमाण हो।’
उच्च तापक्रम वृद्धिको असर
हालै संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सबैभन्दा ठूलो बैठक कोप-२९ अजरबैजानको बाकु शहरमा सकियो। जहाँ विश्वव्यापी तापमान वृद्धिलाई न्यूनीकरण गर्ने र पर्यावरणमा नोक्सानी पुर्याउने हरितगृह ग्यास उत्सर्जन रोक्ने गरीब देशका लागि कसरी अधिकतम रकम जुटाउने भन्ने विषयमा बहस भयो। नेपालले पनि त्यसमा सहभागिता त जनायो, तर नाम मात्रको भयो कि साच्चिँकै यसबाट लाभ लिन सक्यो भन्ने प्रश्न उठिरहेको छ।
पक्षविपक्षमा चर्चा भइरहँदा बिर्सनै नहुने विषय के हो भने, जलवायु संकटको सबैभन्दा पहिलो र बढी असर हिमाली क्षेत्रमा पर्छ। एकातिर हिमाल नेपालका लागि आकर्षण र अर्थतन्त्रको महत्त्वपूर्ण माध्यम हो भने अर्कातर्फ यही जलवायु संकट, प्राकृतिक विपद्को सबैभन्दा बढी जोखिम पनि नेपाललाई नै छ।
अन्तर्राष्ट्रिय जलवायु परिवर्तन प्यानल (आईपीसीसी)को एक प्रतिवेदनले एशियामा रहेका उच्च पहाडमा प्रतिदशक ०.३ डिग्री सेल्सियसले तापक्रम वृद्धि भइरहेको बताउँछ। जुन विश्वव्यापी तापक्रम वृद्धिको दरभन्दा बढी हो।
तापक्रम वृद्धिले पर्वतीय ढलानहरूको स्थिरता र त्यहाँ रहेका संरचनालाई कमजोर बनाउँदै लगेको छ। एकातिर हिमाली क्षेत्रलाई प्रत्यक्ष प्रभाव परेको देखाउँछ भने अर्कातिर भविष्यमा हुन सक्ने पानीको अभाव, खडेरी, प्राकृतिक विपद्का घटनालाई बढाउने संकेत पनि गर्छ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य तथा जलवायु अध्येता डा. सुवास अधिकारी अहिले मनसुन सकिए लगत्तै पानी कम परेकाले हिमाल कालो पत्थर जस्तो देखिएको बताउँछन्। जलवायु संकटको असर हिमालमा परिरहेको अधिकारीको भनाइ छ। वैज्ञानिकहरूले नै हिमालमा तापक्रम वृद्धि छिटो भइरहेको बताउँदै आएको उल्लेख गर्दै उनी भन्छन्, “जलवायु परिवर्तनले हाम्रा हिमालमा असर परिरहेको छ।”
जल तथा मौसम विज्ञान विभागको तथ्यांकले पनि पछिल्ला वर्षमा उच्च पहाडी क्षेत्रमा वर्षा र तापक्रममा घटबढ भइरहेको देखाउँछ। पोखरामा वार्षिक औसत चार हजार ६१६ मिलिमिटर वर्षा हुने गरेको तथ्यांक छ। गत ५७ वर्षको तथ्यांक हेर्दा पछिल्ला केही वर्षमा कहिले कम त कहिले अत्यधिक वर्षा भएको देखिन्छ।
जल तथा मौसम विज्ञान विभाग पोखराका अनुसार सन् १९६७ देखि २०२४ सम्मको अवधिमा सबैभन्दा बढी वर्षा सन् २०२० मा भएको छ। यस वर्ष पाँच हजार ४५४.३ मिलिलिटर पानी परेको थियो।
वातावरणविद् गुरुङ पनि जलवायु संकटले पानी पर्ने चक्रमा असर परेको बताउँछन्। अहिले सही समयमा पानी नपर्ने, सही समयमा हिउँ नपर्ने, हिउँ पर्ने ठाउँमा पानी पर्ने गरेकाले हिमाल तीव्र रूपमा पग्लिरहेको उनी बताउँछन्। यसले नेपालको पर्यटन र कृषिमा सबैभन्दा बढी असर गरिरहेको उनको भनाइ छ। “हिउँ पर्नु, पानी पर्नु खेतीपातीका लागि सबैभन्दा ठूलो मल हो। अब त्यो नै नहुनु चिन्ताको विषय हो,” गुरुङ भन्छन्।
नेपाल भन्ने बित्तिकै हिमाल पर्याय जसरी आउने गरेको छ। हिउँ कम हुँदै जाँदा तत्कालीनसँगै दीर्घकालीन असर पर्ने विज्ञ बताउँछन्। हिमाल कालो हुँदै जाँदा र हावाको गुणस्तर बिग्रिरहँदा पर्यटनलाई मुख्य असर परिरहेको वातावरणविद् गुरुङ सुनाउँछन्। उनी थप्छन्, “हिमाल नै हाम्रो आकर्षण हो, कालो पहाड हेर्न त पक्कै कोही आउँदैन।”
स्थानीय र प्रदेश स्तरबाटै जलवायु संकट न्यूनीकरणका लागि काम नगरिंदा जलवायु संकट थप जटिल बन्दै गएको विज्ञहरू मत छ। जलवायु अध्येता डा. अधिकारी जलवायु संकटबारे संवेदनशील भएर योजना बन्न नसकेको औंल्याउँछन्। “नेताहरूको भाषणमा जलवायु परिवर्तनको विषय भए पनि योजना, नीति, बजेटमा भने यसबारे सोचिएको छैन,” डा. अधिकारी भन्छन्, “हाम्रा बजेटहरूमा जलवायुलाई भन्दा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिन्छ।”
संकटमा पोखराको पर्याय
माछापुच्छ्रे, फेवा ताल र पोखरालाई लिएर गीत रचिए, गाइए, चित्र कोरिए, तस्वीरमा कैद भए। पोखराबाट प्रभावित भएर प्रेमप्रकाश मल्लले ‘माछापुच्छ्रे फेवा तालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकैको पोखरा नै रैछ’ गीत लेखे। मल्लकै स्वरमा रहेको यो गीत लोकप्रिय बन्यो।
त्यस्तै, माछापुच्छ्रे र पोखरालाई पर्याय बनाएर गीतकार दिनेश सुब्बाले एउटा गीत लेखे, ‘फेवा तालको आँगनमा लैलै माछापुच्छ्रे छाया।’ शम्भुजित बास्कोटाले संगीत भरेको यो गीत प्रकाश श्रेष्ठको स्वरमा गुन्जिंदा लोकप्रिय बन्यो।
अहिले भने प्रेमप्रकाश मल्ल र प्रकाश श्रेष्ठको स्वरमा गुन्जिने जस्तो छैन, फेवा ताल। केही वर्षयता फेवा ताल प्रदूषित हुँदै गएको छ, साँघुरिंदै गएको छ। जसले गर्दा पोखराले आफ्नो प्राकृतिक सौन्दर्य गुमाउँदै गएको छ। कंक्रिटका अग्ला भवनले भरिंदै गएको छ, पोखरा। अझ माछापुच्छ्रेले आफ्नो सुन्दरता गुमाउँदै कालो पत्थर बनेको छ।
गीत-कवितामा झल्किने पोखराको पर्यायलाई जोगाउन ढिला भइसकेको विज्ञहरू बताउँछन्। यसका लागि स्थानीय र प्रदेश सरकारले नै अग्रसरता लिनुपर्ने उनीहरूको भनाइ छ। वातावरणविद् गुरुङ चिन्ता जनाउँछन्, “पहिले सेताम्य माछापुच्छ्रेको सुन्दरता हेरेर गीत-कविता लेखिएको थियो। अब यही कालो चट्टान भनेर कुनै समयमा हाम्रा साहित्यमा पनि लेखिने त होइन!”